पानोरमा रिसोर्टमा पर्यटकको मृत्यु ‘कुनै पक्ष दोषी देखिएनन्’



हेटौंडा, (नेस) ।

दामनको एभरेष्ट पानोरमा रिसोर्टमा ८ भारतीय नागरिकको ज्यान गएको घटनामा ‘कुनै पक्ष दोषी नदेखिएको’ थाहा होटल एसोसिएसनले दाबी गरेको छ। एसोसिएसनले गरेको छानबिन, अनुसन्धान र होटल व्यवस्थापनले उपलब्ध गराएको कागजातका आधारमा मृत्यु प्रकरणमा कुनै पक्ष दोषी नभेटिएको एसोसिएसन अध्यक्ष शिवकुमार खत्रीले बताउनुभयो।

पर्यटन विभागले पानोरमा रिसोर्ट तीन महिनाका लागि निलम्बन गरेको पत्र काटेपछि एसोसिएसनले विभागलाई पत्र लेखी घटनाबारे जानकारी गराएको हो। माघ २६ गते विभागले फच्र्युना इन्टरनेसल प्रालिको नाममा पानोरमा रिसोर्ट निलम्बन गरिएको पत्र काट्दा एसोसिएसनलाई पनि उक्त जानकारी दिएको थियो।

तर, एसोसिएसनले पर्यटन विभागलाई पत्र लेख्दै ‘बाँकी बुकिङका लागि तोकिएको मापदण्ड पूरा गर्न कुनै समय बन्देज नतोकिदिन’ आग्रह गरेको छ। नेपाल भ्रमण वर्ष शुरुसँगै रिसोर्टमा अग्रिम बुकिङ लिइसकेकाले होटल सञ्चालनमा रोक लगाउँदा अन्तर्राष्ट्रिय पर्यटनजगतमा नेपालबारे नकारात्मक सन्देश जाने अध्यक्ष खत्रीले बताउनुभयो।

२०४८ चैत ३ गते उद्योग विभागबाट प्रमाणपत्र लिएर शुरु गरिएको रिसोर्टले विभिन्न समयमा रिसोर्टको लागि विदेशी जनरल म्यानेजर र हेलिप्याड बनाउन पत्राचार गरेको पाइएको एसोसिएसनले जनाएको छ।

‘रिसोर्टले २०७६ सम्म पर्यटन विभागमा छ-छ महिनामा आवधिक प्रतिवेदन बुझाएको देखिन्छ। प्रमाणपत्र नलिएर सञ्चालन गरिएको भन्ने विषय बुझ्न सकिएन’ विभागलाई पठाइएको पत्रमा भनिएको छ। ऐनमा सञ्चालनको मापदण्ड वर्गीकरण तथा स्तरीकरण गर्दा शहरी होटलको मापदण्ड र पहाडी भेगका होटललाई एउटै दायरामा राख्नु व्यबहारिक नभएको एसोसिएसनले जनाएको छ।

८ भारतीय मृत्यु प्रकरणमा सुरक्षा र व्यवस्थापकीय कमजोरी पाइएको भन्ने पर्यटन विभागको व्यहोरासम्बन्धमा एसोसिएसनले भनेको छ–रिसोर्टमा सुरक्षा गार्ड, प्राथमिक उपचारसामग्री, बिरामी बोक्ने स्ट्रेचर, आगो लाग्दा सचेत गर्ने हुटर, आगो निभाउने वारुणयन्त्र हरेक कटेजमा जडान गरिएको र पानीको फोहोरा छर्ने जक्कीपम्प पाइयो तथा संकटकालमा होटलका पाहुना तथा सर्वसाधारणलाई उद्दार गर्न हेलिप्याड बनाएको पाइयो।

प्रतिक्रिया दिनुहोस्