राजधानीको विद्युत् वितरण प्रणाली भूमिगत बनाउन शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले राजधानीको विद्युत वितरण प्रणाली भूमिगत बनाउन शुरू गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी वितरण प्रणाली भूमिगत, सुदृिढकरण र स्वचालित बनाउने कार्यको शुभारम्भ गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेर लाइन निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ।
शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले निर्धारित लागत र तालिकाअनुसार वितरण प्रणाली भूमिगत लाइन, सुदृिढकरण र स्वचालित बनाउने कार्य सम्पन्न गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो। ‘विद्युत खपत बढाउन वितरण लाइन दिगो र भरपर्दो चाहिन्छ,’ उहाँले भन्नुभयो,‘राजधानीका लागि भूमिगत प्रविधि उत्तम विकल्प हुन्छ।’ भूमिगत लाइनमा पाइपभित्र भित्रैबाट तार जाने हुँदा सहर कुरुप नहुने पनि उहाँले बताउनुभयो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भूमिगत लाइन निर्माण हुँदा वितरण प्रणालीको गुणस्तर दिगो र सुरक्षित हुने बताउनुभयो। उहाँले पहिलो चरणमा राजधानीबाट शुरू गरेर देशका मुख्य सहरको लाइन भूमिगत गर्ने योजना रहेको बताउनुभयो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एचडिडी (होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ) प्रविधिबाट सडक प्वाल पारेर वितरण लाइन भूमिगत गर्न शुरू गरिएको बताउनुभयो। उहाँले ड्रिलिङ गर्ने स्थान मुनि अन्य संरचना भए नभएको अध्ययन गरेर मात्र काम गरिने बताउनुभयो।
दुई वितरण केन्द्रको वितरण लाइन भूमिगत बनाउने कार्य २०७८ असोजभित्र सम्पन्न गर्ने लक्ष्य छ। भूमिगत लाइन सम्पन्न गर्न ७ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ। सरकार, प्राधिकरणको लगानी तथा एसियाली विकास बैंक(एडिबी)को सहुलियतपूर्ण ऋणमा भूमिगत आयोजना अघि बढेको हो।
प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर (करिब २ अर्ब ८९ करोड ८५ लाख ९७ हजार १२ रुपियाँ) र १ अर्ब १ करोड ७० लाख रुपियाँमा (करबाहेक) लागतमा सम्पन्न गर्ने गरी भारतीय कम्पनीसँग ठेक्का सम्झौता गरेको छ।
रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख अमेरिकी डलर (करिब २ अर्ब ६० करोड ३० लाख ४५ हजार ५ सय १९ रुपियाँ ) र ८३ करोड १५ लाख रुपियाँमा (करबाहेक) ठेक्का सम्झौता भएको छ।
महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बुढानिलकण्ठ, टोखा, गंगबु, सामाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिङ अस्पताललगायत स्थानमा करिब २ सय ५० किलोमिटर थानमा ११ हजार भोल्ट (११ केभी) वितरण लाइन भूमिगत हुनेछ। करिब ४ सय किलोमिटर क्षेत्रमा ४ सय भोल्ट लाइन भूमिगत लाइन निर्माण हुनेछ। करिब २ सय ५० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबल बिछ्याइनेछ।
यस्तै, रत्नपार्क वितरण अन्तर्गत रत्नपार्क, बागबजार, पुतलीसडक, नयाँ सडक, अनामनगर, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँ बजार, खुसिबु, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, नक्साल, लाजिम्पाट, गौशाला, एयरपोर्ट, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानको वितरण लाइन भूमिगत हुनेछ।
यस वितरण केन्द्र अन्तर्गत करिब २ सय किलोमिटर क्षेत्रमा ११ हजार भोल्ट (११ केभी) र करिब ४ सय किलोमिटर ४ सय भोल्टको लाइन भूमिगत गरिनुका साथै २ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइनेछ। प्राधिकरणले इन्टरनेट, केबल टेलिभिजन, सुरसञ्चारलगायत सेवा प्रदायक कम्पनीका लागि अप्टिकल फाइबर बिछ्याउन लागेको हो।
पहिलो चरणमा दुई वितरण केन्द्रको वितरण प्रणाली भूमिगत बनाई ९० हजार घरमा स्मार्ट प्रविधिको मिटर जडान गर्ने प्राधिकरणको योजना छ।

प्रतिक्रिया दिनुहोस्