सम्पादकको “मुटु”



चिरञ्जीवी मास्के

प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा कुनै न कुनै ढङ्गले भैरहन्छ। अहिले मात्र हैन, जति बेला ओली तत्कालीन नेकपा एमालेको स्थायी समितिका नेतामात्र हुनुहुन्थ्यो र अझ त्यो भन्दाअघि जति बेला उहाँ तत्कालीन मालेको नेता हुनुहुन्थ्यो, उहाँको चर्चा विभिन्न कारणले हुने गरेको थियो।

कामको कारणले, भूमिकाको कारणले, उखान टुक्काको कारणले, निर्णय क्षमताको कारणले, अडानको कारणले र अदम्य साहस र आत्मबलको कारणले प्रधानमन्त्री ओलीको चर्चा हुने गरेको छ।

हुन त दोष पत्रकारको मात्र छैन, किनभने हाम्रो प्रवृत्ति आलोचनालाई मात्र पत्रकारिता ठान्ने र नकारात्मकतालाई मात्र समाचार मान्ने खालको छ। सम्पादकहरूले आफ्नो अखबार बेच्न नकारात्मकताको मात्र खोजी गरे त के बिगारे ? हाम्रा श्रोता र पाठकको प्रवृत्तिकै कारण कोही मुटु भएको सम्पादक देखिए भने पनि पत्रकारिताको क्षेत्रमा टिक्नै नसक्ने गरी बजारिन्छन्।

पञ्चायतकालमा कालकोठरीभित्र मृत्युसँग जुधिरहँदा होस् या १० बर्से द्वन्द्वको समयमा, तत्कालीन माओवादीको आक्रमणबाट आफ्ना नेता–कार्यकर्ता प्रताडित भैरहँदा नै किन नहोस्, ओलीले आफ्नो साहस र निर्णय क्षमतामा ह्रास आउन दिएनन्।

पञ्चायती कालमा केन्द्रीय कारागारको कालकोठरीमा मृत्युसँग जुधिरहँदा उनी भन्ने गर्थे– ‘म अहिले मर्दिन, किनभने मैले अझै धेरै काम गर्नु छ।’ राष्ट्र र जनताप्रति उनको त्यो लगावकै परिणाम मान्नुपर्छ, उनी त्यति बेलामात्र हैन यति बेला पनि मृत्युसँग जुधिरहेका छन् र अदम्य साहसका साथ देश र जनताप्रति समर्पित हुँदै विकास र समृद्धिको अभियानमा सरिक बनेका छन्।

के चीनबाट ल्याइने नेपालीलाई राख्ने वैकल्पिक ठाउँ र उपचारको उचित व्यवस्थापनको लागि सुझाव प्रस्तुत गर्न सकिँदैन ? वा उनीहरूको स्वास्थ्य सुरक्षा चीनमै हुन्छ भने उनीहरूका अभिभावकलाईत्यसबारे सचेत गराउन आफ्ना लेख, समाचार, कार्टुन, फोटोलाई त्यसतर्फ केन्द्रित गर्न सकिँदैन ? सम्पादकहरूको मुटु हेर्ने बेला यही हो।

प्रधानमन्त्री ओलीको चर्चाको क्रम सम्पादकहरूको मुटुसँग समेत जोडिन पुग्यो। कुनै कार्यक्रममा प्रधानमन्त्री ओलीले भनिदिनुभयो– ‘सरकारले गरेका राम्रा कामको बारेमा लेख्न त सम्पादकहरूको मुटु नै छैन।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि मुटुको बहस यति तीव्र बन्यो कि लेखमा, समाचारमा, भाषणमा, कार्टुनमा सबैतिर मुटु देखिन थाल्यो। तर विडम्बना ⁄ मुटुको बहसले यति धेरै तीव्रता पाउँदा पनि हाम्रा सम्पादकहरूको मुटु भने कतै देखिएन। अर्थात् सरकारले गरेका राम्रा कामका चर्चा फेरि पनि हुन सकेन।

मुटुको बहसले बजार तताइरहेकै बेला प्रधानमन्त्री ओली आफैंले सम्पादकहरूको मुटु छाम्ने निर्णय गर्नुभएछ र सिंहदरबारमा बोलाएर भलाकुसारी गर्नुभयो।
सम्पादकहरूसँगको त्यो भलाकुसारी सरकारले अभियानको रूपमा अगाडि बढाएको विकास र समृद्धिको लागि पक्कै पनि सहयोगी बन्ने नै छ।

किनभने त्यो भेटघाट र छलफलमा प्रधानमन्त्री ओलीले आफ्ना भावना साट्दै सम्पादकहरूको मुटु आफैंले छाम्न भ्याउनुभएको छ। प्रधानमन्त्री ओलीलाई धेरैले निरंकुश, आफ्ना कुरामात्र भन्ने, भावना नभएको आदि आरोप लगाउँदै आएका छन्।

