कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रबाट पानी चुहिएपछि मर्मत हुदै



काठमाडाैँ, (नेस) ।
१४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए जलविद्युत् केन्द्र मर्मत भइरहेको छ । विद्युत् गृहको पहिलो युनिटको मुख्य इनलेट भल्भ  मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भल्वबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत शुरु गरिएको हो ।
दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत् केन्द्र मर्मतका लागि १२ फागुन साझ पाच बजेसम्म बन्द रहने छ । स्याङ्जाको मिर्मीमा रहेको विद्युत् गृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ ।
मुलुककै ठूलो विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत शुरु गरिएको प्रष्ट पार्नुभयो । ‘बिदाको दिन विद्युत्को माग (लोड) कम हुने भएकाले बिदाको दिन पारेर मर्मत गर्दैछौं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युत् गृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आमउपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोवस्ती गरेका छौं । तर, बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्छ, उहाँले भन्नुभयो ।
विद्युत् गृहका प्रमुख पशुपतिराज गौतमका अनुसार सोमबार साझ ५ बजेभित्रमा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यका साथ २४सै घण्टा काम भइरहेको र मर्मतका  लागि ३७ जना प्राविधिक खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्