महरा प्रकरणले उब्जाएको प्रश्न



संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वसभामूख कृष्णबहादुर महरा सोमबार निर्दोष ठहरिँदै थुनामुक्त भएका छन्। महरामाथि लागेको आरोप राजनीतिक प्रतिशोध साँध्न प्रयोग गरिएको हतियार हो भन्दै पीडित भनिएकी रोशनी शाहीले उनी निर्दोष रहेको बयान दिइन्। कसैले आफ्नो रिसइबी साँध्न यस्ता संगीन आरोप लगाउन सक्ने हौसला हाम्रो कानुनले नै सुरक्षित गरिदिएको महसुस भएको छ।
केही महिनाअघि जुत्ताको तलुवा, फुटेको चश्मा, बियरका बोतल भेटिएको भन्दै आएका प्रमाणहरू एकाएक होइन भन्नुपर्ने रोशनीको बाध्यता हो कि ती मिडियामा आएका प्रमाण भनिएका वस्तुहरू तस्वीर मात्रै हुन् ? लामो समयसम्म प्रेमसम्बन्ध रहेका उनीहरूको मनमुटाव अन्तर्राष्ट्रिय चासो र देशको लज्जाको विषय बन्यो। मन मिलेका बेलाको आत्मीयता र रिस उठ्दा घृणा ओकल्ने प्रेमसम्बन्धहरूका कारण आमसर्वसाधारण कत्ति धैरै पीडित होलान् ?
– राजीव गौतम, कोटेश्वर, काठमाडौं।

शिक्षा सबैको पहुँचमा पुग्न जरुरी
मुलुकको समृद्धिको आधार शिक्षा हो। शिक्षाको स्तरमा सुधार भएमा मुलुक स्रोत–समृद्धिको मार्गमा अगाडि बढ्छ। नेपालको शिक्षा क्षेत्रको समग्र मूल्यांकन गर्दा सन्तोष लिने ठाउँ छैन। अहिले पनि हजारौं बालबालिका विद्यालय जानै नपाउने स्थितिमा छन्। विद्यालय गए पनि अध्ययनलाई निरन्तरता दिन नपाउने अवस्थामा सयौं बालबालिका भएकाले उनीहरूलाई विद्यालय भर्ना गर्नुका साथै राज्यले विपन्न बालबालिकालाई सहजरूपमा अध्ययनको वातावरण मिलाउन जरुरी छ। विपन्न बालबालिकाका लागि निःशुल्क शिक्षा, निःशुल्क शैक्षिक सामग्री वितरण र छात्रवृत्तिको व्यवस्था अनिवार्यरूपमा गर्नुपर्छ।
त्यसै गरी सरकारका तर्फबाट बालबालिकालाई छुट्याउने सहयोग सम्बन्धितका नाममा नै खर्च हुने परिपाटी मिलाउनेतर्फ पनि ध्यान दिनुपर्छ। अन्य जिल्लाको तुलनामा दाङमा शिक्षाको अवस्था राम्रो छ। तर पनि सन्तुष्ट गर्ने ठाउँ भने त्यति छैन। पछिल्लो समयमा विषयगत पढाइ शुरु भएको छ। तर यहाँका सबै बालबालिकाका लागि सहजरूपमा पहुँच पुग्ने गरी शैक्षिक क्षेत्रलाई सुचारु गर्न अझै पनि सकिएको छैन।
राजधानी र ठूला शहरहरूमा भन्दा सुपथ मूल्यमा विषयगत पढाइ जिल्लामै गर्न सकिने भए पनि यसमा धेरै कुराको सुधार आवश्यक छ। जसका कारण शिक्षा क्षेत्रको पहुँचबाट अहिले पनि धेरै वञ्चित छन्। यी र यस्ता कुरालाई विश्लेषण गर्दा राज्यले केन्द्रीय तहबाटै शैक्षिक क्षेत्रको सुधार र विकासका लागि धेरै कामहरू गर्न बाँकी छ।
संघीय संविधान निर्माण भइसकेको अवस्थामा अब नेपालको शिक्षालाई बहुउपयोगी बनाउने र सर्वसुलभ बनाउने सवालमा ध्यान दिनु जरुरी छ। शिक्षा चेतनाको भण्डार हो। यसलाई जति धेरै उपयोग गर्न सकिन्छ, जति धेरै व्यक्ति शिक्षामा समर्पित हुन्छन्, मुलुकको चौतर्फी विकास तीव्र गतिमा हुन्छ। दाङ जिल्लामा सरकारी र गैरसरकारी क्षेत्रबाट शिक्षाको सकारात्मक माहोल निर्माण गर्नका लागि विभिन्न गतिविधिहरू भएको हामीले पाएका छौं। भविष्यमा समेत सबै पक्षले शिक्षाको गरिमालाई बढाउने सवालमा ध्यान दिन सक्यौं भने निश्चितरूपमा जिल्लाको शैक्षिक अवस्था सन्तोषजनक हुनेछ।
– कमला शाह, दाङ।

