डोटीको बुडरमा ट्रमा कर्नर स्थापना हुने



विमल विष्ट, डोटी।

डोटी जिल्लाको जोरायल गाउँपालिका–२ बुडरमा ट्रमा कर्नर स्थापना हुने भएको छ। दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी नेपाल सरकारले डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित छतिवन स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापना गर्न लागिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देश्नालय दिपायल राजपुरले जनाएको छ।

दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने एक मात्र प्रमुख भीमदत्त राजमार्गमा पर्ने उक्त छतिवन स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापन गर्न लागिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देश्नालय दिपायल राजपुरका डा. भूषण मिश्रले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘राजमार्ग नजिक रहेका स्वास्थ्य चौकीहरूमा ट्रमा कर्नर खोल्ने सरकारको नीतिअनुसार हामीले पनि बुडरमा ट्रमा कर्नर खोल्ने तयारी गरेका छौँ, दुर्घटनामा परेकाहरूलाई राहत हुनेछ।’

बुडरमा ट्रमा कर्नर स्थापना हुने भएपछि भीमदत्त राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई निकै राहत हुने जोरायल गाउँपालिका–२ बुडरका स्थानीय गणेशबहादुर मल्लले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यो राजमार्गका विभिन्न ठाउँमा जहिलेनी ठुल्ठूला सवारी दुर्घटना हुने गर्दछन्, समयमै उपचार नपाउँदा कतिपयको ज्यान नै जाने गरेको छ, ट्रमा कर्नर स्थापना भएपछि घाइतेलाई राहत हुनेछ।’

बुडरमा ट्रमा कर्नर स्थापना हुने भएपछि त्यहाँका स्थानीयवासीहरू निकै खुुसी भएको स्थानीय शिक्षक चन्द्रबहादुर भण्डारीले बताउनुभयो। सरकारले डोटीको बुडरस्थित छतिवन स्वास्थ्य चौकीसहित त्यहाँका अन्य पहाडी जिल्ला बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी बझाङको बित्थडचिर गाउँपालिकास्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको बूढीगंगा नगरपालिकास्थित बह्मतोला स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापना गर्ने भएको हो। प्रत्येक ठाउँमा ट्रमा कर्नर स्थापनाका लागि सम्बन्धित स्थानीय तहमा एक लाख ७० हजारका दरले बजेट विनियोजन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्