छुरा प्रहारबाट दाजुभाइ नै घाइते



पर्वत, (नेस)।

पर्वतको फलेबास नगरपालिकाको वडा नं ३ मा सोमबार राति छुरा प्रहारबाट सहोदर दाजुभाइ गम्भीर घाइते भएका छन्। स्थानीय पसलमा मोबाइलको रिचार्ज किन्न पुगेका बेला सोमबार राति साढे ८ बजे २८ वर्षीय विष्णु नेपाली र २३ वर्षीय मिलन नेपालीमाथि छुरा प्रहार गरिएको हो।

अँध्यारोमा बालेको टर्च लाइटको प्रकाश आफ्नो अनुहारमा परेको निहुँमा विवाद हुँदै गएपछि सोही ठाउँका ३८ वर्षीय देवबहादुर नेपालीले छुरा प्रहार गरेका थिए। घाइते दाजुभाइको गण्डकी मेडिकल कलेज पोखरामामा उपचार भइरहेको छ।

छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा नेपालीलाई गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। अभियुक्त नेपालीका विरुद्ध पर्वत जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धानको काम गरिरहेको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्