प्रदेश १ मा  कांग्रेसद्वारा संसद् बैठक अवरुद्ध



सरोज यादव, विराटनगर।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक  पनि अवरुद्ध गरेको छ। आइतबारको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए।प्रतिपक्षका सांसद उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बस्न अनुरोध गर्नुभएको थियो।
सभामुखले पटक–पटक बस्न अनुरोध गरे पनि कांग्रेसका सांसदहरूले बस्न अटेर गरेपछि सभामुख भण्डारीले आफ्ना असन्तुष्टि बैठकमा राख्न प्रमुख प्रतिपक्षी दलका सचेतक सुयर्माराज राईलाई बोल्न समय दिनुभएको थियो। संसदमा बोल्दै सचेतक राईले नेकपाको संघीय सरकारले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो।

नेकपाको सरकारले ललिता निवास प्रकरणमा आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिने प्रयास गरेका कारण आन्दोलनमा उत्रनुपरेको उहाँले बताउनुभयो। राईले ललिता निवास प्रकरणमा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वमुख्यसचिव लीलामणि पौडेल, नेकपाका नेता विष्णु पौडेलका छोरा नवीन पौडेललगायतलाई पनि मुद्दा चलाउन माग गर्नुभयो।
 सरकारले दोषीहरूलाई कानुनी दायरामा नल्याउन्जेलसम्म संसद् बैठक अवरुद्ध गरिरहने कांग्रेस संसदीय दलको निर्णय भएको राईले बताउनुभयो।  प्रमुख प्रतिपक्षीदलको तर्फबाट सचेतक राईले भर्ना राखिसकेपछि पुनः कांग्रेसका सांसदले उभिएर संसद् अवरुद्ध पारेका थिए।

सभामुख भण्डारीले सचेतकले आफ्ना कुरा राखिसकेका कारण बस्न आग्रह गर्नुभएको थियो। तर, कांग्रेसका सांसदले उभिएर विरोध जनाइरहेपछि सभामुख भण्डारीले सोमबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्