दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको दुर्दसा, करोडको लगानीमा मर्मत गरिएको पुल एक महिनामै जीर्ण



मनोज भट्ट, महेन्द्रनगर ।

नेपाल भ्रमण वर्ष–२०२० सँगै पुनर्निर्माण गरिएको झोलुंगेपुल एक महिना नबित्दै पुनः पहिलेकै अवस्थामा पुगेको छ।

कञ्चनपुरको एक पर्यटकीयस्थलका रूपमा रहेको दोधारा–चाँदनी जोड्ने झोलुङ्गेपुल १ करोड १० लाखको लगानीमा एक महिना अगाडि मात्रै मर्मत गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले उक्त झोलुङ्गे पुल मर्मतको ठेक्का खाम्पाचे-देवभूमि कन्सट्रक्सन तथा क्वालिटी सप्लार्यस अमरगढी ५ जेभीलाई दिएको थियो । मर्मतका लागि भन्दै झण्डै १५ दिन आवत–जावतसमेत बन्द गरिएको थियो ।

सवा करोड खर्चेर मर्मत गरिएको पुलको हालको अवस्था देखेर नजर राख्दै आएका स्थानीय व्यापारीदेखि जनातासम्म अचम्मित भएका छन् । ‘एक महिना अगाडि मात्रै करोडौं रुपियाँको लगानीमा पुल मर्मत गरेकोमा आजै यस्तो अवस्था कसरी भयो ?’ –स्थानीय पूर्ण मल्लको प्रश्न छ ।

मर्मत गरिएको भनिएको झोलुङ्गे पुलको १० ठाउँमा समस्या देखिएको छ । पुलको दायाँ–बायाँको जालीसमेत भाचिएको छ । पुलमा राखिएका फलामका पाता भाचिएर दुईपांग्रे सवारीसाधनमा दुर्घटना निम्तिने खतरा बढेको पाइन्छ । मर्मत गरिएको झोलुङ्गे पुलको हालको अवस्थादेखा पर्नुमा ठेकेदार कम्पनीले मर्मतमा जालझेल र गुणस्तरीय सामग्रीको प्रयोग नगरिएको देखिन्छ ।

१ करोड १० लाखको लागतमा मर्मत गरिएको पुलमा एक महिनाकै अवधिमा समस्या तथा जीर्णता दोहोरिनुले मर्मतको कम्पनीको गुणस्तर राम्रोसँग झल्किएको छ । प्रदेश सरकारको बटेज पारेर नेपाल भ्रमण वर्ष–२०२० लाई नै धमिल्याउन खोज्ने उक्त ठेकेदार कम्पनीलाई स्थानीयले कारबाहीको माग गरेका छन् ।

दोधारा–चाँदनी झोलुङ्गे पुल एसियाको दोस्रो लामो झोलुङ्गे पुल हो । जसको लम्बाई १ हजार ४ सय ५३ मिटर रहेको छ । उक्त पुलले महाकाली नदी पारी रहेको नेपाली भूमि दोधारा–चाँदनी अर्थात हालको महाकाली नगरपालिकालाई जोड्ने गर्दछ । महेन्द्रनगर बजारबाट ९ किलोमिटरको दूरी उक्त झोलुङ्गे पुल अवस्थित छ ।

नेपाल भ्रमण वर्ष संगै उक्त पुल भ्रमणकालागि सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गछर्न् । नेपाल भरीकै अधिकांश विद्यालयका विद्यार्थीहरु एसियाकै दास्रो लामो झोलुङ्गे पुल भन्दै शैक्षिक भ्रमणमा आउने गरेको स्थानीय व्यापारीहरुको भनाई छ । भ्रमण वर्ष मात्रै नभएर उक्त भ्रमणका लागि पहिले देखि नै आन्तरिक र बाह्य पर्यटकको घुइचो लाग्ने गरेको पाइन्छ ।

पर्यटकिय रुपमा दोधारा चाँदनीको पुललाई आर्कषक बनाउने भीमदत्त नगरपालीका र महाकाली नगरपालिकाको उद्घोष गर्दै आए पनि आज सम्म राम्रो र दिर्घकालिन रुपमा दुवै स्थानीय निकायहरुले पहल गर्न सकेका छैनन् । भीमदत्तले उक्त पुल क्षेत्रमा केहि पटक सरसफाईका अभ्यास गरे पनि दिर्घकालिन रुपमा प्रस्तुत हुन नसकेको पाइन्छ ।

महाकाली नगरपालिकाले समेत उक्त झोलुङ्गे पुललाई आर्कषक र रमणिय स्थल बनाउन विभिन्न कदम चाल्ने जनाए पनि त्यसमा समेत सार्थकता दिन नसकेको देखिन्छ । पुलको छेउमा रहेको बगैचालाई आधुनिकरण गर्ने महाकाली नगरपालिकाको लक्ष्य रहेको थियो । त्यो संगै पुललाई चम्किलो बनाउन रङ्ग रोगन र लाइटिङको व्यवस्था गर्ने जनाउदै आएको महाकाली नगरपालिका त्यसमा समेत चुकेको देखिन्छ ।

कञ्चनपुरको प्रमुख पर्यटकिय स्थलका रुपमा रहेको झोलुङ्गे पुलको संरक्षण तथा सम्बद्धन हुन नसक्दा पटक९पटक जीर्ण बन्दै गएको छ । मर्मतका लागि करोडौंको बजेट खर्च गर्दा समेत उक्त पुलको अवस्था परिवर्तन हुन नसक्नुले आन्तरिक तथा बाह्य पर्यटकमा समेत नकारात्कम प्रभाव परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्