हमालले सुनाए आफ्नै कथा



लोकप्रिय अभिनेता राजेश हमालले आफ्नो आत्मकथा सुनाएका छन्। राजधानीमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (निफ) मा आइतबार हमालले आत्मकथा सुनाएका हुन्।

‘मेरो उमेर २१ मात्र भए पनि फिल्म क्षेत्रमा लामै अनुभव छ झन्डै ३२/३३ वर्ष भयो फिल्म क्षेत्रमा’, ठट्यौली शैलीमा प्रस्तुत हँदै हमालले आफ्ना पूराना दिनहरू सम्झिए– ‘फिल्ममा प्रवेश गर्छु भन्दाखेरी यतिका लामो अवधिसम्म निरन्तरता दिन सक्छु भन्ने केही पनि आधार थिएन।

तपाईंहरूलाई थाहै होला मेरो पहिलो गाँसमै ढुंगा परेको थियो। पहिलो फिल्म खेल्दाखेल्दै छोड्न बाध्य पारिएको थियो। एक्टिङ गर्न सक्नुहुन्न भन्दै छोड्न बाध्य पारिएको थियो। र पनि मैले हरेस खाइनँ। ममा खुबी नभएर होइन, उहाँको दृष्टिकोणको कारण हो।

आत्मविश्वासका कारण आफूले फेरि अर्को २ वर्षपछि तिनैले आफ्नो फिल्ममा आबद्ध गर्नका लागि सम्पर्क गर्नुभयो।’ उनले आफूले फिल्ममा खेल्दा भारतबाट प्राविधिक ल्याएर काम गर्नुपर्ने अवस्था रहेको साथै आफू फिल्म क्षेत्रमा आएपछि फिल्मको संख्या बढेको सम्झना गर्दै भने– ‘फर्केर हेर्दा म आफू वान म्यान आर्मी जस्तो लाग्छ।

फिल्म क्षेत्रमा लागेर आम नेपाली जनसमुदायमा नजिकिने मौका पाएँ, जुन मैले अन्य पेसामा लागेको भए यस्तो मौका पाउँदिनथें।’

गत बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शुभारम्भ गरेको फेस्टिवल आज सोमबारसम्म चल्नेछ। फेस्टिवल शुभारम्भ कार्यक्रममा निर्माता निर्देशक तथा फेस्टिवलका सल्लाहकार नीर शाहले धेरै फिल्मको प्रतिनिधित्व राख्ने चलचित्रको थुप्रोलाई लिएर अगाडि बढेको निफबाट आफूले फिल्म अध्ययन गर्ने अवसर पाएको बताए।

आयोजक केपी पाठकले गत वर्षभन्दा यस वर्ष प्रदर्शन गर्ने फिल्मको संख्या बढेको र अन्तर्राष्ट्रिय फिल्मकर्मीको संख्या पनि बाक्लो रहेको बताए। बलिउड निर्देशक तथा निफका मुख्य निर्णायक प्रकाश झाले आफ्नो घर नेपाल र भारतको सिमानामा रहेको र बाल्यावस्थामा नेपाल–भारत आउने जाने गरे तापनि काठमाडांै भ्रमण भने पहिलो रहेको बताए। ‘नेपाल विभिन्न संस्कृति, परम्परा र भाषा भएको सुन्दर मुलुक हो।

अहिले अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल आयोजना गरेर संसारभरिको सिनेमालाई जम्मा गरेर यो भूमिमा प्रदर्शन गर्दा निकै राम्रो लागेको छ।’ –उनले भने। अमेरिकन फिल्म मेकर तथा निर्माता लरेन्स कासानोफले कोरियन फिल्म प्यारासाइटले ओस्कार जितेको उदाहरण प्रस्तुत गर्दै भनिन्– ‘तपाईंहरू सिनेमाको भविष्य हो, नेपालसँग संस्कृति छ, प्रविधि छ अनि प्रतिभा पनि छ। यी सब लिएर तपाईंहरूले आफ्नो कथा प्रस्तुत गर्न सक्नुभयो भने ओस्कार त्यति टाढा छैन। संसारलाई भन्नैपर्ने धेरै कथा छन् नेपालसँग।’

