शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, दुई वर्षे उपलब्धि



ईश्वरराज ढकाल
सरकार गठन भएको यही ३ गते दुई वर्ष पूरा भएको छ। दुई वर्षमा पूरा हँुदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा र विज्ञानका क्षेत्रमा धेरै सुधार भएको दाबी गरेको छ। मन्त्रालयले उपलब्धि विवरण सार्वजनिक गरेको छ। सुधारकै क्रममा रहेकाले नियमितबाहेक अन्य कामसमेत भइरहेको जनाएको छ। शिक्षा, ज्ञिान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यभार सम्हाल्नुभएको करिब दुई वर्ष पुग्नै लागेको छ। उहाँले आफूले गरेको सुधारका योजनालाई कहिले मार्गचित्र त कहिले बुँदागतरूपमा सार्वजनिक गर्दै आउनुभएको छ।
त्यसैले मन्त्रालयले नियमित कार्यक्रमका अतिरिक्त विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन भइरहेको जनाएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमहरू र स्वीकृत कार्ययोजनाका आधारमा हालसम्मका मुख्य उपलब्धि बुँदागतरूपमा उल्लेख गरिएको छ।
कानुनी तथा नीतिगत सुधार
 राष्ट्रिय चिकित्सा ऐन २०७५ कार्यान्वयनमा भएको छ। सो अनुसार चिकित्सा शिक्षा आयोग गठन भई आयोगले कार्य गरिरहेको छ।
 उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको छ।
 राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत भएको छ।
 दिगो विकासको लक्ष्य नम्बर–४ (एसडीजी–४) कार्यान्वयन राष्ट्रिय कार्य ढाँचा (नेसनल फ्रेमवर्क) तयार भएको छ।
 अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ कार्यान्वयनमा आएको छ।
 हरितविद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएको छ।
 शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयन भई १२ हजार ८ सय ३५ शिक्षक दरबन्दी मिलान गरिएको छ।
 शिक्षक सेवा आयोगले पहिलोपटक अध्यापन अनुमतिपत्रको विषयगतरूपमा पाठ्यक्रम विकास गरी परीक्षाका लागि आधारभूत तह कक्षा १–५ को २, कक्षा ६–८ को ६ तथा माध्यमिक तह कक्षा ९–१२ को १६ विषय गरी जम्मा २४ विषयको अध्यापन अनुमतिपत्रको पाठ्यक्रम निर्माण तथा परिमार्जन  गरेको छ।
 संघीय संरचनाअनुरूप शिक्षाका प्रशासनिक संरचनाहरूको पुनर्संरचना गरी नगरपालिकामा उपसचिव रहने गरी संगठन तथा व्यवस्थापन सर्भे सम्पन्न गरेको छ।
 सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको पहुँच विस्तार गर्न प्राविधिक धारका विद्यालय र शिक्षालयमा आवश्यक पर्ने प्रशिक्षक उत्पादन गर्न ‘दक्ष प्राविधिक विकास कार्यक्रम कार्यान्वयन कार्यविधि२०७५’ कार्यान्वयनमा आएको छ।
 मानव संसाधन प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा निर्देशक समिति र कार्यदल गठन भई प्रतिवेदन तयार भइसकेको छ।
 माघ १ गतेलाई योग दिवस मनाइने सन्दर्भमा राष्ट्रिय योग अभ्यास प्रोटोकल निर्माण गरिएको छ।
 सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्न सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ स्वीकृत भई पुस १५ देखि २०७७ असार मसान्तसम्मको सशर्त अनुदानका रूपमा स्थानीय तहमा वित्तीय हस्तान्तरण भई कार्यान्वयनमा ल्याइएको छ।
