बाग्मतीले बल्ल पायो भौतिक पूर्वाधारमन्त्री



नेपाल समाचारपत्र, हेटौंडा।

लामो कसरतपछि बाग्मती प्रदेशले भौतिक पूर्वाधार विकासमन्त्री पाएको छ। काठमाडौं जिल्ला क्षेत्र नम्बर–३ प्रदेशसभा ‘ख’ बाट निर्वाचित नेकपाका सचेतक रामेश्वर फुयाँलले सोमबार हेटौंडामा मन्त्री पदको सपथ खाएसँगै केशव स्थापितको बहिर्गमनपछि मुख्यमन्त्री आफैंले सम्हालेको मन्त्रालयले मन्त्री पाएको हो।

नवनियुक्त भौतिक पूर्वाधार तथा योजना मन्त्री फुयाँललाई बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंले शपथग्रहण गराउनुभएको थियो। शपथग्रहण कार्यक्रम प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीसहित प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीको उपस्थिति थियो।

माघ २९ गते अन्तिम समयमा आएर फुयाँलको सपथग्रहण तत्कालका लागि स्थगित गरिएको थियो। भौतिक पूर्वाधार मन्त्रीको सपथ माघ २९ गते ४ बजेका लागि तोकिएको थियो। तर, त्यतिबेला पार्टी ‘निर्देशन’ अनुसार शपथ रोकिएको थियो।

शपथग्रहणका लागि गोप्य रुपमा प्रदेश प्रमुखको कार्यालयमा जानकारी दिइएको थियो। नेकपाकै धेरैजसो प्रदेशसभा सदस्य र प्रदेशका मन्त्रीहरूलाई सोमबार बिहानसम्म उक्त विषयमा जानकारी थिएन।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई मन्त्री बनाउने टुंगो आइतबार काठमाडौंमा लगाएपछि फुयाँल साँझ हेटौंडा आउनुभएको थियो। पार्टीका केन्द्र र प्रदेशका नेताहरूसँगको लामो परामर्शपछि उहाँलाई प्रदेशको सबैभन्दा ठूलो मन्त्रालयको जिम्मा दिइएको हो। प्रदेशको झण्डै आधा बजेट त्यही मन्त्रालयमा छ।

२०७४ माघ २९ गते पद तथा गोपनियताको सपथ लिनुभएका मन्त्री केशव स्थापितलाई २ सय ६४ दिनपछि पदबाट २०७५ कात्तिक १६ गते शुक्रबार हटाइएको थियोे। मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी उहाँको मन्त्रालयको जिम्मेवारी आफैंले लिएको ४ सय ७२ दिनमा उक्त मन्त्रालय फुयाँलको जिम्मा लगाउनुभएको छ।

संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्नुभएको हो। बाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि नै फुयाँल मन्त्री बन्ने चर्चा थियो।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–२ घर भएका फुयाँल प्रशासनिक यात्रापछि पूरै समय राजनीतिक क्षेत्रमा होमिनुभएको छ। त्यतिबेलाको सरकारले कर्मचारी भएर आन्दोलन गरेको भन्दै उहाँलाई निलम्बन गरेको थियो।

२०३८ चैत २९ गते बहिदार पदबाट सरकारी जागिर शुरु गर्नुभएका फुयाँल, मुखिया, खरिदार, नायब सुब्बा हुँदै अधिकृतमा नाम निकाल्न सफल हुनुभएको थियो। २०४४ सालमा बडा लेखापाल र अधिकृतमा एकैपटक नाम निकाले पनि कर्मचारी आन्दोलनमा लागेकै कारण उहाँले ४ वर्ष पनि सरकारी जागिर खान पाउनुभएन।

फुयाँल राजनीतिक क्षेत्रमा गाउँपालिका अध्यक्ष, सभासद्, सांसद् हुँदै यसपटक भने मन्त्री बन्नुभएको हो। उहाँ २०४९ मा काठमाडौंको आलापोट गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो। २०५४ सालमा गाविस चुनावमा उहाँ अध्यक्ष निर्वाचित हुनुभयो। पछि काठमाडौं जिल्ला विकास समितिको उपसभापति हुनुभयो।

२०७० सालको संविधानसभा चुनावमा उहाँ निर्वाचित हुनुभएको थियो। २०७४ को प्रदेशसभा चुनावमा काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ बाट फुयाँल निर्वाचित हुनुभयो।

 

प्रतिक्रिया दिनुहोस्