विकाससँगै अपराधका स्वरुप फरक हुँदै गएका छन्



चञ्चला श्रेष्ठ
प्रहरी निरीक्षक
प्रमुख, महानगरीय प्रहरी प्रभाग मंगलबजार

प्रहरी सेवाको लामो समय महिला र बालबालिका सेवा केन्द्रमा काम गर्नुभएका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ हाल महानगरीय प्रहरी प्रभाग मंगल बजारको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ। २०६६ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएकी श्रेष्ठले इन्र्चाज पाएको यो नै पहिलो पटक हो। प्रहरी निरीक्षक श्रेष्ठसंग नेपाल प्रहरीमा महिलाको संख्या बढाउन, महिला प्रहरीका चुनौती र प्रभागको रुपमा काम गरिरहेको अनुभव बारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले लिएको अन्र्तवार्ताको सम्पादित अंश

महानगरीय प्रहरी प्रभाग मंगलबजारको प्रमुखको रूपमा काम गर्दाको अनुभव अन्यत्रको तुलनामा कस्तो रह्यो ?

इन्चार्जको रूपमा पोस्टिङ भएको यो नै पहिलो पटक हो। अरू ठाउँमा काम गर्दा आफूलाई जिम्मा दिएको मात्र काम गरे पुग्थ्यो। इन्चार्जको रूपमा प्रहरी जवानलाई खटाउने, व्यवस्थापन मिलाउनेदेखि सबै काम गर्नुपर्ने हुन्छ। यस दृष्टिले पनि अरू ठाउँमा खटिएको अनुभव र यहाँको फरक रह्यो।

शान्ति, सुरक्षा र अपराध न्यूनीकरणसँगै प्रहरीलाई समुदायसँग नजिक गराउने, बालबालिकामा प्रहरीप्रति सकारात्मक छाप पार्ने सचेतनामूलक कार्यक्रम प्राथमिकतामा राख्दै आएको छु। 

प्रभागको क्षेत्रमा ललितपुरको ‘कोर बस्ती’ रहेको छ। धेरै शान्त र सुरक्षित रहेको छ।यहाँको राम्रो पक्ष भनेको यहाँ विभिन्न तहका व्यक्तिहरू, सामाजिक कार्यकर्ता जो समुदायसँग प्रत्यक्ष जोडिएको छन्, तिनिहरूको सद्भाव र सहयोग एकदम राम्रो छ। त्यसकारण यहाँ मलाई काम गर्न त्यस्तो गाह्रो भएको छैन। काम गर्न निकै सहज छ। काम गर्ने मान्छेले राम्रो नियतले काम गर्नुपर्छ, प्रशस्तै सहयोग पाइन्छ।

तपाईँले के कस्ता कामलाई प्राथमिकतामा राख्दै आउनुभएको छ ?

शान्ति, सुरक्षा र अपराध न्यूनीकरणसँगै प्रहरीलाई समुदायसँंग नजिक गराउने, बालबालिकामा प्रहरीप्रति सकारात्मक छाप पार्ने सचेतनामूलक कार्यक्रम प्राथमिकतामा राख्दै आएको छु। लामो समय महिला, बालबालिका क्षेत्रमा काम गरेको अनुभव यहाँका टोल सुधार, विद्यालय र जातीय समाजहरूसँग मिलेर समाजलाई बाँड्ने काम पनि गर्दै आएको छु।

प्रभागको क्षेत्रभित्र कस्ता आपराधिक घटनाहरू बढी हुने गरेका छन् ?

यहाँ त लागू औषध, चोरीका घटनाहरू बढी हुने गरेका छन्। त्यसमा पनि बालबालिका संलग्न भएको घटनाहरू बढी मात्रामा भइरहेको छ। १२, १३ वर्षको उमेरमै गाँजा खाने, चोरीमा संलग्न हुने गरेका छन्।

ती बालबालिकाहरूलाई मुद्दा चलाउन पनि नमिल्ने, सम्झाएर बुझाएर पठाउँदा पनि नडराउने गरेकोले त्यसमध्येका कतिपय बालबालिकाहरू पुनः ती काममा संलग्न हुने गरेका छन्।त्यसैगरी ट्राफिकसँग जोडिएका समस्याहरू हरेक दिन आइरहेका छन्।महिला हिंसासम्बन्धी ‘केस’ पनि केही मात्रामा आउने गरेका छन्।

समुदाय प्रहरी साझेदारी कार्यक्रम कतिको प्रभावकारी भइरहेको छ ?

