तिलोत्तमाका सात वडा शून्य पोलिथिन घोषित



बुटवल, (नेस)।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. ५ (मणिग्राम क्षेत्र) शून्य पोलिथिन क्षेत्र घोषित भएको छ। यो सँगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शून्य पोलिथिन क्षेत्र घोषणा भएका छन्।

नगरपालिकालाई शून्य पोलिथिन नगर र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानअन्तर्गत सोमबार वडा नं. ५ शून्य पोलिथिन वडा घोषणा गरिएको हो। सोमबार मणिग्राम चोकमा आयोजित सार्वजनिक समारोहमा वडाभित्रका सातवटै टोल विकास संस्थाका अध्यक्षहरू र वडा अध्यक्ष चेतनारायण भण्डारी लगायतले प्ले कार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शून्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो।

सो अवसरमा बोल्दै राष्ट्रिय सभाका सदस्य एवं वडावासी गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाले शुरू गरेको शून्य पोलिथिन नगर बनाउने अभियान सामान्य विषय नभई सिंगो देशकै लागि उदाहरणीय प्रयास भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिनु भयो।

वातावरण प्रदुषण र जलवायु परिवर्तनमा प्लास्टिकजन्य फोहोर मुख्य समस्या रहेको उल्लेख गर्दै भट्टराईले वातावरण संरक्षण र माटोको उर्वराशक्ति जोगाउन सिंगो देशलाई शून्य पोलिथिन बनाउनुपर्नेमा जोड दिनुभयो।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले चार महिनामा दैनिक दुई घण्टाका दरले करिब एक लाख नगरवासीले पाँच करोड रूपियाँ बराबरको श्रमदान गरेर सातवटा वडालाई शून्य पोलिथिन बनाउन सफल भएको बताउनु भयो।

नगरवासीले आफ्नो दैनिक आनीबनीमा परिवर्तन गर्नुपर्ने आग्रह गर्दै उहाँले बाहिरका मान्छेले जथाभावी प्लास्टिक र पोलिथिनजन्य फोहोर फालेमा नगद जरिवाना गर्ने गरी कार्यविधि बनेको र छिट्टै कार्यान्वयनमा आउने बताउनु भयो।

नगरभित्र एक हजार बढी डस्ट बिन वितरण गरिएको र खुलारूपमा पोलिथिन नफाल्न सचेतनामूलक साइन बोर्ड टाँगिएकाले अब जथाभावी फाल्नेलाई नगर प्रहरीले कारवाही गर्ने बताउनुभयो।

तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले नगरपालिकाको केन्द्र भाग मणिग्राम क्षेत्रसहित वडालाई शून्य पोलिथिन घोषणा कार्यान्वयनमा टोल विकास संस्था,आमा समूह, विद्यालय, कलेज र उद्योगी–व्यवसायीको इमानदारी चाहिने कुरा बताउनुभयो।

तिलोत्तमालाई शून्य पोलिथिन बनाउने अभियानको आयोजक संस्था दिगो वातावरणीय तथा पारिस्थितीय प्रणाली व्यवस्थापन (सिम) नेपालका निपेश ढाका अधिकारीले चार महिनाको अवधिमा तिलोत्तमाका १७ वटै वडाबाट वर्षौंदेखि याँकिएका ३५ हजार बोरा प्लास्टिक र पोलिथिन संकलन भइसकेको र अझै एक तिहाइ संकलन गर्न बाँकी रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्