कार्कीको हत्या आफ्नै कामदारबाट

हत्या र आत्महत्याको रहस्य खुलेन



नेपाल समाचारपत्र, काठमाडौं।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीलाई घरकै कामदारले आक्रमण गरी हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।ललितपुरको सानेपास्थित घरमा जडित सीसीटिभी फुटेजमा घरेलु कामदार विजय चौधरीले आक्रमण गरेको देखिएकाले हत्यामा उसैको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको हो।

प्रहरीका अनुसार कार्की परिवार र घरेलु कामदार चौधरीबीच राम्रै सम्बन्ध रहेको थियो। ‘उक्त सीसीटीभी फुटेजअनुसार शुरूमा भान्साकोठामा रहेको हतियारले टाउकोमा प्रहार गर्दा मुना भुइँमा ढलेपछि चौधरीले घाँटीमा समातेर घिसार्दै लगेको देखिन्छ।’ –सो घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई बताए।

ती प्रहरी अधिकृतका अनुसार धेरै नबोल्ने र लगाएको काम खुरुखुरु गर्ने चौधरीले किन मुनामाथि आक्रमण गरे भन्ने विषय रहस्यमै रहेको छ।
‘मुनामाथि पटक–पटक आक्रमण गरेपछि ऊ आत्तिएको र झ्यालबाट यताउता हेर्दै कहिले अगाडि बढ्ने, कहिले पछाडि हट्ने हर्कत गरेको दृश्य सीसीटिभी फुटेजमा कैद भएको देखिन्छ।’ –ती अनुसन्धान अधिकृतले जानकारी दिए।

निज चौधरीले पटक–पटक यताउता गरेपछि हातमा डोरी लिएर भान्साकोठाको टेबलमा चढेर सिलिङमा रहेको रडमा पासो लगाई आत्महत्या गरेको देखिन्छ। झुन्डिएको केही समयमै डोरी चुँडिएपछि भुइँमा लडेको अवस्थामा प्रहरीले उसको शव बरामद गरेको थियो।

छिमेकीको खबरपछि घटनास्थल पुग्दा मुनाले अलिअलि सास फेरेको देखेको प्रहरीले नजिकैको स्टार अस्पताल पुर्याएको थियो। मुनालाई अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकहरूले मृत घोषित गरेका थिए।

मृतक मुनाका श्रीमान् अर्जुन कार्की विभिन्न मन्त्रालयमा सचिव हुनुभएको थियो। सधैंजसो गल्फ खेल्न जाने कार्की सोमबार बिहान गल्फमा नगई पशुपतिमन्दिर फर्कंदै गर्दा श्रीमतीलाई बेहोस अवस्थामा अस्पताल पुर्याएको जानकारी पाएपछि स्टार अस्पताल पुग्नुभएको थियो।

कार्कीका एक छोरा र दुई छोरी छन्। दुवै छोरी अमेरिकामा अध्ययन गर्दै आएको बताइएको छ। कार्कीका १२ वर्षीय छोरा विद्यालय हिँडेपछि उक्त घटना भएको प्रहरीले जनाएको छ।

अर्की घरेलु कामदार किशोरी कार्कीका छोरालाई विद्यालय पुर्याउन गएका बेला उक्त घटना भएको छिमेकी श्याम अर्यालले जानकारी दिनुभयो।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले मृतक मुनाको पोस्टमार्टम भर्खर सकिएकाले उक्त रिपोर्ट नआएसम्म घटनाबारे केही भन्न नसकिने बताउँदै उक्त घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो।

श्रीमतीको मृत्युपछि भावविह्वल बनेका पूर्वसचिव कार्कीले उक्त घटना चौधरीबाटै भएको आशंका गर्नुभएको छ। आफूले सानैदेखि छोराछोरीसरह माया गरेको व्यक्तिबाट उक्त घटना भएको आशंका प्र्रहरीले गर्दा उहाँ थप मूर्छित हुनुभएको थियो।

कार्कीले चौधरीलाई चालक अनुमतिपत्रसमेत दिलाएर आफ्नै चालकको रूपमा प्रयोग गर्ने गर्नुभएको थियो। आफैले विश्वास गरेको व्यक्तिबाट विश्वासघात भएको भन्दै उहाँ पटक–पटक भावविह्वल बन्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्