छाया मन्त्रिपरिषद्को बैठक, भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्न निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठित छाया मन्त्रिपरिषद्को पहिलो बैठक आइतबार बसेको छ।

सरकारको काम कारबाहीमाथि निगरानी गर्न गत जेठमा गठन गरिएको छाया सरकारको बैठकमा सभापति देउवाले मन्त्रिपरिषद्का सदस्यहरूलाई कुन–कुन मन्त्रालयमा भ्रष्टाचार, अनियमितता भएको छ सबै खोजेर भण्डाफोर गर्न निर्देशन दिनुभएको हो।

छाया सरकारको श्रममन्त्री डिला संग्रौलाले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार सभापति देउवाको अध्यक्षतामा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा पनि गरेको थियो।

बैठकमा उपस्थित सबै छाया मन्त्रीहरूले हालसम्म भएका काम कारबाहीका साथै भविष्यमा गरिने कामका बारेमा पनि चर्चा गरेका थिए। छाया मन्त्रीहरूले काम गर्दा समस्या आएको भन्दै कतिपय मन्त्रालयमा सूचना नदिने, मन्त्रीले भेट्न समय नदिनेजस्ता समस्या रहेको बताउँदै संग्रौला भन्नुहुन्छ– ‘बैठकमा अहिलेसम्म देखापरेका समस्याहरू पनि राखिएको थियो।’

बैठकपछिको मुख्य कुरा सबै छाया मन्त्रीहरूलाई भ्रष्टाचार र अनियमितताविरुद्ध सक्रिय रूपमा लाग्न सभापति देउवाले दिएको निर्देशन हो भन्दै छाया श्रममन्त्री संग्रौला भन्नुहुन्छ– ‘अब छाया मन्त्रीहरूले अझ प्रभावकारी ढंगले काम गर्नेछन्।’

गत जेठ महिनामा गठित छाया मन्त्रिमण्डलमा दिलेन्द्रप्रसाद बडूले गृह, डा. मिनेन्द्र रिजालले अर्थ, नारायण खड्काले परराष्ट्र, ज्ञानेन्द्रवहदुर कार्कीले ऊर्जा, गगन थापाले शिक्षा र उमाकान्त चौधरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो।

त्यस्तै, मिन विश्वकर्माले उद्योग, देवेन्द्रराज कँडेलले पर्यटन, किशोरसिंह राठौरले खेलकुद, पार्वती डीसी चौधरीले स्वास्थ्य, बहादुरसिंह लामाले सञ्चार, लक्ष्मी परियारले भूमिसुधार, अतहरकलाम मुसलमानले संघीय मामिला, पद्मनारायण चौधरीले कृषि, उमा रेग्मीले महिला तथा बालबालिका, भीमसेनदास प्रधानले रक्षा, सञ्जयकुमार गौतमले भौतिक पूर्वाधार, राजन केसीले वन र राधेश्याम अधिकारीले कानुन मन्त्रालय हेर्ने गरी छाया सरकार गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्