तर ओलीले सम्पादकहरूसँगको भेटमा दुई घण्टाभन्दा बढी समय सम्पादकहरूको कुरा सुनेका छन् र आफूले झन्डै एक घण्टामात्र बोलेका छन्। आफ्ना भावना सम्पादहरूसँग साटेका छन्। यसले के कुरा देखाउँछ भने, प्रधानमन्त्री ओली निरंकुश हैन भावनात्मक छन्। उनको भावना सम्पादकले बुझ्नुपर्छ, सम्पादकले मुटुको प्रयोग गर्नुपर्छ।

मुटुको प्रयोग केमा गर्ने ? सम्पादकहरूको प्रतिप्रश्न हुन सक्छ यो। तर प्रधानमन्त्री केपी ओलीले सम्पादकहरूसँग आफ्ना भावना भावनात्मकरूपमै साटिसकेको अवस्थामा मुटु के र प्रयोग केमा भन्ने प्रश्न पक्कै गौण बनिसकेको छ। अर्थात् मुटुको प्रयोग सरकारको कामसँग जोडिनुपर्यो।

पत्रकारितालाई सरकारको स्थायी प्रतिपक्ष भनिन्छ। यो स्वाभाविक पनि हो। सरकारको बारेमा कसैले खरो ढङ्गले समीक्षा गर्न सक्छ भने त्यो पत्रकारिताको माध्यमबाट पत्रकारहरूले नै गर्न सक्छन्। तर खरो समीक्षाको अर्थ सरकारको आलोचना, नकारात्मकताको खोजी र सकारात्मक कामको बेवास्तामात्र त पक्कै हैन होला।

पत्रकारिता सरकारको स्थायी प्रतिपक्षको अर्थ सरकारले गरेको राम्रो कामको समाचार नै नबन्ने भन्ने हो भने त्यो मुटु नभएको सोचाइ नै हुन्छ। किनभने मुटु हुनेसँग भावना हुन्छ र भावनामा सकेसम्म नकारात्मक कुराले प्रवेश नै पाउँदैन।

सरकारले सबै राम्रो गरेको छ पक्कै हैन, राम्रा काम थोरै भएका छन् तर विगतमा जस्तो बिग्रिएको पनि केही छैन। यो प्रश्न अब आमनागरिकको पनि हो कि मुटु भएको सम्पादक कोही हुनुहुन्छ भने सरकारले गरेका राम्रा कामको बारेमा चर्चा गर्ने सन्तुलन देखाऊ र काम हुन नसकेको विषयमा सुझावसहितको सुधार प्रस्ताव प्रस्तुत गरौं।

प्रधानमन्त्री केपी ओलीले स्पष्ट शब्दमा भनिसक्नुभएको छ, सम्पादकहरूले एकोहोरो बलिङ मात्र गरेपछि सरकारले एकाध ब्याटिङ गर्नुपरेको हो। सरकार र पत्रकारको पक्ष–प्रतिपक्ष भूमिका भनेको सरकार र राजनीतिक दलको जस्तो पक्ष–प्रतिपक्षवाला सम्बन्ध पक्कै हैन।

कतिपय राष्ट्रिय महत्वका सवालमा तिक्ततापूर्ण सम्बन्ध रहेको सरकार र प्रतिपक्ष दलहरूबीच त सहकार्य हुन्छ भने पत्रकारहरूले सकारात्मक भूमिकासहितको स्थायी प्रतिपक्षको भूमिका खेल्नुपर्ने आममान्यता नै हो।

सरकार र पत्रकारबीचको सम्बन्ध भनेको मैत्रीपूर्ण क्रिकेट खेलजस्तै हो। जहाँ हार–जितभन्दा पनि आपसी कसिलो सम्बन्ध, भाइचारा र स्नेहको अभिवृद्धिमा जोड दिइएको हुन्छ। यस्तो खेलमा एकोहोरो बलिङले हैरान गर्न लागेपछि एकाध ब्याटिङ हुनु स्वाभाविक नै हो।

हुन त दोष पत्रकारको मात्र छैन, किनभने हाम्रो प्रवृत्ति आलोचनालाई मात्र पत्रकारिता ठान्ने र नकारात्मकतालाई मात्र समाचार मान्ने खालको छ। सम्पादकहरूले आफ्नो अखबार बेच्न नकारात्मकताको मात्र खोजी गरे त के बिगारे ?

हाम्रा श्रोता र पाठकको प्रवृत्तिकै कारण कोही मुटु भएको सम्पादक देखिए भने पनि पत्रकारिताको क्षेत्रमा टिक्नै नसक्ने गरी बजारिन्छन्। जसको मुटु छैन, जसले भावना पहिल्याउँदैन, जहाँ सकारात्मकता भेटिँदैन हाई–हाई उसैले भेट्छ।

पछिल्लो एउटा उदाहरण हेरौं न, कोरोना भाइरसको सन्त्रासले विश्व नै भयभित भैरहेको अवस्थामा नेपालका केही अब्बल पत्रिकाले त्यसलाई पनि ओली सरकारको आलोचना गर्ने रामवाणको रूपमा प्रयोग गरिरहेका छन्।

चीनमा रहेका नेपालीलाई खुरुक्क हवाईजहाज लगी टपक्क टिपेर ल्याउने अवस्था होला त ? उनीहरूलाई नेपाल ल्याएपछिको अवस्था र उनीहरूलाई राख्ने ठाउँको व्यवस्थापनमा सरकारले बेहोरिरहेको हैरानीको बारेमा पत्रकारहरू जानकार छैनन् र ?

पक्कै छन्। तर विडम्बना !आफूलाई सरकारको स्थायी प्रतिपक्ष ठान्ने अब्बल पत्रकारहरूले स्थायी प्रतिपक्षको अर्थ नकारात्मकता नै हो भन्ने सुगा रटाइलाई आत्मसात् गर्दै सरकारको बाध्यता या अन्य अवस्थाको विश्लेषणविना नै एकोहोरो चीनबाट किन विद्यार्थी फर्काउन ढिलाइ भैरहेको छ भन्ने प्रश्नमात्र उठाइरहेका छन्।

के यो अवस्थामा पत्रकारहरूले चीनबाट फर्काइने नेपालीहरूलाई राख्ने ठाउँको व्यवस्थापनमा सहजता होस् भनेर भूमिका खेल्नुपर्दैन ? के चीनबाट ल्याइने नेपालीलाई राख्ने वैकल्पिक ठाउँ र उपचारको उचित व्यवस्थापनको लागि सुझाव प्रस्तुत गर्न सकिँदैन ?

वा उनीहरूको स्वास्थ्य सुरक्षा चीनमै हुन्छ भने उनीहरूका अभिभावकलाई त्यसबारे सचेत गराउन आफ्ना लेख, समाचार, कार्टुन, फोटोलाई त्यसतर्फ केन्द्रित गर्न सकिँदैन ? सम्पादकहरूको मुटु हेर्ने बेला यही हो। यस्तो अवस्थामा पनि सम्पादकहरूले सजगता देखाएनन् भने प्रधानमन्त्री केपी ओलीले मात्र हैन सबैले भन्नेछन्– सम्पादकहरूको मुटु नै छैन।

अहिले सरकारले गरिरहेका कामहरूमा सबैभन्दा बढी चर्चा एमसीसी, ललिता निवास भ्रष्टाचार काण्ड, पानीजहाज, भारतसँगको सीमा विवाद आदिको हुँदै आएको छ। यी विषयहरूमा सरकारले गरेको सकारात्मक वा नकारात्मक प्रयत्न, उल्लिखित कुराहरूले नेपाल र नेपालीमा पार्ने प्रभाव, विकास र समृद्धिमा पार्ने दीर्घकालीन असरजस्ता कुरामा खोजी गर्ने दायित्व पत्रकारको हैन र ?

दुई तिहाइको सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीमा केही कमी–कमजोरी छ भने त्यो कुरा पत्रकारहरूले विभिन्न भेटघाट र छलफलमा समेत राख्न सक्छन्। वा समाचार तथा लेखहरूमा समेत सकारात्मक ढङ्गले राख्न सक्छन्।

तर सरकारको कामको बारेमा सकारात्मकतालाई पटक्कै नहेर्ने, खाली नकारात्मकताको मात्र खोजी गर्ने हो भने त्यसले नेकपाको दुई तिहाइ सरकारलाई मात्र नोक्सान हुँदैन, समग्र मुलुकलाई नै नोक्सान पुग्छ।

आफू बसेको ढुङ्गामा कुनै एकजनाले प्वाल बनाएर अरूलाई डुबाउँछु भन्ने ठान्छ भने उसले आफूसमेत डुब्छु भन्ने कुरा पनि भुल्नुहुँदैन।प्रधानमन्त्री केपी ओलीको केही कमजोरी थियो या सल्लाहकारले केही कमी–कमजोरी गरेको थियो भने पनि त्यसको सुधारको लागि प्रधानमन्त्री स्वयंले प्रयत्न थालिसक्नुभएको छ।

राजनीतिक तहमा, सामाजिक तहमा र सञ्चारको क्षेत्रमा छलफल, बहस र प्रत्यक्ष भेटघाटमार्फत प्रधानमन्त्री ओलीले आफ्नो भावना स्पष्टरूपमा राख्नुभएको छ। त्यसैले अब सम्पादकहरूले पनि आफ्नो मुटुलाई उचित ढङ्गले धड्काउँदै मुलुक स्वस्थ बनाउन प्रयत्न गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्