पुष्पकमलमाथि सत्ताको मानसिक छटपटाहटको आरोप



सरोज यादव, विराटनगर ।

नेपाली कांग्रेका सांसदहरुले प्रदेश लोकसेवा आयोगका अध्यक्षको नियुक्ति, प्राधिकरणका कार्यकारी प्रमुखको नियुक्तिको विषयलाई औंल्याउँदै पुष्पकमल दाहालमा सत्ताको मानसिक छटपटाहट भएको आरोप लगाएका छन् ।

प्रदेश–१ संसद्मा प्रतिपक्षका सांसदको आरोप पश्चात् प्रदेशसभाको शून्य समयमा बोल्ने अधिकांश नेकपाका सांसदले सरकार र दलका नेताको बचाउ गर्दै नेपाली कांग्रेसका सांसदको अभिव्यक्ति पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिए।

केही दिनअघि मात्र नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशसभाको बैठकको शून्य समयमा नै प्राधिकरणका प्रमुख कार्यकारी र लोकसेवा आयोगका अध्यक्ष प्रदेशभन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै सरकारको विरोध गर्नुभएको थियो । त्यस्तै कांग्रेसकै सचेतक सूयर्माराज राईले नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै मानसिक विक्षिप्त भएको आत्तिएको र पात्तिएको सम्मको अभिव्यक्ति दिएपछि सत्तापक्ष (नेकपा) का सांसदहरुले आइतबारको शून्य सयम त्यसैको प्रत्यारोपमा बिताएका हुन् ।

सत्ता पक्षका सांसद बलबहादुृर साम्सुहाङले सदनमा प्रतिनिधित्व गर्ने दलका सांसदले सदनको गरिमा बुझ्न नसकेको बताउनुभयो । ‘सत्ता पक्षबाट विपक्षमा जाँदैमा कसैका बारेमा जे पायो त्यही बोल्न पाइन्छ ? पाइन्छ भने यो गरिमामय सांसदको के अर्थ ?’, साम्सुहाङको प्रश्न थियो– ‘संसद्लाई भाँडमा धतुर बनाउने काम नगरौं ।’ सांसद मोहनकुमार खड्काले सम्मानित संसद्मा कुनै नेतालाई मानसिक छटपटाहट भएको भनेर आरोप लगाउनु सत्ताबाट विमुख आवेग भएको प्रतिक्रिया दिनुभयो ।

‘त्यही नेताको योगदानमा स्थापना भएको लोकतन्त्र र गणतन्त्रसँग अहिलेको तीन तहको सरकारको संघीयताको व्यवस्थाअनुसार संसद् हुने अनि त्यही नेतालाई मनपरी भन्ने ?’ –सांसद खड्काको प्रश्न छ। सांसद विमल कार्कीले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरु पराजित मानसिकताबाट आक्रोशित हुन थालेको आरोप लगाउनुभयो ।

कार्कीले प्रदेशसभाले नै प्रदेश लोकसेवा आयोग ऐन बनाएको र त्यही ऐनअनुसार सरकारले लोकसेवा आयोगका अध्यक्ष नियुक्ति गरेकोमा विवादमा पार्ने काम कसैबाट हुन नहुने स्पष्ट पार्नुभयो । ऐनमा व्यवस्था भए भन्दा फरक अध्यक्ष नियुक्त गरेको भए कानुनी उपचार खोज्न चुनौती दिँदै सांसद कार्कीले ऐनबमोजिम नियुक्ति भएको संवैधानिक पदका बारेमा बोलेर सांसदले आफैंले बनाएको ऐनको उपहास गरिरहेको आरोप लगाउनुभयो ।

सत्ता पक्षकै सांसद तुलसी न्यौपानले लोकसेवा आयोग र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ऐन कानुनअनुसार भएकाले कानुनको खिल्ली संसद्मा नउडाउन आग्रह गर्नुभयो । ‘हामी आफैंले बनाएको कानुनअनुसार लोकसेवा आयोगको नियुक्ति भएको हो’, ‘न्यौपानेले भन्नुभयो– ‘अहिले नियुक्त भएका संवैधानिक आयोगका अध्यक्षलाई जोडेर गलत प्रचार गर्ने काम नगरियोस् ।’

प्रदेशसभामा बोल्दै नेपाली कांग्रेसका संसद् लोकप्रसाद संग्रौलाले मन्त्री तथा सांसदहरुको अनुपस्थितिमा सदन ग्रहणलाग्दो भएको बताउनुभयो । ‘मन्त्रीहरु छैनन्, सांसदको उपस्थिति पनि कमजोर छ, कुर्सी खाली छन् के कारणले यस्तो अवस्था आएको हो ?’ –सांग्रौलाले प्रश्न गर्नुभयो ।

मुख्यमन्त्री कार्यालय कामविहिन

समाजवादीका सांसद रामचन्द्र लिम्बुले धनकुटामा स्थापना भएको मुख्यमन्त्री कार्यालय कर्मचारीविहीन भएर कुनै गतिविधि नगरेको लगाउनुभएको छ ।
जनसम्पर्क कार्यालयका रूपमा स्थापना भएको मुख्यमन्त्री कार्यालयमा अहिले दुई जना कर्मचारी मात्र रहेकाले कुनै जनसम्पर्कको कामै नभएको जानकारी गराउनुभयो । ‘धनकुटामा यस्तो जनसम्पर्कविहीन मुख्यमन्त्री कार्यालय जनताले मागेका थिएनन्’, लिम्बुले भन्नुभयो– ‘यसलाई तत्काल कामकाजी बनाइयोस् ।’

बाँदरले हैरान पा¥यो

प्रदेशसभामा बोल्दै प्रदेशसभा सदस्य कृष्णकुमारी राईले मोरङको ग्रामीण बस्तीका किसानलाई बाँदरले हैरान पारेको बताउनुभयो । किसानले लगाएको मकै तथा अन्य बाली खाएर हैरान पारेको अवस्थामा बाँदर धपाउने मेसिनको उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएके हो।

‘बाँदरका कारण पहाडी क्षेत्रका किसान सुकुम्बासी भएका छन्’, सांसद राईले भन्नुभयो– ‘बाँदर खेदाउने मेसिन सकारले चाँडै किनेर किसानलाई दिन माग गर्दछु ।’ बाँदरका कारण सर्वसाधारणको उठीबास भएको समेत उहाँले सदनलाई जानकारी गराउनुभयो । उहाँले किसानले लगाएको अन्नबाली बाँदरले खाइदिएकाले तत्काल यो समस्याबाट किसानलाई मुक्ति दिनुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्