नयाँ इतिहास रच्दै सुनको मूल्य



नेपाल समाचारपत्र, काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला ७७ हजार ६ सय रूपियाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुन तोलामा ५ सय रुपियाँले बढेको हो ।

सुन बुधबार तोलाको ७७ हजार १ सय रुपियाँ र मंगलबार ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो । आइतबार र सोमबार भने प्रतितोला ७६ हजार ५ सय रुपियाँमा स्थिर रहेको थियो । तेजाबी सुन पनि बिहीबार प्रतितोला ७७ हजार ३ सय रूपियाँ पुगेको छ।

त्यसैगरि अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपियाँले बढेर ९ सय १५ पुगेको छ । बुधबार ९ सय ५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ८ सय ५५ रुपियाँ कायम भएको थियो भने गत सोमबार र मंगलबार ८ सय ९० रुपियाँमा स्थिर थियो ।

कोरोना भाइरसको प्रभावका कारण विश्व बजारमा सुनको मूल्य बढ्न गएको र त्यसको प्रभाव नेपालमा पनि परेको सुन व्यवसायीहरूले जनाएका छन् । कोरोना संक्रमणका कारण सुन किन्नेतर्फ भन्दा स्वास्थ्य सुरक्षातर्फ जोड दिइएकाले कारोबार मन्द भएको उनीहरूको बुझाइ छ ।

सुनको मूल्य बढ्दै जाँदा कारोबार भने निकै घटेको छ । सुन व्यवसायी तेजरत्न शाक्य बजारमा दैनिक १०/१२ किलो सुनमात्रै बिक्री भइरहेको बताउनुहुन्छ । विवाहको समयमा पनि सुन बिक्री नहुँदा व्यवसायी चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्