 राष्ट्रिय पुस्तक नीति, २०७६ तयार गरी मन्त्रिपरिषद्मा पेस भएको छ।
 राष्ट्रिय योग्यता प्रारूप तयार भई मन्त्रिपरिषद्मा पेस भएको छ।
विद्यालय शिक्षा
 शैक्षिकसत्र २०७५ मा विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ५८ जना बालबालिकामध्ये २ लाख ५४ हजार विद्यालयमा भर्ना भएका छन्। १ सय २७ स्थानीय तहले आधारभूत तह विद्यालय उमेर समूह ५–१२ वर्षका बालबालिकाहरू विद्यालयबाहिर नरहेको घोषणा गरेका छन्। शैक्षिक सत्र २०७६ मा भर्ना अभियान पहिलो चरण सम्पन्न भई दोस्रो चरणको अभियान शुरू गरिएको छ। यसवर्ष कक्षा एकमा २ लाख ७० हजार विद्यार्थी भर्ना भएका छन्।
 शैक्षिकसत्र २०७५ तथा २०७६ को विद्यार्थी भर्नासँगै वैशाखको दोस्रो हप्ताभित्र सबै सार्वजनिक विद्यालयका कक्षा १–१० सम्मका ५६ लाख ३८ हजार २ सय ७० जना विद्यार्थीले पूरा सेटमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेका छन्।
 विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ पारित भई कक्षा १–३ को एकीकृत पाठ्यक्रम परीक्षणको क्रममा रहेको छ। कक्षा ११ र १२ को नेपाली, अंग्रेजी, सामाजिक शिक्षा र जीवनोपयोगी शिक्षा गरी चार अनिवार्य विषयका पाठ्यक्रम निर्माण भएको छ। कक्षा ११ र १२ का १ सय १० वटा ऐच्छिक विषयहरूको पाठ्यक्रम निर्माणको क्रममा रहेको छ।
 ४३ जिल्लाका २२ लाख २९ हजार ३ सय २४ जना आधारभूत तह (कक्षा १–५) का बालबालिकालाई दिवाखाजा उपलब्ध गराइएको छ।
 प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका २६ हजार ९ सय ६० शिक्षकको आन्तरिक तथा खुला विज्ञापनमार्फत शिक्षक पदपूर्ति गरेको छ।
 सेवाबाट बहिर्गमन भएका करिब ७ हजार शिक्षकलाई सेवासुविधा वितरण गरिएको छ। शिक्षक अध्यापन अनुमतिपत्र तथा स्थायी विज्ञापनमा आवेदन गर्न अनलाइन प्रणालीबाट आवेदन लिई अनुमतिपत्रको परीक्षा सञ्चालन गरिएको छ।
 प्रत्येक प्रदेशमा सातवटा विशेष शिक्षा आवासीय विद्यालय स्थापना भएका छन्। जसअनुसार सरस्वती मावि इँट्टाभट्टा दमक, सार्वजनिक मावि वेंगाडावर धनुषा, आदर्श बाल विकास बनेपा, मनकामना बहिरा मावि गोरखा, बालमन्दिर आधारभूत विद्यालय दाङ, सिद्ध बहिरा विद्यालय सुर्खेत र राष्ट्रिय मावि कैलाली छनोट भएका छन्।
 चालु आवमा १ हजार १२ विद्यालयमा विज्ञान प्रयोगशाला, १ हजार ६ मा आईसीटी ल्याब, १ हजार १ मा पुस्तकालय, ४ हजार ६ सय ८६ नयाँ कक्षाकोठा निर्माण, २ सय २२ नमुना विद्यालय विकासका लागि अनुदान वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा पठाइएको छ।
 ४ सय २२ विद्यालयलाई नमुना विद्यालय बनाइएको छ। सार्वजनिक विद्यालय रूपान्तरण गर्न राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
 २०७२ को भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमध्ये हालसम्म ५ हजार ३ सय ८४ निर्माण सम्पन्न भएका र १ हजार ७ सय ८७ विद्यालय निर्माणाधीन अवस्थामा छन्।
