शारदा नगरपालिकामा स्तनपान कक्ष स्थापना



नेपाल समाचारपत्र, सल्यान।

सल्यानको शारदा नगरपालिकाले आफ्नो कार्यालयमा स्तपान कक्ष स्थापना गरेको छ। कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा नगरपालिकासम्म पुग्ने सुत्केरीले आफ्नो शिशुलाई सहज रूपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको नगरपालिकाले जनाएको छ। विशेषगरी सुत्केरी र दुई वर्षमुनिका शिशुलाई केन्द्रित गरेर स्तनपान कक्ष स्थापना गरिएको हो।

नगरपालिकाको कार्यालयको एउटा कोठामा स्तनपान कक्ष स्थापना गरिएको नगर प्रमुख सुरेश अधिकारीले बताउनुभयो। आमाहरूले सार्वजनिका ठाउँमा लजाएर बच्चालाई स्तनपान नगराउँदा कुपोषणको सिकार हुने भएकाले समयमै स्तनपान गराऊन् भन्ने उद्देश्यले कार्यालयमा गोप्य स्तनपान कक्षको स्थापना गरेको उहाँले बताउनुभयो।

कार्यालयमा स्तनपान कक्ष निर्माणसँगै अब साना बच्चा लिएर कार्यालयमा आउने महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुने भएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘महिला सेवाग्राही कार्यालयमा आउनुहुन्छ, लजाएर बच्चालाई स्तनपान नै गराउन मान्नुहुन्न, बच्चाले स्तनपान गर्न खोजिरहेको हुन्छ तर आमाहरूले स्तनपान गराउन चाहनुहुन्न, यसै कुरालाई मध्यनजर गर्दै हामीले स्तनपान कक्ष निर्माण गरेका छौं, अब यो समस्या हटनेछ।

शिशुसहित आउने महिलाहरूले लाजले गर्दा समयमा दूध नचुसाउने भएकाले यसको महत्व राखेर गोप्य स्तनपान कक्षको निर्माण गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्