आयोजकमाथि च्यासलको गोलवर्षा



न्युज अफ नेपाल,हेटौंडा।

मकवानपुरको बागमती गाउँपालिकास्थित जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा जारी तेस्रो बागमती गोल्डकपको पहिलो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन च्यासल युथ क्लबले आयोजक बागमती गाउँपालिकाविरुद्ध गोलको वर्षा नै गरेको छ । कुल ८ गोल वर्षाएर च्यासलले आफ्नो पोष्टमा बलको दिशा मोडिनै दिएन । खेलमा दोहोरो ह्याट्रिक पूरा भएको थियो ।

५ औं मिनेटमा नै विदेशी खेलाडी कनिज अजेगोके भुजारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा उनले नै गोल थपे । २८ औं मिनेटमा सुनिल बलले गोल गर्दै टिमलाई ३–० को अबस्थामा पु¥याए ।

३९ औं मिनेटमा बलले नै गोल थपे । ४३ औं मिनेटमा च्यासलका नितेन थापाले गोल गर्दै पहिलो हाफमा ५–० को अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा भुजारीले अर्को गोल थपेर प्रतियोगितामा पहिलो ह्याट्रिक पूरा गरे ।

८१ औं मिनेटमा पूर्णबहादुर गुरुङले गोल थपे । बलको अर्को गोलसमेत गरी आयोजकको पोष्टमा ८ गोल वर्षिंदा उनले पनि ह्याट्रिक पूरा गरे । खेलकोे म्यान अफ दी म्याच च्यासलका बल भए । उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।

बागमती गाउँपालिकामा आयोजित प्रतियोगितामा मंगलबार दिउँसो २ बजे न्यू डाँफे युवा क्लब मकवानपुर र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । गोेल्डकप विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउनेछन् ।

उपविजेताले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्