निर्वाचन ठेकेदार र गुण्डाको कब्जामा’



नेपाल समाचारपत्र, पर्वत ।

मुलुकमा हुने सबै तहका निर्वाचन पैसा कमाएका ठेकेदार र गुण्डा परिचालन गर्ने ब्यक्तिको कब्जामा गइरहेको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले आयोजना गरेको ‘लोकतन्त्र र निर्वाचनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्ला निर्वाचनहरु ठेकेदार र गुण्डाहरुले कब्जा जमाउँदै गएका कारण लोकतन्त्र कमजोर भएको धारणा राखेका हुन ।

हरेक निर्वाचन लोकतन्त्रको मेरुदण्ड भए पनि जनमतलाई पैसा र बलका आधारमा प्रभावित बनाउने र पैसा हुनेहरुले नै उम्मेदवारी पाउन थालेका कारण उनीहरुकै कब्जामा गएको धारणा सहभागीको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले ठेक्कापट्टा गरेर पैसा कमाएका तथा गुण्डागर्दी गरेर आएका मानिसहरुले उमेदवारी पाउने र उनीहरु नै राजनैतिक दलको उमेदवार बन्ने पहिलो सुचीमा पर्न थालेको भन्दै यस्तै अबस्था रहे निष्ठा र त्यागको राजनीति गर्नेहरुसँगै लोकतान्त्रिक मर्म र मान्यता पनि समाप्त भएर जाने बताउनुभयो ।

पैसा खर्च गरेकाहरुले कार्यकालभरि खर्च असुल गर्न खोज्ने भएकाले पनि पारदर्शीता, सुुशासन र भ्रष्टाचार नियन्त्रण हुन नसकी लोकतन्त्रको मर्म पनि गुम्ने खतरा रहेको बढेको छ ।

कार्यक्रमका अन्य बक्ताहरुले पनि आबधिक निर्वाचन लोकतन्त्रको सुन्दर नमुना भएकाले यसलाई परस्किृत, प्रबिधीमैत्री र पारदर्शी बनाउन जरुरी भएको धारणा राखेका थिए ।

लोकतन्त्रलाई कमजोर बन्न नदिन यसका बिकृती हटाउँदै जवाफदेहीता सहितको पारदर्शी निर्वाचन प्रणाली अहिलेको आबश्यकता भएको उहाँहरुको भनाइ थियो । कार्यक्रममा जिल्ला न्यायाधीश सुर्यबहादुर थापा, नेकपाका जिल्ला कार्यालय सदस्य गोबिन्द पहाडी, नेपाली कांग्रेसका सचिब अशोक उचैं लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्