पुनम छनोट



काठमाडौं, (नेस)

नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधबार छनोट भएकी छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन्। नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशील थापा मगरले रामेछापका सुवास तामाङलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।

पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे।

पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौंका सनिल शाहीले फाइनल यात्रा तय गरे। अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए। प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्