समुदाय मैत्री प्रहरी साझेदारी कार्यक्रम विशेषतः स्कुल स्कुलमा प्रभावकारी भइरहेको छ।स्थानीय तहका जनप्रतिनिधिहरू अन्य काममै व्यस्त हुने गरेकोले स्थानीय तहसँग भन्दा पनि विभिन्न सामाजिक संघसंस्था, विद्यालयहरूको साझेदारीमा बढी कार्यक्रमहरू भइरहेका छन्।

यहाँका मानिसहरूसँगको अन्र्तक्रियाको आधारमा प्रहरी प्रशासनलाई हेर्ने दृष्टि कस्तो पाउनुभयो ?

समाजका अगुवा, टोलका अगुवा,सामाजिक कार्यकर्ताहरूमा प्रहरी प्रशासनलाई हेर्ने दृष्टि सकारात्मक नै रहेको पाएको छ। सर्वसाधारण जनतामा प्रहरीप्रति हेर्ने बुझाइ अलि सकारात्मक पाएन। पुलिस भन्ने बितिक्कै मन नपराउने मानिसहरू पनि धेरै देखेँ। यहाँको संस्कृति, मनोविज्ञानलाई प्रहरी प्रशासनले वास्ता गरेन भन्नेहरू पनि धेरै भेटिएका छन्। त्यसैले यहाँको नेवाः समुदायभित्रका मूल्य, परम्पराहरू, संस्कृतिको विशिष्ट महत्त्व रहेको छ।

यो समु्दायसँग नजिक हुने क्रममा अलिकति खाडल भएको महसुुस गरेको छु। हामीभित्र रहेको कुरा हामीभित्रै रहे भइहाल्छ नि, किन प्रहरी प्रशासनमा पठाउनु पर्यो भन्ने बुझाइ धेरै मानिसहरूको रहेको छ। यस अवस्थामा यसले गर्दा समुदायसँग सम्बन्ध सुमधुर भएर काम गरिरहेको छु। प्रभागको प्रमुखको हिसाबले यहाँको समुदायको मूल्य, परम्परा र मान्यतालाई बुझेर सुमदायमैत्री प्रहरी प्रशासनको अवधारणाअनुरूप काम गर्दै आएको छु।

यहाँको संस्कृति, सभ्यता, पहिचान र सम्पदाको लगाव वा जगेर्ना गर्नुपर्छ भन्ने भाव यहाँको सबल पक्ष हो। त्यो अत्यन्त राम्रो छ। यहाँका टोल सुधार, जातीय समाजका पदाधिकारी, सामाजिक व्यक्तित्व र कार्यक्रममा सहभागी हुँदा यो कुरो जोडतोडका साथ उठ्ने गरेको छ।

त्यो प्रतिको लगाव वा जानकार भएर लाग्ने नै समुदायको सबल पक्ष हो। भाषा, संंस्कृति, परम्परा र पहिचानलाई जोगाएर राख्नुभएको छ त्यो अत्यन्न राम्रो हो। बाहिरी समाजसँग हतपत्त घुलमिल हुन नचाहने प्रवृत्ति छ, त्यसलाई सुधार्नुपर्छ जस्तो लाग्दछ।

महिला भएकै कारण प्रमुखको रूपमा काम गर्न कति गार्हो छ ?

महिला भएकै कारण प्रमुखको रूपमा काम गर्न नसक्ने भन्ने हुँदैन। पुरुष वा महिला भएकै कारण काम गर्न सक्ने वा नसक्ने भन्ने हुँदैन। क्षमता, समन्वय गर्न सक्ने सीप भएको जोसुकै व्यक्तिले राम्ररी काम गर्न सक्छन्। जैविक फरकले काम गर्न गार्हो हुँदैन। त्यसलाई हेर्ने सामाजिक दृष्टि अथवा लैंगिक विभेद नै अहिलेको मु्ख्य समस्या हो।

राति अबेरसम्म भोज, पार्टी र रेष्टुरेन्टमा गएर कुराकानी गर्ने, सम्बन्ध विस्तार गर्ने कार्यमा पुरुष भएको भए अलि सजिलो हुन्थ्यो।महिला भएकै कारणले मानिसहरूसंग घुलमिल हुन अलि गार्हो हुन बाहेक आफ्नो इमान्दारी र क्षमता देखाउन महिला भएकै कारण गार्हो हुने भन्नै हुँदैन। समस्या भनेको हाम्रो मानसिकता,सामाजिक सोचमा रहेको छ।पितृसत्तात्मक सोच, संस्कार नै मुख्य समस्या हो।

प्रहरी बन्न तपाईँलाई के ले प्रेरित गर्यो ?

