जनता आवासको तेस्रो किस्ता रोकियो



मिला दरै, तनहु ।

गरिब तथा विपन्न वर्गका घरपरिवारको उत्थानका लागि आवास निर्माणमा जुटेको जनता आवासको कार्यक्रम रोकिँदा समस्या परेको छ। जनता आवासअन्तर्गतको तेस्रो किस्ता रोकिँदा घर निर्माणमा समस्या परेको हो।

तनहुँका गरिब तथा विपन्न वर्गका घरपरिवारका लागि सञ्चालित उक्त कार्यक्रमअन्तर्गत तेस्रो किस्ता निकासा हुन नसक्दा घर निर्माणमा समस्या परेको छ। शहरी विकास तथा भवन निर्माण कार्यालय गोरखाको सहयोगमा तनहुँ जिल्लाका गरिब र विपन्न वर्गका घर निर्माण कार्य अगाडि बढाइएको प्राविधिक शंकर गैरेले बताए।

चालू आर्थिक वर्षमा २ सय ८७ वटा घर निर्माण भइरहेका छन्, तर तेस्रो किस्ता निकासा नहुँदा आवास निर्माणमा समस्या थपिएको छ।उनले भने। व्यास नगरपालिकामा ४७, शुक्लागण्डकीमा ६०, भिमादमा ३५, भानुमा ३५, म्याग्देमा २२, बन्दीपुरमा १३, आँबुखैरेनीमा १३, देवघाटमा २१ र ऋषिध्रमा १६ वटा घर निर्माण भइरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय गोरखाले जनाएको छ।

कुमाल, दरै, बोटे, चेपाध्र, गन्धर्व र दलित परिवारका घर निर्माण भइरहेको कार्यालयका प्रमुख सुरेश खनालले बताए। गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट समयमै बजेट निकासा नहुँदा तेस्रो किस्ताबापतको रकम दिन ढिलाइ भएको जानकारी खनालले दिए। प्राविधिकले गरेको मूल्यांकनका आधारमा रकम निकासा हुने गर्दछ।

सो कार्यक्रमअन्तर्गत ४ किस्तामा रकम भुक्तानी दिने गरिएको प्राविधिक गैरेले बताए। प्रत्येक घरधुरीलाई शौचालयसहितको २ कोठा पक्की घर निर्माण गर्न ३ लाख ३२ हजार ५ सय रुपियाँ उपलब्ध गराइन्छ। जग खनेपछि पहिलो किस्ताबापत ८३ हजार १ सय २५, डिपिसी गरेपछि दोस्रो किस्ताबापत ९९ हजार ७ सय ५०, गारोको काम सम्पन्न भएपछि तेस्रो किस्ताबापत १ लाख १६ हजार ३ सय ७५ र अन्तिम किस्ताबापत शौचालय र छानो छाउनका लागि ३३ हजार २ सय ५० रुपियाँ दिने प्रावधान छ।

बजेट निकासामा ढिलाइ भएपछि समयमा तेस्रो किस्ताबापतको रकम दिन नसकिएको बताइएको छ। उक्त किस्ता उपलब्ध हुन नसक्दा बन्दै गरेका घर निर्माणसमेत रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्