व्यक्तिका कब्जामा डोटीका सरकारी धर्मशाला



विमल विष्ट, डोटी । 

डोटीमा भएका सयौं सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकाएले कुनै पहल नचालेको स्थानीयको आरोप छ ।

त्यस्तै कतिपए धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएको प्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन् । यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण गरिएको सरकारी धर्मशाला एक जना भारतीयले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेको पाइएको छ ।

तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायतका ठाउँहरुमा आवत–जावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासका रुपममा प्रयोग गरेका छन् ।

उक्त धर्मशालालाई निज भारतीय नागरिक घचेट्टाले कोठा भित्रमा आफु बस्ने तथा कोठा बाहिरको चौरमा आफना खच्चर बाध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘घचेट्टाले धर्मशाला पूरै आफनो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैले पनि प्रयास गरेका छैनन् ।’ उक्त धर्मशाला मात्र नभई जिल्लामा रहेको अधिकांश धर्मशाला केही व्यक्तिले प्रयोग गर्दै आएका छन् भने कोही प्रयोग तथा मर्मतसम्भार नहुँदा दिनहुँ भत्किँदै जीर्ण बन्न थालेका छन् ।

त्यस्तै जिल्लाको शिखर नगरपालिका वडा नं. १ नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व. वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले छाएको क्ीिक धर्मशालामा पनि निजी आवास जस्तै भएको छ ।

उक्त धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ निर्माण गरेर बसेका भंैसी गोठालाहरुले वर्षौंदेखि आफ्ना भंैसी बाध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका–१ गुठेउडीका स्थानीय करण नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिले धर्मशालामा गाई गोरु बाँधेको र मान्छे सुतेको पैसा लिन्थे अहिले, व्यक्तिले निजी बनाइएको छ, कसैले किन व्यक्तिगत बनाइस् भनेर कुरा उठाइएको छैन ।’

उक्त धर्मशालाको बाटो हुँदै आवत–जावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले सरकारले केही थान खटिया तथा बेड बिस्तारासमेत उपलब्ध गराएको थियो ।

उक्त सरकारी धमशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी अर्थात् चौकीदारका लागि रकम आउन छोडेपछि धर्मशाला लथालिंग हुनुका साथै व्यक्तिहरुले निजी आवास बनाउन थालेको स्थानीय भरतबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘धर्मशाला रेखदेखदेखि मर्मत सम्भारका लागि सरकारबाट आउने रकम बन्दभयो, कर्मचारी पनि गए, अहिले व्यक्तिले निजी घर जस्तै बनाएका छन् ।’

उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटि पौवा र धर्मशाला सार्वजनिक भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगतरूपमा प्रयोग गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कुन ठाउँमा भएको धर्मशाला कसले प्रयोग गरेको छ, त्यो सम्बन्धित स्थानीय तहले रेखदेख गर्नुपर्छ, संरक्षण गर्नु पनि उसको दायित्व हुन आउँछ, कसैले अटेर गरी निजी प्रयोजन गरेको भए कानुनबमोजिम सजाय हुनेछ ।’

जिल्लामा सरकारीरूपमा निर्माण भएका पुराना धर्मशाला, पाटि, पौवा कति छन् भन्ने यकिन तथ्यांक कुनै कार्यालयमा नभए पनि जिल्लामा कुल सयभन्दा बढी यस्ता पुराना धर्मशाला, पाटि, पौवा भएको हुन सक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जिल्लामा कतिवटा धर्मशाला, पाटि, पौवा छन्, आधिकारिक तत्थ्यांक छैन तर सयभन्दा बढी नै छन्, कसैको पनि संरक्षण तथा मर्मत सम्भार गरिएको भने पाइँदैन ।’ जिल्लामा भएका सरकारी धर्मशालाको समयमै उचित मर्मत सम्भार नगरे अबको केही समय पनि यहाँका सरकारी धर्मशाला माटोमा विलीन हुने निश्चित भएको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्