आरम्भमा त नेपाली सेनामा छिर्न खोजेको थिएँ।सेनाको पोसाक मलाई असाध्यै मनपरेको थियो।त्यही पोसाकले सेनामा जागिर खान मनलाग्यो। २०६२/०६३ सालतिर सेनामा भर्ना हुन दुईपटक जाँच दिएँ, पास पनि भइयो। अन्तर्वार्तामा भने फालियो।

अन्र्तवार्तामा पास हुन भनसुन गर्नुपर्दछ भनेर साथीहरूले नभनेको पनि होइन, तर मैलै कसैलाई पनि केही भनिनँ। व्यवस्थापनमा स्नातक सिध्याएपछि २०६६ सालमा प्रहरी निरीक्षकमा जाँच दिएँ, एकैचोटि पास भए।पास भएपछि १८ महिने प्रहरी तालिम लिएँ। त्यसपछि कार्य क्षेत्रमा खटिएको छु।

पहिलो पोस्टिङ कहाँ भयो ?

शुरुमै क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतअन्तर्गत महिला, बालबालिका सेवा केन्द्र जुम्ला पठाइयो। भक्तपुरमा जन्मिएको व्यक्ति कहिले नगएको, नेपालको अति विकट जिल्ला भनेर भनेको, सुनेको जुम्लामा गएर काम गर्नु भनेको आफैँमा ठूलो कौतुहल, रोमाञ्च र चुनौती पनि थियो।जिल्ला प्रहरी कार्यालय जुम्लामा रहेर ११ महिना काम गरेँ।

जुम्ला गएर काम गर्दा कस्तो अनुभव गर्नुभयो ?

भूगोल, संस्कृति, समाजको हिसाबले म जन्मिएको ठाउँ, परिवेशभन्दा निकै भिन्न थियो।भौगोलिक विकटताले गर्दा काम गर्न अप्ठ्यारो थियो नै। गाडी नपुग्ने ठाउँमा जानुपर्यो, मान्छे पक्राउ गर्नुपर्यो भने दुई–तीन दिन हिँडेर जानुपर्ने स्थिति थियो। त्यहाँको रहनसहन र परिवेशमा घुलमिल हुनु पनि समय लाग्यो। त्यहाँको भाषा बुझ्न निकै गार्हो हुन्थ्यो।

जुम्लाको भाषा, संस्कृति, जनताको मनोविज्ञान र समाजलाई बुझ्ने अवसर पाइयो। जागिर नखाएको भए जुम्ला पुग्ने थिएन जस्तो पनि लाग्दथ्यो।

यस्तो अवस्थामा प्रहरी प्रशासनले सेवा दिन पनि निकै चुनौती थियो। भाषा नबुझेकोले कामकारवाही अघि बढाउन सजिलो थिएन। त्यहाँका मानिसहरूले बोलेको कुरो बुझ्नै गार्हो हुन्थ्यो। यसले गर्दा हरेक कुरो पनि प्रहरी कार्यालयका वरिष्ठहरूसंग सोधिरहन्थे। त्यसपछि उजुरी दिनआउने महिला, पीडित महिलाहरूको समस्या, गुनासो बुझ्न मध्यस्थकर्ता राख्न थाले।

बालविवाह र श्रीमान् र श्रीमतीबीचको झगडाका घटनाको उजुरीहरू बढी आउँथ्यो। महिला र बालबालिका क्षेत्रमा काम गर्ने धेरै गैरसरकारी संस्थाहरू थिए।ती सबैसँग समन्वय गरेर काम गरँे। सचेततामूलक अभियान पनि सञ्चालन गरियो।

जुम्लाको भाषा, संस्कृति, जनताको मनोविज्ञान र समाजलाई बुझ्ने अवसर पाइयो। जागिर नखाएको भए जुम्ला पुग्ने थिएन जस्तो पनि लाग्दथ्यो। गार्होसार्हो, सिकाई र रमाइलो हरहिसाबले जुम्लाको ११ महिनाको बसाँई महत्वपूर्ण लाग्यो। मलाई प्रहरी सेवामा अघि बढ्न आवश्यक अनुभव बटुल्न जुम्लाको पोस्टिङ धेरै अर्थमा उपयोगी रह्यो।

ट्राफिक प्रहरीमा रहेर दुई वर्ष काम गरेको अनुभव कस्तो रह्यो ?