 चीन सरकारको सहयोगमा दरबार हाइस्कुलको विद्यालय भवनको निर्माण सम्पन्न भएको छ।
 आधारभूत तथा माध्यमिक तहमा अध्ययनरत १० हजार १ सय ८३ जनालाई आवासीय छात्रवृत्ति उपलब्ध गराइएको छ।
 उदयपुर, बैतडी, डडेलधुरा र मोरङसहित हालसम्म ५१ जिल्ला साक्षर घोषणा भएका छन्। ८ जिल्ला साक्षर घोषणाको तयारीमा छन्।
 ३० वटा माध्यमिक शिक्षाको कक्षा ११ र १२ मा जीवन पर्यन्त शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको छ।
उच्च शिक्षा
 मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना कार्य अघि बढेको छ। सो विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्को सामाजिक समितिमा छलफलको क्रममा छ। पूर्वाधार निर्माण समिति निर्माण भई काम शुरू भएको छ। मकवानपुरको चित्लाङमा १ सय ७९ रोपनी जग्गाको भोगाधिकार प्राप्त भइसकेको छ। काभ्रेको पाँचखाल र नमोबुद्धमा १० हजार ८ सय ८७ रोपनी वनक्षेत्र, ९ रोपनी पर्ती र ६ सय ९४ रोपनी निजी जग्गा अधीकरणको क्रममा छ।
 योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्न बनेको विधेयक संघीय संसद्मा छलफलको
क्रममा छ।
 बर्दिबास र बुटवल मेडिकल कलेजको पूर्वाधार विकास आयोजनाको काम अघि बढाइएको छ। बुटवल, बर्दिबासमा मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको शिलान्यास भई दुवैको गुरुयोजना तयार भएको छ। सुर्खेत मेडिकल कलेजको पूर्वाधार विकासको काम प्रारम्भिक चरणमा छ।
 विश्वविद्यालय अनुदान आयोगले हालसम्म ४३ वटा उच्चशिक्षा प्रदायक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रदान गरिएको छ।
 खुला विश्वविद्यालयमा सूचना र सञ्चार प्रविधिलगायत १८ वटा विषयहरूमा अध्यापन भइरहेको छ। स्नातक तहदेखि एमफिलका कार्यक्रमहरू सञ्चालित छन्।
 विश्वविद्यालय वर्गीकरण कार्यदलबाट प्रतिवेदन प्राप्त भई उक्त कार्यान्वयनको क्रममा छ।
 त्रिविअन्तर्गत १ सय २३, केयूअन्तर्गत १ सय ९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७५ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४९ गरी जम्मा ३ सय ५६ जना विद्यार्थी यो वर्षको एमबीबीएसतर्फको छात्रवृत्तिमा छनोट भएका छन्। बीडीएसतर्फ ९५, बीएमएलटीतर्फ १३, बीएससी नर्सिङतर्फ १ सय, बीएनतर्फ २५, बीफार्मेसीतर्फ ११, बीपीएचतर्फ १५, बीअप्टमतर्फ ७, बीएएमएसतर्फ ३२ तथा अन्य गरी ६ सय ७६ जना विद्यार्थीले छात्रवृत्तिमा छनोट भएका छन्।
 उपत्यकाबाहिर केन्द्रीय कार्यालय रहेका विश्वविद्यालयहरूको काठमाडौं सम्पर्क कार्यालय खारेज गरिएका छन्।
प्राविधिक शिक्षा
 चालु शैक्षिक सत्रमा थप बजेट विनियोजन गरी हालसम्म ६ सय ४ स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको अवसर पुगेको छ।