अनलाइन मिडिया
नियन्त्रणमा ढिलाइ
भयो कि ?
छ्याप्छ्याप्ती खुलेका अनलाइनलाई सरकारले तह लगाउन जरुरी छ। मनलाग्दी कपी पेस्ट गरेर समाचार छाप्दा हामी अन्यौलमा परेका छौं। नयाँ अपडेट दिने नाउँमा कोठामा बसेर मनलाग्दीरुपमा समाचार प्रकाशन हुँदा हामीले राम्रो रुपमा सत्यतथ्य समाचार दिने अनलाइनलाई समेत शंका गर्नुपर्ने अवस्था आएको छ। मिडियाले जनतालाई सूचनासँगै सत्यतथ्य समाचार दिन जरुरी छ। प्रतिस्पर्धाको होडबाजीमा यसो गर्दा हामीलाई आमसञ्चारमाध्यममाथिको विश्वसनीयतामा शंका उठ्ने भएकाले यसरी पोस्ट नगरिदिनुहुन म अनुरोध गर्छु।
सरकारले छिट्टै कानुनीरुपमै त्यस्ता मिडियालाई तह लगाउन जरुरी देखेको छु। बरु ढिला दिने तर सत्यतथ्य सूचना दिने गरेमा हामी हाम्रो सत्य सूचनाको हकबाट वञ्चित हुने थिएनौं। यो विषयमा गम्भीर हुन म सरकारलाई आग्रह गर्दछु। पार्टीनिकट व्यक्तिहरूले खोलेका अनलाइनले पनि मनलाग्दी लेखेको देखिएको छ। यो विषयमा प्रेस काउन्सिलले समेत ध्यान दिन जरुरी छ। सूचना विभागले पनि निरन्तररुपमा यो विषयमा आवाज उठाएर टुंगो लगाइहाल्नुपर्ने अवस्था छ। यो निकै गम्भीर कुरो भएकाले सबैको ध्यान जाओस् भन्न चाहन्छु।
– शोभिता गौतम, नेपालगन्ज।

कृषि र पशुपालनको
महत्व बुझौँ
मानिसको जीवनमा आवश्यक पर्ने पौष्टिक आहारसँगै आर्थिक अर्थोपार्जनको महत्वपूर्ण स्रोतका रुपमा कृषि र पशुलाई लिने गरिन्छ। कृषिक्षेत्रमा आधुनिकीकरणका लागि ठूलो बहस चलेको हाम्रो मुलुकमा अहिले स्थानीय सरकारले पनि कृषि र पशुपालनलाई महत्वका साथ अगाडि बढाएका छन्। यसै सन्दर्भलाई अब स्थानीय सरकारले स्पष्ट नीति निर्माण गरेर स्थानीयस्तरमै रोजगारी सृजना गर्ने वातावरणको तयारी गर्नुपर्ने देखिएको छ।
यसअघि कृषिको क्षेत्रमा आउने र खर्च हुने रकमहरूको बारेमा चर्चा–परिचर्चा सकारात्मक वा नकारात्मक दुवै क्षेत्रमा भएको देखिन्छ। सकारात्मक कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने देखिएको छ भने नकारात्मक कुरालाई बिस्तारै घटाउँदै जानुपर्ने अहिलेको आवश्यकता हो।
विशेष गरेर कृषि र पशुसेवाको बारेमा बेला–बेलामा फरक–फरक बहस र पैरवीहरू हुने गरेका देखिन्छन्। सिजनअनुसारका कामहरू गर्दै गर्दा पशुपक्षीहरूमा देखिने भयावह रोगहरूले मानवजीवनलाई समेत समस्यामा पारेको हुन्छ। कहिलेकाहीँ हुने पशुपक्षीका समस्याका बारेमा खरिद गरेर ल्याउने निकायहरूले समेत सचेतना अपनाउनुपर्ने देखिएको छ।
पशुपक्षी पालन गरेका निकायहरूले समेत त्यसको सुरक्षाका बारेमा समयमै ख्याल गर्नुपर्ने देखिन्छ। जबसम्म यस्ता कुरालाई दुवै निकायले गम्भीररुपमा छलफल र बहस गर्दैनन् तबसम्म यस्ता समस्याको दिगो समाधान नहुने देखिन्छ।
– रामचन्द्र शर्मा,
धुलिखेल, काभ्रे।

प्रतिक्रिया दिनुहोस्