अन्तर्राष्ट्रिय मुर्तिकला कार्याशालामा १० विदेशीसहित १५ जना मूर्तिकारले मूर्ति कुद्ने



सिर्जना पन्त, बागलुङ

खुला संग्रहालय स्थापना गरेर जिल्लाको पर्यटन प्रवद्र्धन गर्नका लागि बागलुङमा अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला गर्न लागिएको छ । गलकोट नगरपालिका–५ टेउवामा आजबाट अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरू हुँदै छ । कार्यशालामा ५ नेपाली र १० विदेशी गरी १५ जना मूर्तिका सहभागी हुने छन् ।

१७ दिनसम्म चल्ने कार्यशालामा खुला संग्रहालयको लागि आवश्यक पर्ने संस्कार, संस्कृति तथा रीतिरिवाज झल्काउने मूर्ति निर्माण गरिने गलकोट कला प्रतिष्ठाका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो ।

२०७३ सालमा टेउवाको डाँडामा खुला संग्रहालय निर्माण गर्ने गरी गलकोट कला प्रतिष्ठानको स्थापना गर्दै स्थानीयले खुला संग्रहालयका लागि २३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । खुला संग्रहालयको २०७४ सालमा रु. १२ करोड बराबरको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार गरी काम थालिएको थियो ।

कला प्रतिष्ठानका कोषाध्यक्ष यामबहादुर श्रीशकाअनुसार असारसम्म झन्डै तीन करोड रुपियाँ खर्च भइसक्ने गरी निर्माण भइरहेको छ ।
कार्यशालामा सहभागी हुन आएका जापानका जुन इचिरो सुगिमोतो, चीनका लिउ याङ्ग, इटालीका बिटिनो फ्रान्सेनी, फ्रान्सका जिवियर्स गोंजालेज, ताइवानका लिन ली जेन, क्यानडाका जुली ग्ल्यास्पी, भारतका टुटु पटानायक, इजरायलका तान्या प्रिमिङ्गर, ब्राजिलका जर्जलुइज र युक्रेनका मूर्तिकार ल्युड्मेलले १७ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् भने कुदिएका मुर्ति खुला संग्रहालयमा प्रतिस्थापन गर्ने कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरूले सिर्जना गरेका भावनात्मक, संस्कार तथा संस्कृति झल्काउने मूर्तिहरू खुला संग्रहालयमा प्रतिस्थापन गरिनेछ । कार्यशालामा गणेश तथा बुद्धको मुर्तिसमेत बनाइनेछ । कार्यशालामा नेपालका तर्फबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनुहुनेछ।

त्रिवि केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । मूतिकला कार्यशालाका लागि हालसम्म गलकोट नगरपालिकाले रु. १२ लाख, गण्डकी प्रदेश सरकारबाट रु. ४५ लाख, केन्द्रीय सरकारबाट रु. ५० लाख सहयोग भएको छ । यस्तै खुला संग्रहालयका लागि साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्य तथा संरक्षकलगायतका सदस्य निर्माण गरी सहयोग रकम लिइनेछ ।

कला प्रतिष्ठानमा आजीवन सदस्य बन्नका लागि रु. १० हजार तथा मानार्थ सदस्य बन्नका लागि रु. १ लाख तथा संरक्षक बन्नका लागि रु. ५ लाख सहयोग गर्नुपर्नेहुन्छ । हाल कला प्रतिष्ठानमा ५ सय ५० जनाले आजीवन सदस्यता लिइसकेका छन् ।

मध्यपाडी लोकमार्ग हुँदै पोखराबाट बागलुङको ढोपाटन पुग्ने पर्यटकहरुलाई गलकोटमा रहेको खुला मुर्तिकला संग्रहालयले आर्कषित गर्ने पर्यटन व्यवसायीहरु बताउँदै आएका छन् ।

खुला संग्रहालयमा आगामी वर्षदेखि बगंैचा, शीतल पाटी, अनुसन्धान केन्द्र तथा अन्तर्राष्ट्रियस्तरको सभाहललगायतका संरचना बनाउन थाल्ने कला प्रतिष्ठानले जनाएको छ । संग्रहालयको निर्माण पछि नेपाल सरकाले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने र बागलुङमा पर्यटकको वृद्धि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्