खेलकुद विकासले नागरिक स्वस्थ



हेटौंडाबाट करिब ४५ किमी पूर्व मकवानपुरको बाग्मती गाउँपालिकामा पर्ने खेलकुद विकास समितिले तेस्रो संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता जारी राखेको छ। निकै मेहनतसाथ थालिएको प्रतियोगिताको यस संस्करण आइतबार सम्पन्न हुँदै छ। यसै सन्दर्भमा गोल्डकप आयोजक खेलकुद विकास समितिका अध्यक्ष अरूण बलसँग गोल्डकप र गाउँको खेलक्षेत्र बारे हेटौंडा सम्वाददाता रोशन पराजुलीले गरेको कुराकानीको संक्षेप:

गोल्डकप आयोजनाको मुख्य उद्देश्य के हो ?

खेलकुदको माध्यमबाट युवाहरूलाई अगाडि बढाउन सकिन्छ। ‘स्वास्थ्यका लागि खेलकुद–राष्ट्रका लागि खेलकुद’ को नारा बोकेको नेपाली खेलकुद मुलुकको इज्जत र प्रतिष्ठाका साथै जीविकोपार्जन र जीवननिर्वाहको माध्यम पनि बन्दै गएको छ। पहिले खेलमैदान र खेलाडी थिएनन् त्यसैले बाहिरबाट खेलाडी झिकाएर पनि खेल सञ्चालन गर्नुप¥यो।

बिस्तारै खेलकुदलाई व्यवस्थापन गर्दै जाने क्रममा युवालाई सही मार्गमा डोे¥याउन सफल भयौं। तेस्रो गोल्डकपसम्म आइरहँदा बाहिरी खेलाडी समावेश नगरी स्थानीय खेलाडीलाई प्राथमिकता दियौं।
गाउँपालिकाका केही युवा संगतका कारण दुव्र्यसनतर्फ आकर्षण भएको हो कि भन्ने आभाष भएकोले त्यस्ता शंकाको घेरामा परेका युवालाई खेलकुद क्षेत्रमा समावेश गराउँदै सामाजिक हितका कार्यमा हिँडाउन सफल भएका छौं। गाउँपालिकाको परिचय दिलाउने उद्देश्यसाथ स्थानीयदेखि राष्ट्रियसम्मका खेल आयोजना गर्दै आएका छौं।

फुटबलबाट गाउँले के पाउनेछन् ?

स–साना प्रतियोगिता गर्दै त्यस प्रतियोगिताबाट सिक्दै राष्ट्रिय प्रतियोगिता गर्न सफल भएका छौं। र, सदरमुकाम केन्द्रित गोल्डकपलाई गाउँसम्म ल्याउन सफल भएका छौं। चुनौती सामाना गर्दै तेस्रो गोल्डकप गर्न सफल भएका छौं। स्थानीय युवा खेलाडीलाई राष्ट्रिय खेलाडी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

गाउँपालिकाका केही युवा संगतका कारण दुव्र्यसनतर्फ आकर्षण भएको हो कि भन्ने आभाष भएकोले त्यस्ता शंकाको घेरामा परेका युवालाई खेलकुद क्षेत्रमा समावेश गराउँदै सामाजिक हितका कार्यमा हिँडाउन सफल भएका छौं।

गाउँपालिकाले कसरी सहयोग गरेको छ ?

खेलकुदका लागि गाउँपालिकाले पहिलो प्राथमिकतासाथ बजेट विनियोजनसहित प्रत्येक वडामा खेलमैदान निर्माण भइरहँदा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पुग्नेछ। खेलकुदमा धेरै अवसर छन्। ती अवसरलाई सदुपयोग गर्न नयाँ प्रतिभा खोजी गर्ने कार्य थालनी गर्दै छौं। यसमा पालिकाले निकै सहयोग गरेको छ। गोल्डकपले जग बसालेको छ।

दीर्घकालीन योजनाअनुसार बागमती खेलकुद विकास समिति अगाडि बढिरहेको छ। प्रतियोगिताका लागि गाउँपालिकाले ३५ लाख रुपियाँ सहयोग गरेको छ। यस्तै गोल्डकपका सर्वोत्कृष्ट खेलाडीलाई फापरबारी–७ का राजनीतिकर्मी÷समाजसेवी टेकबहादुर डिम्डुङले ५० हजार दिने घोषणा गर्नुभएको छ। उहाँले खेलक्षेत्रका लागि सदैव सहयोग गर्ने वचन दिनुभएको छ। उहाँले खेलक्षेत्रले समाज परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सहयोगको घोषणा गर्नुभएको छ।

खेलकुदलाई कसरी माथि लान सकिन्छ ?

खेलकुदलाई विकास र समृद्धिसँग जोडेर लैजानुपर्छ। यो काम बागमती गाउँपालिकाले गरेको छ। नेपाली खेलकुद क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको छ। यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न सकेका छन्। मकवानपुरका खेलाडीले खेलको माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्। मकवानपुरका खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सक्दा खेलक्षेत्रमा भएको लगानीको प्रतिफल देखिएको छ। स्वस्थ्य नागरिकबाट मात्र देश समृद्धि हुनेछ। यसमा खेलकुदको योगदान रहन्छ। खेलकुद विकास भएको देशमा नागरिक स्वस्थ्य हुने भएकाले राज्यले पनि खेलकुदमा लगानी गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्