जुम्लाबाट एकैचोटी ट्राफिक महाशाखा सिहदरबारमा सरुवा भए। त्यहाँ एक वर्ष काम गरे। त्यहाँबाट थापाथलीस्थित ट्राफिक शाखामा सरुवा भयो। त्यहाँ पनि एक वर्ष काम गरें। जुनसुकै काम पनि शुरुमा गार्हो पछि विस्तारै सजिलो हुने हो।

आठ, नौ घण्टा उभिएर काम गर्नुपर्ने, पानी खान र शौचालय जान नै समस्या हुने गर्दथ्यो। महिनावारी हुँदा त काम गर्न निकै गार्हो हुन्थ्यो। ट्राफिक प्रहरीको अनुभव पनि बेग्लै रह्यो।

महिला र बालबालिका सेलमा कस्तो प्रकारको उजुरीहरू बढी आउथ्यो ?

ट्राफिक प्रहरीमा दुई वर्ष काम गरेपछि प्रहरी परिसर ललितपुरको महिला र बालबालिका सेवा केन्द्रको प्रमुखको रुपमा चारवर्ष काम गरें। विशेषगरी घरेलु हिंसा, मापसे गरेर कुटपिट, साइ्र्रबर क्राईम, बहुविवाह, वैदैशिक रोजगारबाट सिर्जित समस्याहरूको उजरी बढी मात्रामा आउथ्यो। दैनिक दुई चारवटा समस्याहरू आईरहन्थ्यो। बलात्कारका घटनाहरू पनि केही मात्रामा आउथ्यो।

सबै घटनाको समाधान अदालतले मात्र दिँदैन। त्यसले गर्दा श्रीमान श्रीमतीबीच झै झगडा, सामान्य कुटपिटका समस्यालाई सम्झाएर बुझाएर समाधान गर्थे। फौजदारी कसुरहरू त मुद्दा चलाउन परिहाल्यो। शहरीकरण, विकाससंगै हिंसाका घटनाहरू फरक फरक हुँदै गएका छ। समाजले भन्न डरले पनि धेरै घटनाहरू बाहिर आउँदैन भन्छन्। हर उपाय गरेपनि समाधान नभएपछि मात्र मानिसहरू प्रहरी कहाँ आउने गर्दछन्। त्यतिबेला सम्म समस्या निकै जटिल भइसकेको हुन्थ्यो।

अहिलेसम्मको अनुभवले प्रहरी प्रशासनलाई जनताप्रति अझ नजिक बनाउन के गर्नुपर्ला ?

नेपाली समाज विविधतापूर्ण छ। भूगोलको फरकसंगै भाषा, संस्कृति, समाज त्यही अनुरुपको मनोविज्ञान रहेको छ। यसलाई आत्मसात् गरेर प्रहरीको तालिम समाजशास्त्रको ज्ञान, संस्कृतिको ज्ञान दिनुपर्ने खाँचो छ। काममा खटाउने क्रममा जसरी घरपायक, श्रीमान् र श्रीमतीलाई एकै ठाउँमा वा नजिकै ठाउँमा खटाइन्छ, त्यसरी नै सम्बन्धित ठाउँको भाषा, संस्कृति र ठाउँ बुभ्mने व्यक्तिलाई खटाउँदा कामकारवाही अझ प्रभावकारी हुनेछ।प्रहरी सेवा भित्र समावेशीकरणलाई बढावा दिनुपर्दछ।

यसले प्रहरी सबैको साझा भएको भाव सम्प्रेषण गर्न टेवा पुर्याउने छ। न्यायपूर्ण समाज स्थापनामा टेवा पुग्ने छ। अर्कोतर्फ प्रहरी प्रशासनले जनताको विश्वास जित्न, अपनत्व प्रदान गर्न पनि यसले सघाउने छ।

नेपाल प्रहरीमा महिलाहरूलाई आकर्षित गर्न के गर्नुपर्ला ?

नेपाल प्रहरीमा महिलाको प्रवेशका लागि आरक्षणका साथै विभिन्न किसिमका योजना ल्याइनु पर्दछ। सरुवा र बढुवा कार्यसम्पादनको आधारमा गर्ने कार्य प्रणालीलाई जोड दिनुपर्दछ।प्रहरीको व्यवहारलाई समयसापेक्ष रूपमा सुधार गर्र्दै लैजानुपर्दछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्