ठूलो परिमाणमा कोकिन जफत



सान जोस, (एजेन्सी)

कोस्टारिकाको इतिहासमै पहिलो पटक प्रहरीले सबैभन्दा ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ।

प्रहरीले आइतबार एउटा सिपिङ कन्टेनरमा पाँच टनभन्दा बढी परिमाणमा कोकिन फेला पारेको हो। सो कोकिन नेदरल्यान्ड पठाइन लागेको फूलको कार्गोमा लुकाइएको आन्तरिक मामिला मन्त्री माइकल सोतो रोजासले बताएका छन्।

यस सम्बन्धमा आशंकित एक जना ४६ वर्षीय कोस्टारिकाका नागरिकलाई गिरफ्तार गरिएको छ। मध्य अमेरिका लागूऔषधलाई दक्षिण अमेरिकाबाट अमेरिका र युरोप पठाउने प्रमुख नाकाका रूपमा चिनिन्छ।

विश्वका अधिकांश मुलुकमा कोकिनलगायत अन्य विभिन्न सिन्थेटिक लागूऔषधको ओसारपसार तथा सेवन नियन्त्रणका लागि थुप्रै बजेट खर्चिने गरेको छ। फिलिपिन्समा त राष्ट्रपति डुटेर्टेको कडा निर्देशनअनुरूप लागूऔषध दुव्र्यसनी र कारोबारीविरुद्ध सशक्त अभियानै चलाइएको थियो।

त्यस क्रममा सुरक्षाकर्मीको कारबाहीमा हजारौं व्यक्तिको ज्यान गइसकेको छ। विश्वका केही मुलुकमा त लागूऔषध कारोबार गर्नेहरुलाई मृत्युदण्डकै व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्