विराट एक्स्पोमा चारदिनमै २० करोडको कारोबार



सरोज यादव, विराटनगर ।

विराटनगरमा जारी विराट एक्स्पोमा चारदिनमै २० करोड रूपैयाँ बराबरको कारोबार भएको छ । एक्स्पोमा १ अर्ब रूपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–२ स्थित शंकरपुरमा जारी एक्स्पोलाई विविधता दिन पहाड, हिमाल र तराईका आन्तरिक उत्पादनसँगै अन्तर्राष्ट्रिय उत्पादनलाई पनि राखिएको छ ।

सोमबारसम्म २० करोड रूपैयाँको कारोबार भइसकेको संगठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । सबैजसो स्टलमा दर्शकको भीड देखिन्छ । बढी मात्रामा खाद्यन्न, लत्ताकपडा, अटोमाबाइल्स, जुत्ताचप्पल, प्लाष्टिकका भाँडाको कारोबार भएको घिमिरेको भनाइ छ । खानाका परिकारमा समेत दर्शकको चाप छ ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ सुरु भएको एक्स्पोमा ३ सय ४० वटा स्टल छन् । जसमा भारत, बंगलादेश, भुटान र पाकिस्तानका ४० वटा स्टल छन् । एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारका योजनाका कारण दर्शकको भीड थामिनसक्नु भएको मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलाल (भोला) बताउनुहुन्छ ।

एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेका छन् । एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरूमा पनि प्याकेजअनुसार अफर दिएको छ । एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको छ । मेलामा वस्तुअनुसार ५० प्रतिशतसम्म छुटमा बिक्री भइरहेको छ । एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीलेसमेत अफर लिएर आएका छन् ।

उनीहरूले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन् । एक्स्पोको दैनिक २० हजार बढीले अवलोकन गर्ने गरेको आयोजक उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले बताउनुभयो । ३ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने उनको भनाइ छ । बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटेपिङ, मौतका कुवाका साथ सांगीतिक कार्यक्रम गरिएको छ । दैनिक स्थानीय र राष्ट्रिय कलाकारले मनोरञ्जन दिएका छन् । एक्स्पोको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै छन् ।

होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रूपैयाँमा सेवा प्रदान गर्दै आएको छ । हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताउनुभयो । हेलिकप्टरबाट पाथिभरा र हलेसी जानेहरू चाप रहेको उहाँको भनाइ छ

एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रूपैयाँ र विद्यार्थीलाई २५ रूपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका छन् ।

एक्स्पोमा १ सय ५० किलोको अष्ट्रिज पनि राखिएको छ । बालबालिकालाई लक्षित गरी विभिन्न आकृति समावेश गरिएको छ । जहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ । हेटौैंडाबाट अष्ट्रिज लिएर आएका असीम अधिकारीले विराट एक्स्पोजतिको व्यवस्थित कतै नपाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म ५० वटाभन्दा बढी यस्ता महोत्सवहरूमा गएँ । तर, यस्तो व्यवस्थित कतै पाइएन ।” आयोजकबाट समेत राम्रो सहयोग पाएको घिमिरले बताउनुभयो । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्