फिल्म भनेको तयारी चाउचाउ होइन : फूलमान बल



करिब दुई दशकदेखि रंग पत्रकारितामा आबद्ध फूलमान बल पत्रकारितामा मात्र सीतिम छैनन्, फिल्म निर्देशनमा पनि उनले नाम बनाएका छन्। साहित्य लेखनमा पनि रुचि राख्ने उनको काजल खातुन कथा र महाभारतकी मैच्याङ कविता संग्रह प्रकाशित छन् भने सोनाम ग्याल्मो, मेहेन्दोमाया तथा ताग्मो ल्हुइज्यिन नाटकको लेखन कार्य गरेका छन्। युवा मोती पुरस्कार २०७६ बाट पुरस्कृत उनले सन् २०१२ मै सेलफोन नामक सर्ट फिल्म निर्देशन गरेका थिए। फूलमानले पछिल्लो पटक फिचर फिल्म निरफूल निर्देशन गरेका छन्, जुन आगामी फागुन ३० गते अल नेपाल रिलिज हुँदै छ। नेपाल समाचापत्रका लागि रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?

अहिले निरफूलको पोस्ट प्रोडक्सनको काम भइरहेको छ। भर्खरै एउटा गीत रिलिज गरियो। जसले राम्रो रेस्पोन्स पाएको छ। फिल्म रिलिजको तयारी भइरहेको छ, अहिले फिल्मकै लागि दौडध्ूपमा छु।

निरफूल के हो?

नेपाली फिल्ममा समाज आएन, फिल्मको विषय हल्का भयो भन्ने गुनासो पहिलेदेखिकै हो। निरफूलमा मैले समाजकै कथा टिपेर राखेको छु। यसमा भूकम्पले भौतिक क्षति पुर्याउनुका साथै कसरी मानिसहरूको संवेग, मन र मानसिकतामा धक्का दिएको छ भन्ने कुरा समावेश छन्।

निरफूल निर्माणको सोच कसरी आयो?

२०७२ को भूकम्पपछिका रियल घटनाले निरफूल बनाउन अभिप्रेरित गरेको हो। यो दुईवटा वास्तविक कथामा आधारित फिल्म हो। त्यतिबेला मिडियामार्फत् आएका दुई कथाले मन छोयो।

यी घटनामाथि केही न केही गर्नुपर्छ भन्ने सोच भइरह्यो। यसलाई प्रभावकारी ढंगले मानिससामू पुर्याउने माध्यम फिल्म नै हुन सक्छ भनेर फिल्म निर्माणको सोच आएको हो।

एउटा अनुभवी पत्रकारले बनाएको फिल्मबाट फरक आशा के राख्न सकिन्छ?

फिल्मको विषयवस्तु नै फरक छ। यो समाज रिफ्लेक्ट गर्ने समाजको कथा हो। समाज भनेपछि व्यक्ति, प्रेम, मानवीय संवेदना आदिका कुरा छन्। भूकम्पले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरा छन्। कन्टेन्ट र क्राफ्टवाइज रियालिस्टिक अप्रोचबाट फिल्म बनेको छ।

यस्ता खालका कथामा फिल्म बनेको देखिँदैन। यही विषयमा केही सर्ट मुभि बने, तर फिचर फिल्म नै बनेको छैन। नेपाली फिल्म क्षेत्रमा कथा पस्कने तरिकामाथि बहस आइरहेको र कथा पस्कने क्रममा कही न कही चिप्लिएको भन्ने कुरा आइरहेको बेला यस फिल्मबाट पक्कै फरक महशुस हुनेछ।

दर्शकबाट कस्तो अपेक्षा गर्नुभएको छ?

म त फिल्मलाई लिएर उत्साहित छु। फिल्मबाट दर्शकले खोजेकोजस्तो रियल र मौलिक टेस्ट पाउनुहुनेछ। सधैं उही खालका फिल्म हेरिरहनुभएका दर्शकले निरपूmलबाट नयाँपन पाउनुहुनेछ भन्ने लाग्छ।

लामो समयदेखि रंग पत्रकारितामा हुनुहुन्छ, फिल्म निर्माण र रिलिजको सवालमा फिल्म क्षेत्रबाट कत्तिको सहयोग पाइरहनुभएको छ?

