आर्मीको गोल उपहारमा मछिन्द्र च्याम्पियन



फिरोज राजोपाध्याय, काठमाडौं।

त्रिभुवन आर्मी क्लबले दिएको गोल उपहारमा मच्छिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि शनिबार जितेको छ।दशरथ रंगशालामा शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मीलाई १–० ले हराएर उपाधि हात पारेको हो।

आर्मीका डिफेन्डर विकास तामाङले गरेको आत्मघाती गोल निर्णायक हुँदा मच्छिन्द्रले उपाधि जित्न सफल भयो। योसँगै १३ खेलमा ३१ अंक जोडेर मच्छिन्द्र ए डिभिजनको नयाँ च्याम्पियन टोली बन्न सफल भयो।

५० को दशकदेखि तीन टोली मनाङ–मस्र्याङ्दी, नेपाल पुलिस र थ्रि स्टार क्लबले उपाधि बाँड्दै आएकामा यसपटक मच्छिन्द्रले सो वर्चश्व तोडिदिएको छ। मच्छिन्द्रले पहिलो पुरस्कार ५० लाख नगद जित्दा आर्मीले ३५ लाख नगदमै चित्त बुझायो। त्यस्तै डिफेन्डिङ च्याम्पियन मनाङले तेस्रो स्थान रोज्दै २५ लाख नगद हासिल गर्यो।

यसै गरी थ्रि स्टार चौथो स्थानमा रहँदै १५ लाख नगदको हकदार भयो भने पुलिसले पाँचौं स्थानमा रहेर ७ लाख नगद हासिल गरेको छ। मच्छिन्द्रले २०६२ सालदेखि ‘ए’ डिभिजन लिग खेल्न शुरू गरेको हो।

काठमाडौंको केलटोलस्थित क्लबले हरेक लिगमा राम्रो प्रदर्शन गर्दै आएको छ। यस सिजनमा भने उपाधि जित्नका लागि टोलीले निकै खर्च पनि गर्यो। खेलाडीका लागि मात्रै करोडौं रुपियाँ खर्च गरेको थियो। टोलीले मनाङबाट चर्चित खेलाडी आफ्नो क्लबमा अवतरण पनि गरायो। सोहीअनुसार नतिजा ल्याएकोमा टोलीका अध्यक्ष प्रबोधवीर सिंह कंसाकारले खुसी व्यक्त गरे।

लिगको अन्तिम खेल हेर्न दशरथ रंगशालामा करिब १० हजार दर्शकको उपस्थिति थियो। शुरूमा दुवैतर्फबाट पोस्ट अट्याक हुन सकेन, चिसो मौसममा रंगशाला त्यति तात्न पनि सकेन। तर ३३औं मिनेटमा रञ्जित धिमालको फ्रि किक प्रहारले रंगशालामा उपस्थित दर्शकका लागि तरंग ल्याइदियो, विशेष गरी मच्छिन्द्रका समर्थकलाई।

धिमलाले दायाँ विङबाट गरेको लामो प्रहारलाई डिबक्समा रहेका विकासले हेड गर्दै क्लियर गर्न खोजेका थिए। तर उनको हेडर प्रहारले आफ्नै जाली चुम्न पुगेको थियो। गोलकिपर विकेश कुथु पनि सो बललाई बचाउन असमर्थ भएका थिए। तर उनको प्रयासमा उनी स्वयं पनि घाइते हुन पुगे।

गम्भीर घाइते भएका विकेशलाई एम्बुलेन्समा राखेर अस्पतालमा पुर्याउनुपरेको थियो। उनको स्थानमा आएका विवस चौधरीले बाँकी एक घण्टा आर्मीलाई थप गोल हुनबाट जोगाएका थिए। यद्यपि दोस्रो हाफमा मच्छिन्द्रले २ गोल गरेको थियो।

तर दुवैपटकको गोल अमान्य घोषित भएको थियो। यस्तै विवसले देवेन्द्र तामाङले क्लोज रेन्जमा प्रहार गरेको बललाई समेत पन्च गरी गोल हुनबाट बचाएका थिए।

आर्मीको दुर्भाग्य

आर्मीका लागि भने पहिलोपटक उपाधि जित्ने मौका धेरै थियो। खेल बराबरी मात्रै गरे पनि आर्मी उपाधि विजेता बन्ने थियो। तर दुर्भाग्य आर्मीले बराबरी पनि खेल्न सकेन। टोलीका लागि आत्मघाती गोलले नै उपाधिबाट विमुख बनायो।

६८औं मिनेटमा कप्तान भरत खवासले क्लोज रेन्जमा गोल गर्ने अवसर गुमाउनुसमेत महँगो सावित भएको थियो। टंक बस्नेतले दायाँ विङबाट गरेको क्रसमा भरतले हेड गर्दा बल गोलकिपर विशाल श्रेष्ठको जिउमा लागेको थियो।

अर्को इन्जुरी समयमा विकासले गरेको प्रहार पनि गोल हुन सकेन। गोलकिपर बिट भइसकेको अवस्थामा गोललाइनबाट विशाल राई ‘बी’ले हेडमार्फत् क्लियर गरेका थिए।

विमलले मच्छिन्द्रबाट खेले

एन्फाको अनुशासन कमिटीद्वारा निलम्बित विमल घर्तीमगरले जारी लिगमा खेल्न पाएका छन्। मच्छिन्द्रले अन्तिम खेलका लागि विमललाई अनुबन्धन गरेको थियो। तर टोलीको पहिलो रोजाइमा परेका विमलले सन्तोषजनक प्रदर्शन भने गर्न सकेनन्।

उनले ७२ मिनेटसम्म मात्रै खेलेका थिए। ७३औं मिनेटमा उनलाई सुजल श्रेष्ठले प्रतिस्थापन गरेका थिए। यसका बाबजुद उनी उपाधि विजेता टोलीको एक सदस्य बन्न सफल भएका छन्।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्नुअगाडि नाइट क्लबमा गएको आरोपमा उनलाई एन्फा अनुशासन कमिटीले ९० दिन खेल्न नपाउने गरी निलम्बित गरेको थियो।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्