वीरगन्ज सुक्खा बन्दरगाहको ठेक्का रकम चार गुणाले बढ्यो



Stranded containers being loaded at the dry port in Birgunj, amid the unofficial blockade imposed by India at the border point, on Thursay, October 29, 2015. Photo: Ram Sarraf
कृष्णउदास खनाल, वीरगन्ज ।
डेढ दशकमा वीरगन्ज सुक्खा बन्दरगाहको ठेक्का रकम चार गुणा बढेको छ। सन् २००४ मा ५३ करोड रुपियाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा २ अर्ब ४० लाख रुपियाँ राखेर आह्वान गरिएको छ।
ठेक्काका लागि पाँचवटा भारतीय कम्पनीले आवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का उपनिर्देशक हरेकृष्ण मिश्रले बताउनुभयो। मिश्रका अनुसार अहिले ती कम्पनीको प्रस्ताव अध्ययन भइरहेको छ।भारतीय रेलवेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड (कोन्कर) पनि यसपटक प्रतिस्पर्धा गरेको छ। अहिले यो बन्दरगाह कोन्करको ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सञ्चालन गरिरहेको छ। यो कम्पनीले सन् २००४ देखि बन्दरगाह सञ्चालन गर्दै आएको छ।
यसपटक आदानी लजिस्टिक्स लिमिटेड, प्रिस्टाइन लजिस्टिक्स, जेएम बक्सी समूह र अपना लजिस्टिक सोलुसन–जगदम्बा जेभीले पनि टेन्डर हालेको एनआईटीडीबीले बताएको छ। ‘अहिले प्रतिस्पर्धी कम्पनीको प्रस्ताव अध्ययनको प्रक्रियामा छौं। ठेक्काको टुंगो सकभर चाँडो लगाउँछौं,’ मूल्यांकन समितिका संयोजकसमेत रहेका मिश्रले भन्नुभयो।
एनआईटीडीबीको कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाइका कारण ठेक्का प्रक्रिया ढिला शुरू भएको थियो। ठेक्का प्रक्रियामा ढिलाइ भएपछि हिमालयन टर्मिनललाई ६ महीनाको समय थपिएको छ। शुरूको ५ वर्ष घाटामा चलेको बन्दरगाहले त्यसयता निरन्तर नाफा गरिरहेको एनआईटीडीबीले बताएको छ। बढ्दो नाफालाई ध्यानमा राखेर आगामी ५ वर्षका लागि आह्वान गरिएको ठेक्काको न्यूनतम रकम २ अर्ब रुपियाँभन्दा बढी राखिएको बताइएको छ।
शुरुआती वर्ष सन् २००४ को तुलनामा अहिले बन्दरगाहको व्यवसाय १० गुणा बढिसकेको तथ्यांकले देखाउँछ।बन्दरगाहको कारोबार ह्वात्तै बढे पनि त्यसको व्यवस्थापनका लागि पूर्वाधार विस्तारमा ध्यान नदिइएको नेपाल उद्योग वाणिज्य महासंघस्थल यातायात तथा पारवहन समितिका संयोजक अशोकुमार टेमानी बताउनुभयो। ‘बन्दरगाहमा कन्टेनरको चाप बढेको बढ्यै छ।
तर, व्यापारको तुलनामा पूर्वाधार बढ्न सकेन। अब सञ्चालनको जिम्मा लिनेले यसमा ध्यान पु¥याउनैपर्छ,’ टेमानीको सुझाव छ। शुरू वर्ष सन् २००४ मा सुख्खा बन्दरगाह हुँदै ८५ ¥याक मालसामान भित्रिएको थियो। बितेको वर्ष यो संख्या ८ सय ६४ पुगेको हिमालयन टर्मिनलको तथ्यांक छ। सन् २०१९ मा तेस्रो मुलुकबाट नेपालका लागि कुल १ लाख ७ हजार कन्टेनर आएकोमा त्योमध्ये करीब ६५ प्रतिशत सुक्खा बन्दरगाहबाट भित्रिएको थियो।
भारतका विभिन्न स्थानबाट समेत औद्योगिक कच्चा पदार्थ बन्दरगाहमा आइपुग्छन्। एनआईटीडीबीले पूर्वाधार विस्तार गरिरहेको मिश्रले दाबी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्