दुई तिहाइको उन्माद परिवर्तन गर



हरेक मानिसमा गुण–अवगुण हुन्छ, यहाँका मानिसमा पनि यस्तै हो। प्रायः नेपालीहरू सोझा नै छन्। तर अहिले आएर अवगुण भएका व्यक्तिहरू प्नि उत्तिकै छन्, जसलाई खोज्न पर पुग्नुपर्दैन, पाइला–पाइलामा भेट्टाइन्छ। यिनीहरूको आफ्नै संस्कार हुन्छ, जुन भनिराख्नुपर्ने कुरा होइन। शायद यस्ता व्यक्तिका कारण नै होला मुलुक दु्रत विकासमा जान नसकेको।

यस्ता व्यक्ति राजनीतिक क्षेत्रमा मात्रै नभएर जहाँतहीँ हाबी भएका छन्। जबसम्म यिनीहरू परिवर्तन हुँदैनन्, हाम्रो मुलुकको हालत सधैँ उस्तै त हो नि। हेर्दा मुलुकमा विकास भइराखेको देखिन्छ तर वास्तवमा हुनुपर्ने जति विकास भइराखेको हुँदैन। यदि विकास हुन्थ्यो भने प्रायः व्यक्तिका समस्या ज्यूँका त्यूँ हुँदैनथे होला। त्यसैले यिनीहरूलाई परिवर्तन तथा यिनीहरूको एकोहोरो स्वभावलाई बदल्न राम्रा व्यक्ति तथा वुद्धिजीवी नै अग्रसर हुनु आवश्यक छ।

मुलुकमा द्रुत विकासका कुरा गर्दा, सरकारले सर्वसाधारणलाई चाहिने आधारभूत आवश्यकता कसरी सस्तो र सुलभरूपमा उपलब्ध गरोउने हो, त्यसतर्फ ध्यान दिनुपर्छ। तर यो मुलुकमा जुन सरकार आए पनि मूल्य नियन्त्रण गरेर जनतालाई सुख–सुविधा दिने सोच रहेन, जुन दुःख लाग्दो कुरा हो। यस क्षेत्रमा सरकार कडा हुन नसक्नु तथा अनुगमन निकाय मजबुत हुन नसक्नुमा अलि आश्चर्य लाग्नु स्वाभाविक हो।

त्यसैले यो बलियो दुई तिहाइको सरकारले सर्वप्रथम जनतालाई चाहिने खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आवश्यक कुराहरूमा कडा भएर अघि बढ्नु आवश्यक छ। आशा गरौं, अब त सरकारले ध्यान पु¥याउनेछ।

हुन त दुई तिहाइको सरकार आए पनि सर्वसाधारण उति खुशी छैनन्। कारण सरकार काम त गर्दछ तर ती कामभन्दा बढी गफलाई महत्व दिइराखेको हुन्छ। अर्को कुरा, सरकारलाई जनताका राय–सुझावहरू मन पर्दैन। शायद यो सरकारको अहंकार बढी भएर पनि हुन सक्छ। हिजो देश गरिब थियो, विकास भएन। तर आज पर्याप्त धन हुँदा पनि चाहिने विकास सर्वसाधारणले पाइराखेका छैनन्।

यसको खास कारण शिक्षाको कमी, सरकारी कार्यालयमा एक जातीय शासन तथा अर्धबुद्धिजीवी आदिलाई मान्न सकिन्छ। यसबाहेक सरकारको सानो मन र प्रशासनिक झमेलाले गर्दा व्यवसायी, उद्योगी, व्यापारी, लगानीकर्ता आदि उत्साहित हुन नसक्नु नै हाम्रो दुर्भाग्य मान्न सकिन्छ। अन्यथा देशमा ऋण भार, युवा पुस्ताको विदेश पलायन बिस्तारै अन्त्य हुँदै जान्थ्यो होला। सरकारको यसतर्फ चाँडोे आँखा खुलोस्।

