रोनाल्डोको खेल जीवनको १ हजारौ खेल आज हुँदै



लन्डन, एजेन्सी।

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा १ हजारौं खेल आज राति खेल्दैछन् । सिरी ए अन्तर्गत् युभेन्टस्ले स्पालसँग खेल्ने खेल रोनाल्डोको हजारौं खेल हुनेछ । पोर्चुगलका स्टार खेलाडीले क्लबस्तरीय ८ सय ३५ खेल र अन्तर्राष्ट्रिय स्तरमा १ सय ६४ खेल खेलिसकेका छन् । उनले ९ सय ९९ खेलबाट ७ सय २४ गोल गरेका छन् ।

पाँच पटकको बेलन डीअर विजेताले लिस्बनमा स्पोर्टिङ क्लबबाट सन् २००२ बाट आफ्नो करियर शुरु गरेका हुन् । उनले सो क्लबमा २००३ सम्म मात्रै खेल्दा ३१ खेलमा सहभागिता जनाएका थिए । यसपछि रोनाल्डोले १८ वर्षको उमेरमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आफ्नो भाग्य आजमाएका थिए ।

युनाइटेडमा उनले ६ वर्ष बिताए, जसमा २ सय ९२ खेल खेले । सन् २००९ मा उनी ला लिगाको महारथी क्लब रियाल म्याड्रिडमा आबद्ध भए । उनी सन् २०१८ सम्म रियाल म्याड्रिडमा रमाएका थिए । हाल उनी सिरी ए क्लब युभेन्टसबाट खेलिरहेका छन् ।

रोनाल्डोले २००६–०७ सिजनदेखि धेरै गोल गर्न थालेका थिए । उनले यसै सिजनमा पहिलो पटक २० भन्दा बढी गोल गरेका थिए । उनको उमेर बढ्दै गएपनि उनको प्रदर्शन निखारिँदै आएको छ । पोर्चुगलका लागि उनले १० सिजनका लागि १ गोल मात्रै गरेका थिए । तर उनले पछिको चार सिजनमध्ये तीन सिजनमा १० वा सो भन्दा बढी गोल गरे ।

रोनाल्डोबाट रियाल म्याड्रिडले बढी फाइदा लिएको छ । उनले रियालका लागि ४ सय ३८ खेलबाट ४ सय ५० गोल गरेका थिए । यस्तै उनले स्पोर्टिङका लागि ३१ खेलमा ५ गोल गरे भने युनाइटेडका लागि २ सय ९२ खेलबाट १ सय १८ गोल गरेका थिए ।

यसैगरी पोर्चुगलका लागि १ सय ६४ खेलबाट ९९ गोल गरेका छन् । उनी १ सयौं गोल निकट छन् । हाल युभेन्टस्का लागि उनले ७२ खेल खेलिसकेका छन् भने ५२ गोल पनि गरिसकेका छन् ।

रोनाल्डोले अहिलेसम्म ५५ संख्यामा ह्याट्रिक गरेका छन् । उनले पहिलो ह्याट्रिक युनाइटेडका लागि न्युक्यासलविरुद्ध जनवरी २००८ मा गरे भने पछिल्लो ह्याट्रिक गत जनवरीमा युभेन्टसका लागि काग्लियारीविरुद्ध गरेका थिए । उनको पहिलो खेल इन्टर मिलानविरुद्ध १४ अगस्ट २००२ मा भएको थियो । त्यतिबेला उनको उमेर १७ वर्ष १ सय ९० दिनको थियो ।

प्रतिक्रिया दिनुहोस्