साथसपोर्ट पाउनका लागि राम्रो काम गर्नुपर्छ। तर कतिपय अवस्थामा भने राम्रो काम गर्दा पनि सही ढंगबाट मास प्रोडक्टलाई दर्शकसामू पुर्याउनका लागि विभिन्न समस्या आउँछन्। नेपाली फिल्म क्षेत्रमा फिल्म रिलिजको समयमा आउने परम्परागत समस्या रहेका छन्।

नेपाली फिल्म क्षेत्रमा एकअर्काको साथ र सहयोगमा काम गर्ने वातावरण अझै डेभलप भएको छैन। म सञ्चारकर्मी भएका कारण विशेष प्रिभिलेज हुन्छ भन्ने लाग्दैन हुनुपर्छ भनेको पनि होइन।

फिल्म बनाउन गार्हो रहेछ कि चलाउन?

नेपाली फिल्म उद्योगमा पहिलेदेखिकै भनाइ हो फिल्म बनाउनभन्दा चलाउन गाह«ो भन्ने। म भर्खरै मास मिडियाको एक क्षेत्रबाट अर्को क्षेत्रमा हामफालेको मान्छे हुँ।

फिल्मलाई राज्यले कुन प्राथमिकतामा राखेको छ भन्ने कुराहरू पनि आउँछ, हलको कुराहरू पनि आउँछ। विभिन्न कुरालाई जोडेर हेर्दा फिल्म बनाउनभन्दा चलाउन गाह«ो हो कि जस्तो लाग्छ।

एउटा बलिउड फिल्म आउने भएपछि तपाईंले रिलिज डेट तोक्नुभएकै दिन फागुन ३० गते अर्को फिल्म पनि त्यही दिनका लागि सरेको छ। यसले निरफूललाई केही फरक पार्ला कि नपार्ला?

यी दुवै फिल्म फरक टेस्टका फिल्महरू हुन्। फिल्मकतिवटा रिलिज हुँदै छ भन्दा पनि कस्तो–कस्तो टेस्टको फिल्म हो भन्ने कुरामा फरक पर्छ जस्तो मलाई लाग्छ। निरफूलमा नयाँ काम गरेका कारण डराइ राख्नुपर्ने अवस्था छैन।

पत्रकार हुनुहुन्छ। साहित्य सिर्जना पनि गर्नुहुन्छ अनि फिल्म निर्देशन पनि गरिरहनुभएको छ। यी तिनै कार्यलाई कसरी समय व्यवस्थापन गर्नुहुन्छ?

निरफूल डेढ दुई वर्षअघिको प्रोजेक्ट हो, अहिले तीन महिनाअघि फिल्म शुरु गरेर रिलिज डेट तोक्ने चलन छ। फिल्म भनेको तयारी चाउचाउ होइन, भुलुक्क उमालेर चाहेको बेलामा खानका लागि। फिल्म भनेको सिर्जना हो, अभिव्यक्ति हो।

नीरफूल रियल कहानीमा आधारित भएका कारण यसमा भूकम्पपछिदेखि नै अलिअलि गर्दै पटकथाको काम गरिरहेको थिएँ। निर्देशनको क्रममा पनि हतार गरिनँ। पोस्ट प्रोडक्सनको समयमा भने अफिसबाट छुट्टि लिएर गरेको हँु। त्यसकारण समय व्यवस्थापनमा गाह्रो भएन।

साहित्य भनेको हिँड्दाहिँड्दै दिमागमा आउने कुरा हुन् भने फुर्सदको समयमा रचना गर्छु। मेरो अन्य व्यवसाय नभएका कारण यी तीन कुरालाई सँगै लान खास गाह्रो भएन।

साहित्य, फिल्म र पत्रकारिता यी तीनै कुराहरूमा केही फरक भए पनि यी तीनै मास कम्युनिकेसनका माध्यम हुन्। यी तीनमध्ये पनि फिल्म सबैभन्दा प्रभावकारी मास मिडियाको टुल हो।

अबको योजना के छ?

पत्रकारिता र साहित्य लेखन त निरन्तर छँदै छ। मेरो नाटक सोनाम ग्याल्मो धरानको एक नाट्य टोलीले प्रदर्शनका लागि अभ्यास गरिरहेको छ, इलामको लोकनाथ फेस्टिबलमा ताग्मो ल्हुइज्यिन छनोट भएको छ। यो सँगसँगै अर्को एक नयाँ फिल्मका लागि स्क्रीप्ट हेर्दै छु।

प्रतिक्रिया दिनुहोस्