 आंगिक शिक्षालयहरूको स्तरोन्नति गरी हरेक प्रदेशमा १–१ ओटा नमुना बहुप्राविधिक शिक्षालय सञ्चालन भएका छन्। जसअनुसार इलामको रत्नकुमार वान्तवा, खयरमाराको निर्मल लामा स्मृति, चितवनको दिवाकर स्मृति, गोरखामा गोरखा, दाङमा शहीद कृष्णसेन इच्छुक, जुम्लामा कर्णाली प्राविधिक शिक्षालय र कैलालीको टीकापुर वहुप्राविधिक शिक्षालय टिकापुर छनोट भएका छन्। १४ वटा बहुप्राविधिक शिक्षालयहरू निर्माणाधीन छन्। हाल सञ्चालनमा रहेका २२ वटा आंगिक शिक्षालयहरूमा डिप्लोमा र प्राविधिक एसएलसीका विभिन्न विषयमा कार्यक्रम थप गरिएको छ। हालसम्म ४९ हजार ६७ जनाले सीप प्रमाणीकरण प्रमाणपत्र पाएका छन्।
वित्तीय हस्तान्तरण र अन्य प्रगति
 ३ वटै तहको कार्य विस्तृतीकरणको आधारमा सशर्त अनुदानका रूपमा गत वर्ष वार्षिक कार्यक्रमसहित ६५ अर्ब ५० करोड, स्थानीय तहमा र २ अर्ब १२ करोड रुपियाँ बजेट प्रदेश तहमा वित्तीय हस्तान्तरण गरिएको छ। चालु आवमा स्थानीय तहमा १ सय ४ अर्ब ३० करोड र प्रदेशमा ४ अर्ब २५ करोड हस्तान्तरण गरिएको छ।
 राष्ट्रिय पुस्तकालय निर्माण कार्य अगाडि बढाइएको छ।
 चालु आवमा थप हजार माध्यमिक विद्यालय गरी ३ हजारमा पुस्तकालय स्थापना गरिएको छ।
विज्ञान तथा प्रविधि
 राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०७६ स्वीकृत भएको छ।
 नव प्रतिभा वैज्ञानिकलाई प्रोत्साहन गर्न सञ्चालित प्रतिस्पर्धात्मक वैज्ञानिक अनुसन्धानवृत्ति कार्यक्रमअन्तर्गत २० व्यक्ति र १ संस्थालाई अनुसन्धान वृत्ति उपलब्ध गराइएको छ।
 पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा तथा स्वास्थ्य समितिबाट पारित  भई प्रतिनिधिसभामा पेस भएको छ।
 विज्ञान तथा प्रविधिका विषयगत क्षेत्रका विज्ञहरू सम्मिलित ‘राष्ट्रिय सल्लाहकार समिति गठनसम्बन्धी मापदण्ड, २०७५’ स्वीकृत भई सल्लाहकार समिति गठन भएको छ।
 मानव स्वास्थ्यमा प्रत्यक्ष प्रयोग हुने आयानीकृत विकिरणहरूसँग सम्बन्धित एक्सरे, सिटी स्क्यान, दाँतको एक्सरे, पेट सिटी स्क्यान, म्यामोग्रामजस्ता उपकरणहरूको सावधानीपूर्वक प्रयोग गरी जनस्वास्थ्यको प्रवद्र्धन गर्न र यस्ता उपकरणहरूबाट उत्सर्जन हुने विकिरणबाट सेवाग्राही, सर्वसाधारण र पेसाकर्मीहरूलाई जोगाउन यस्ता उपकरणहरूको प्रयोगमा एकरूपता कायम गर्न पारमाणविक पदार्थको नियमनसम्बन्धी निर्देशिका २०७२ को दफा ८ बमोजिम आयानीकरण गर्ने विकिरणसँग सम्बन्धित मेडिकल उपकरणहरूको प्रयोगसम्बन्धी मापदण्ड २०७६को मस्यौदा तयार भएको छ।
 प्रयोगशालामा कार्यरत जनशक्तिलाई हुनसक्ने स्वास्थ्यसम्बन्धी जोखिम तथा वातावरणमा हुन सक्ने जोखिम पहिचान र न्यूनीकरणका उपायहरू अवलम्बन गर्न प्रयोगशाला सुरक्षा व्यवस्थापन तथा जोखिम न्यूनीकरण निर्देशिका र ‘सुरक्षा तथा जोखिम व्यवस्थापन मापदण्ड’को मस्यौदा तयार भएको छ।
 नास्टका नेपाली वैज्ञानिकसहितको टोलीबाट जापानमा (नेपस्याट–१) ‘नानो स्याटलाइट’को अनुसन्धान तथा विकास कार्य भइरहेको छ। नास्टको लोगो र नेपालको झण्डा अंकित नेपस्याट भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण भई तैनाथी गरिएको छ।
 बीपी कोइराला मेमेरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय सञ्चालनमा ल्याइएको छ।
 २०७६ कात्तिक ४–६ मा काठमाडौंमा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस्