ओस्कारमा कोरियाको पारासाइटले मार्यो बाजी



संसारभरको फिल्म जगत्को प्रतिष्ठित र सर्वोत्कृष्ट अवार्डको मानिने ओस्कार एकेडेमी अवार्डको सन् २०२० को संस्करण सम्पन्न भएको छ। अमेरिकाको लस एन्जलसस्थित हलिउड एन्ड हाइल्यान्ड सेन्टरको डब्ली थिएटरमा सम्पन्न ९२आंै संस्करणको अवार्ड समारोहमा कोरियन फिल्म पारासाइटले सर्वोत्कृष्ट फिल्मको अवार्ड चुमेको छ भने यहीँ फिल्मबाट बान्ग जून–होकोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड चुमेका छन्।

एजेन्सीका अनुसार पारासाइटले विदेशी भाषाको फिल्म र पटकथासमेत गरी चार मुख्य अवार्ड हात पारेको छ। ओस्कारमा विदेशी भाषाको फिल्मले फिचर फिल्मको अवार्ड जितेको यो पहिलोपटक हो। फिल्मका निर्देशकले यी अवार्ड जितेपछि आफू निःशब्द भएको बताएका थिए।

यसैगरी जोकरबाट वाकिन फिनेक्सले अभिनेताको अवार्ड चुमे भने यही फिल्मले ओरिजिनल साउन्ड स्कोरको अवार्ड पनि चुमेको छ। फिल्म जुडीबाट रेने जेल्वेगरले अभिनेत्रीको अवार्ड चुम्दा ब्राड पिटले सहअभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सहअभिनेत्रीको अवार्ड चुमिन्।

पिटले आफूले जितेको आवर्ड आफ्नो बच्चाका लागि समर्पित गरेको बताएका थिए भने लोराले सहअभिनेत्रीको अवार्ड चुम्दा भावुक हुँदै यसका लागि आफ्ना मातापितालाई आभार व्यक्त गरेकी थिइन्।

यसैगरी फिल्म रकेटम्यानको आई एम गोना लव मी अगेनले ओरिजिनल सङको अवार्ड जित्दा ट्वाई स्टोरी ४ ले एनिमेटेड फिल्म, हेयर लवले एनिमेटेड सर्ट फिल्म, जोजो र्याबिटले एडप्टेड स्क्रिनप्ले, द नेबर्स वीडोले लाइभ एक्सन सर्ट फिल्म, र अमेरिकन फ्याक्ट्रीले डकुमेन्ट्री फिचर फिल्मको अवार्ड चुमे।

समारोहमा लर्निङ टु स्केटबोर्ड ईन अ वार जोनले डकुमेन्ट्री सर्ट सब्जेक्ट फिल्म, डोनाल्ड सिल्वेस्टरले ध्वनि सम्पादनको, फिल्म नाइन्टिजन सेभेन्टिनले ध्वनि मिश्रण, छायांकन तथा भिजुअल इफेक्ट, फोर्ड भी फरारीले सम्पादन र बम्बशेलले श्रृंगार तथा केश सज्जाको अवार्ड जितेको छ।

हलिउड तथा अन्य देशका सेलिब्रेटीहरूको सहभागिता रहेको समारोहमा पाँचपटक ग्रामी अवार्ड चुमेकी गायिका विली इलिसले आफ्नो सांगीतिक प्रस्तुती दिएकी थिइन् भने अन्य कलाकारले रोचक प्रस्तुती दिँदै कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्