मर्जर तथा प्राप्तिमा गएका १ सय ४० कम्पनीको इजाजत खारेज



काठमाडौं, (नेस)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गरेपछि १ सय ८५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा गएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७६ पुस मसान्तसम्म मर्जर तथा प्राप्तिमा गएका १ सय ८५ मध्ये १ सय ४० कम्पनीको इजाजत खारेज भई ४५ वटा संस्था मात्र कायम भएका छन् ।

मर्जर तथा प्राप्तिमा गएकामध्ये अधिकांश लघुवित्तहरू रहेका छन् । मर्जर तथा प्राप्ति प्रक्रियापछि पुस मसान्तसम्म १ सय ६४ बैंक तथा वित्तीय संस्था कायम रहेको राष्ट्र बैंकले जनाएको छ । तीमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त र १ पूर्वाधार विकास बैंक रहेको छ ।

त्यस्तै राष्ट्र बैंकका अनुसार २०७६ पुससम्म ७ सय ४५ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । २०७६ असार मसान्तसम्म ८ हजार ६ सय ८६ रहेको बैंकको तथा वित्तीय संस्थाको शाखा २०७६ पुस मसान्तसम्म बढेर ९ हजार ३ सय ९४ पुगेको छ ।

६ महिनाको अवधिमा वाणिज्य बैंकको शाखा ४ सय २६, विकासको २९, फाइनान्सको २४ र लघुवित्तको २ सय ३२ शाखा कार्यालय स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहोस्