सिन्धुपाल्चोकमा कोरोनाका बिरामी भेटिएको आशंका

रोग पहिचानका लागि गाउँपालिकाले मन्त्रालयलाई गुहार्यो



न्युज अफ नेपाल, काठमाडौं ।

सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएको आशंका गरिएको छ ।कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएपछि यस्तो आशंका गरिएको हो ।

यस्ता लक्षण भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार पठाएर सहयोगका लागि गुहार अनुरोध गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।

संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ तर त्यहाँ चीनसँग आवतजावत गर्ने बाटो भने छैन ।

गुम्बाबस्तीका करिब केही जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो ।पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले पहिचानमा सघाइदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्