आगो ताप्दा जलेकी सायरालाई उपचारमा समस्या



वीरगन्ज, (नेस) । 

आगो ताप्न घुर बाल्दा लगाएको कपडामा आगो सल्किएर जलेकी सायरा खातुनको उपचारमा समस्या भएको छ।

पर्साको छिपहरमाई गाउँपालिका–५ की सायरा आफैँले बालेको आगोको घुर ताप्ने क्रममा जलेर सख्त घाइते भएकी हुन्। उनको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको नारायणी अस्पतालका चिकित्सकले बताए। मध्य तराईमा दुई दिनदेखि लागेको हुस्सुले चिसो बढेको छ।

सोही क्रममा जिल्लाको छिपहरमाई गाउँपालिकाकी सायराले आगो ताप्न घुर बाल्दा शरीरमा आगो सल्किएको उनका श्रीमान् रजाक मियाँले बताउनुभयो। ‘आर्थिक अभावका कारण बिहान साढे आठ बजेतिर जलेकी श्रीमतीलाई दुई घण्टा बित्दासम्म पनि अस्पताल लान सकिनँ’, मियाँले रुदै भन्नुभयो– ‘अलि पछि गाउँमा हल्ला हुँदा स्थानीय ताराचन्द पण्डित आएर पहल गरिदिनुभयो।’ त्यसपछि नारायणी अस्पतालमा ल्याइपु¥याएको उहाँको भनाइ छ। ‘चार वर्षदेखि बिरामी पनि थिई। त्यसैले जिउमा सल्केको आगो निभाउन र भाग्न पनि सकिनछ।’ –सायराका श्रीमान् मियाँले भन्नुभयो।

आर्थिक अभावमा आगोले जलेर घाइते गाउँकी सायरालाई अस्पताल लान समस्या भएको थाहा पाएपछि आफूले छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तासँग पहल गरी एम्बुलेन्स व्यवस्था गरेर अस्पतालसम्म ल्याएको स्थानीय समाजसेवीसमेत रहेका पण्डितले बताउनुभयो।

साढे आठ बजेतिर जलेकी सायरालाई एम्बुलेन्स व्यवस्था गरेर वीरगन्जको नारायणी अस्पताल पु¥याउँदा करीब १२ बजेको उहाँको भनाइ थियो। ‘आफूसँग भएको केही पैसा पनि खर्च गरें। एचए पढिरहेका विद्यार्थीले चन्दा उठाएर थप केही औषधिको व्यवस्था गरेका छन्।’ –उहाँले भन्नुभयो। शरीरको आधा भाग जलेकी सायराको उपचार शुरु भए पनि त्यसले निरन्तरता पाउनेमा समस्या भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्