फेस्टिभल २०१९ को सर्वाधिक मन पराइएको चाइनिज फिल्म द कम्पोजरको प्रदर्शनबाट शुरूआत भएको थियो। फेस्टिभलको अवसरमा नेपाल आएका अन्तर्राष्ट्रिय फिल्मकर्मीले नेपाली फिल्ममेकरले विश्वलाई रोचक लाग्ने कथा भन्न सके नेपाली फिल्मले पनि नेटफ्लिक्स, अमेजन प्राइमजस्ता डिजिटल प्लेटफर्म प्लेटफर्ममा स्थान पाउन सक्ने बताएका छन्।

शुक्रबार लाजिम्पाटको होटल ¥याडिसनमा विभिन्न तीन सेसनमा चलेको छलफलमा उनीहरूले यस्तो धारणा राखेका हुन्। हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरका रूपमा काम गरेका किरणभक्त जोशीले सहजीकरण गरेको कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डी फ्रोबिल र अस्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफले आ–आफ्नो धारणा राखेका थिए।

ल्यारी कोफले हलिउडमा ट्र«ू लाइज, टर्मिनेटर–२, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन ः फस्ट क्लास, थोर, कोडी ब्यांक्स जस्ता फिल्म निर्माण गरेका छन्। डेमियन डी फ्रोबिल भने नेटफ्लिक्स्, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभका रूपमा काम गरेका व्यक्ति हुन्। जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्म बनाएका छन्।

छलफलको शुरूआत फिल्म मेकिङ इन एन एज अफ स्ट्रिमिङ शीर्षकबाट गरिएको थियो। सो विषयमा धारणा राख्दै सबै विदेशी फिल्मकर्मीले स्ट्रिमिङ साइटलाई ज्यादाभन्दा ज्यादा फिल्मको आवश्यकता रहेकाले लोकल कथामा ग्लोबल दर्शकलाई रिझाउने कथा बनाउन सके नेपालले पनि स्ट्रिमिङ साइटमा स्थान पाउने धारणा राखेका थिए।

शनिबार भने फिल्म प्रदर्शनसँगै बलिउड निर्देशक प्रकाश झाले फिल्म निर्देशनसम्बन्धी प्रशिक्षण दिए। शेखर खरेलले सहजीकरण गरेको सेसनमा प्रकाश झाले दर्शकले बुझ्ने भाषामा फिल्म बनाउन आग्रह गरे। ‘हामीले भन्ने कथावस्तुलाई दर्शकले बुझ्ने भाषामार्फत हलसम्म पुर्याउनुपर्छ।’ –उनले भने। उनले आफ्नै फिल्म दामुलको किस्सा शेयर गर्दै व्यावसायिक जोखिम कम गर्दै कलात्मक फिल्म बनाउन आग्रह गरे।

नेसनल अवार्डसमेत जितिसकेका प्रकाशलाई घरमै काम गर्ने ललिता बाइले ‘अर्कोपटक फिल्म बनाउनू’ भनेपछि उनले आर्टलाई कमर्सियल भ्यालुसँग मिक्स गरेको बताए। ‘फिल्म भनेको व्यवसाय हो त्यसैले हलसम्म आउने दर्शक तपाईंको कामबाट सन्तुष्ट हुनुपर्छ’, झाले भने– ‘हामीले कलात्मक अभिव्यक्तिका लागि फिल्म बनाउने गरेका छांै, भन्छौ भने हामी झुट बोलिरहेका छौं।’

उनले व्यावसायिक फिल्म बनाउनु गलत नभएको बताए। आफैंले निर्माण गरेको एक फिल्मलाई व्यावसायिक असुरक्षाका कारण हलसम्म लान नसकेको खुलाउँदै आफ्नो सन्तुष्टिको निमित मन्ट कि साइकल र परीक्षा जस्तो सानो बजेटको फिल्म बनाउने गरेको बताए। उनले केही सहभागीको जिज्ञाशासमेत मेटाएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्