विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



विष्णु तिमिल्सिना, बर्दिया ।

चाइना फाउन्डेसनको सहयोग र सफा सुनौलो नेपाल नामक संस्था काठमाडौंद्धारा राजापुर, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका ५ वटा विद्यालयका आधारभुत कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

राजापुर स्थित अमर शहिद दशरथ चन्द माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरणका लागि पहल तथा समन्वय गर्नु भएका नेपाल तरुण दलका पूर्व उपाध्यक्ष जन्मजय तिमिल्सिना प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि तिमिल्सिनाले शैक्षिक सामग्रीहरु विद्यार्थीलाई वितरण गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार तथा विद्यार्थी भर्नादरमा टिकाउ गराउन मद्दत पुग्ने बताउनु भयो ।

सो विद्यालयमा बाल कक्षादेखि ५ कक्षा सम्मका सबै २ सय १८ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । वितरण गरिएका शैक्षिक सामग्रीमा स्कुल ब्याग, नोट बुक, स्केल, पेन्सिल, ज्यामेट्री बक्स, कलर बक्सआदि रहेका छन् ।

राजापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रमण कुमार रेग्मीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य, विद्यार्थीहरु, संचारकर्मीहरु र सुनौलो नेपाल संस्थाका सचिव राकेश हमाल, कार्यक्रम संयोजक कृष्ण ढकाल र कानुन अधिकृत देवीराम उपाध्यायको सहभागिता रहेको थियो ।

त्यसै गरी यसअघि मधुवन नगरपालिका वडा नं. १ पत्थरभोजी अवस्थित जनजागृति आधारभुत विद्यालयका १ सय १५ जना, सरस्वती आधारभुत विद्यालय सोमलपुरका १ सय ८ जना र गेरुवा गाउँपालिका वडा नं. ५ सुखाड स्थित नवज्योति आधारभुत विद्यालयका ७६ जना, पशुपति उच्च माध्यमिक विद्यालय पथरैयाका १ सय ५७ जनालाई पनि ती सामग्रीहरु वितरण गरिएको कुरा सुनौलो नेपाल संस्थाका कानुन अधिकृत देवीराम उपाध्यायले जानकारी गराउनु भयो । साथै उहाँले संस्थाको शैक्षिक सामग्री सहयोग कार्यक्रमको सामाजिक परिक्षण पनि गराईएको कुरा बताउनु भयो ।

सुनौलो नेपाल संस्थाले चीनियाँ जनताको सहयोगमा नेपालका २२ वटा जिल्लामा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको कुरा सो संस्थाका सचिव राकेश हमालले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्