पर्यटन प्रवद्र्धन गर्न छिम्केश्वरीमा महोत्सव



तनहुँ, (नेस)

पर्यटकीय क्षेत्रको विकास एवम् प्रवद्र्धन गर्नका लागि छिम्केश्वरी महोत्सव गरिने भएको छ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिर तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गरिने आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

फागु पूर्णिमामा छिम्केश्वरी मन्दिरमा मेला लाग्ने समय पारेर फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव गरिने भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमण वर्ष २०२० लाई सहयोग गर्नुका साथै छिम्केश्वरी क्षेत्रमा पर्यटक भित्र्याउन महोत्सवले टेवा पु¥याउनेछ ।

सूर्योदय, सूर्यास्त, महाभारत पहाडहरु मध्येको एक उच्च पहाड, तनहुँको सबैभन्दा अग्लो २१३४ मिटर उचाईको चुचुरोमा रहेको छिम्केश्वरीमाई, बूढीदेवी माईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरी लेक वास्तवमै उच्चकोटीको पर्यटकीयस्थल रहेको थापाले बताउनुभयो ।

महोत्सवमा प्राङ्गारिक, सांस्कृतिक तथा विभिन्न स्थानीय उत्पादनका ३० वटा स्टल रहनेछ । महोत्सवमा होमस्टे मितेरी महिला दौड प्रतियोगिता गरिने पर्यटनविद एवं सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले जानकारी दिनुभयो ।

छिम्केश्वरी क्षेत्रको धार्मिक, सांस्कृतिक, प्राकृतिक, पुरातात्विक एवं जैविक सम्पदाहरुको संरक्षण एवं विकासका लागि एकीकृत पर्यटन विकास कार्यक्रमका माध्यमबाट समग्र क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय विकास गरी छिम्केश्वरीलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउने लक्ष्य महोत्सवले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्