सरकारले हरसमय हाम्रो जस्तो सानो मुलुकमा खाली व्यापारिक हिसाबले एयरपोर्ट, जहाज, रेल, युरेनियम आदिको सोच राखेको हुन्छ। यो सरकारको सोचलाई हामीले सराहनीय पनि मान्नुपर्दछ। द्रुत विकास भनेको कसलाई मन पर्दैन र ? तर यो भन्दाअगाडि हाम्रा जति पनि सर्वसाधारणका सानातिना समस्या छन् ती पूरा गरौं, जसरी घर बनाउँदा जग बलियो बनाउनु जरुरी पर्दछ। त्यसकारण सरकारको काम हो सर्वप्रथम जनताका समस्याको समाधान गर्नु। सस्तोमा सबै चिज उपलब्ध गराई उद्योग, विकास, सडक, राजमार्ग, फोहोर आदि कुरामा सरकारको ध्यान जानु आजको आवश्यकता हो।

वास्तवमा दुई तिहाइको सरकारले पूर्वाधार विकासका कुराहरू गर्दा चाहे त्यो ठूलो होस् चाहे सानो होस्, त्यसको गुरुयोजनाको बारेमा सोच्नु जरुरी छ। तर दुःख लाग्दो कुरा के छ भने, सर्वप्रथम कुर्सीमा आसीन व्यक्ति पोख्त हुँदैन। अर्को कुरा, पूरा ज्ञान पनि हुँदैन। यसबाहेक यिनीहरू कडा भएर काम पनि गर्न सक्दैनन्। कारण यस्ता क्षेत्रमा सरकारले आफ्नो मान्छेलाई मात्र प्राथमिकता दिइराखेको हुन्छ, जुन बिल्कुलै गलत संस्कार हो।

आन्तरिक होस् वा बाह्य, आफ्नो सरकार भए पनि यहाँ खुल्ला प्रतियोगिताद्वारा सरकारी कार्यालयमा राम्रो व्यक्तिको छनौट गर्न सकिन्छ। प्रजातन्त्र ल्याउन जान्ने, यस्ता कुरामा ध्यान पु¥याउन नजान्ने, अनि कहाँबाट हुन्छ पूर्वाधारको विकास। जब सरकारी कार्यालयजस्तो ठाउँमा काबिल व्यक्ति हुँदैन, त्यहाँ पैसाको लेखाजोखा हुँदैन, जसले गर्दा काम बिग्रने, पैसा फ्रिज हुने, ठेकेदार भाग्ने, काम ठप्प हुने अथवा अलपत्र हुने भइराखेको हुन्छ। यो सब हुनु नै हाम्रो मुलुकको दुर्भाग्य हो। यस्तो बेला पनि हाम्रो वर्तमान सरकार कडा हुन नसक्नु दुःख लाग्दो कुरा हो।

जे होस्, कुनै व्यक्तिले सरकारी बजेटअनुसार काम गर्दैन अथवा बजेट ल्याप्स गर्दछ भने यस्ता सरकारी हाकिमहरूलाई सजायँको भागीदार बनाउनुपर्दछ। यो मुलुकमा एउटा चित्त नबुझ्ने कुरा यो छ कि यहाँ राष्ट्रसेवक र सरकारी कर्मचारीहरू पनि धेरै छन्, जसलाई एउटा ठूलो रकमको चुहावट मान्न सकिन्छ। समग्रमा भन्नुपर्दा मुलुकमा अहिलेसम्म देशको अवस्थालाई हेर्दा देश विकास नभएको भन्न मिल्दैन।

तर चित्त बुझ्दो विकास भने भएको देखिँदैन। त्यसकारण धेरै ठूलो सोच राखी बढी गफभन्दा जनताको राय–सुझाव लिएर सरकार अघि बढ्नु एकदम जरुरी छ। दुई तिहाइ सरकारको तीन वर्ष अझ बाँकी छ। यदि सरकारले आफूलाई परिवर्तन गरी अघि बढ्ने हो भने यो देशको कायापलट हुन समय लाग्नेछैन।

यसबाहेक एउटा विडम्बनाको कुरा के छ भने, जुन सरकार आए पनि यहाँ एउटा गल्ती गरिराखेको हुन्छ। त्यो हो, सरकारी कार्यालयहरूमा राम्रो मान्छेभन्दा आफ्नो मान्छे छान्ने। यसरी भेद्भाव गर्नाले राम्रा बुद्धिजीवीहरू थन्केर बस्ने अवस्था हुन्छ। यसको असर सरकारलाई पर्दछ र सरकार कमजोर हुँदै जान्छ। सरकार असफल हुनुको एउटा मुख्य कारण यो पनि हो। त्यसकारण कृपया दुई तिहाइको सरकार, आफ्नो उन्माद परिवर्तन गरी प्रस्तुत होऊ।
– रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्