महिला हिंसाको प्रमुख कारण मादकपदार्थ



नेपाल समाचारपत्र, भद्रपुर।

झापामा हुने गरेका महिला हिंसाका घट्नामा मादकपदार्थ सेवन प्रमुख कारक मानिएको छ। जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तुलनामा यस्तो देखिएको हो।चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ सय ५५ निवेदन दर्ता भएका छन्।

उल्लेखित तथ्याङ्कबाट सबैभन्दा बढी ३६ दशमलव ८१ प्रतिशत मादकपदार्थ सेवन गरी पतिबाट हिंसा भएको पाइएको छ भने पतिबाहेक घरपरिवारका सदस्यबाट १८ दशमलव ५२ प्रतिशत हिंसामा परेका छन्।

त्यसैगरी, परिवारमा खानलाउन नदिएको साथै जीविकोपार्जनका लागि सहयोग नगरेको तर्फ ४ दशमलव ८७ प्रतिशत, सामाजिक सञ्जालमा अमर्यादित फोटो तथा विषयवस्तुको फोटो प्रकाशनमा ४ दशमलव १ प्रतिशत देखिएको छ भने अन्यमा ३२ दशमलव ९२ प्रतिशत रहेको पाइएको छ।

प्रहरीमा आएका निवेदनमध्ये सबैभन्दा बढी २५ देखि ४० उमेर समूहका महिला हिंसामा परेको देखिएको छ। सो उमेरका ५० दशमलव ४८ प्रतिशत देखिएको छ भने सबैभन्दा कम ६० वर्षभन्दा माथि १ प्रतिशत यसको सिकार भएका छन्।

त्यसैगरी, १८ देखि २५ वर्ष उमेरका २५ दशमलव ५३ प्रतिशत, ४० देखि ६० वर्षका १८ दशमलव १२ प्रतिशत र ४ दशमलव ८७ प्रतिशत १८ वर्ष मुनिका रहेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४।७५ मा २ सय ६० वटा आएका ठाडो उजुरीमध्ये २ सय ४७ वटामा मेलमिलाप भएको छ भने ४ वटा निवेदन मुद्दाका लागि जिल्ला अदालत गएको पाइएको छ। बाँकी निवेदन फस्र्योेट भएका छैनन्।

त्यसैगरी, २०७५।७६ मा ३ सय ३७ वटा निवेदन प्रहरीमा दर्ता भएपछि २ सय ५९ वटा निवेदन मेलमिलापबाट समाधान भएका थिए । ८ वटा निवेदन अदालतमा गए भने २८ निवेदन फस्र्योट हुन बाँकी रहेका छन्।

महिलामाथि हुने हिंसामा मदिराजन्य तथा लागूऔषध दव्र्यसनी, आत्मनिर्भर नहुँदाको हेपाइ, अपहेलना, आपसी मनमुटाव, सामाजिक सञ्जाल प्रयोगको कारण, आर्थिक अवस्था, पुरुषवादी दृष्टिकोण, पुरातनवादी कुसंस्कारले जकडिएको समाज र परम्परा, महिलाहरूको उत्पादनमूलक स्रोत साधनहरूमा पहुँच र नियन्त्रणको कमी, शिक्षाको कमी र चेतनाको अभाव नै मादकपदार्थ सेवन रहेको प्रहरीले निकालेको निष्कर्षमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्