पैदल यात्री कहिलेसम्म असुरक्षित ?



काठमाडौंलगायत देशका ठूला शहरहरूमा न त राम्ररी देखिने खालका जेब्रा क्रसिङ छन्, न त ट्राफिक लाइट नै। सवारी चालकको लापरबाही र ट्राफिक ज्ञानको अभावका कारण दैनिक दुर्घटनाका खबरहरू सुन्नमा आइरहन्छन्। ‘नो पार्किङ’, ‘नो स्टप’, ‘उछिन्न निषेध’ जस्ता ट्राफिक चिह्न, डिभाइडर, जेब्रा क्रसिङमा रंग मेटिएकाले र पुनः रंगरोगन नहुँदा पनि सडक दुर्घटना बढेका छन्।

यस्तै सडकका राजमार्गहरूमा रहेको खाल्डाखुल्डीले पनि दुर्घटना निम्तिरहेका छन्। सडक किनाराका ढल र नालाहरू खुल्लै छाडिएकाले दुर्घटना हुँदा ठूलो मानवीय क्षति हुने सम्भवना पनि छ। सडक दुर्घटनामा नेपालमा वार्षिक लगभग ३ हजारजनाको ज्यान जाने गरेको भयावह स्थिति छ। भारतमा पनि वार्षिक १.५ लाख मानिसको ज्यान यस्तै सडक दुर्घटनामा हुने गरको तथ्यांक पाइन्छ।

विश्वमा सामान्य रोग लागेका बिरामीले भन्दा बढी स्वस्थ मानिसले यसरी सडकमा ज्यान गुमाइरहेका छन्। मानिस हातखुट्टा भाँचिएर, शरीर अंगभंग भएर पनि बाँच्न सक्छन्।

हेलमेटको प्रयोग नभएर टाउकोमा चोट लाग्नाले ज्यान गुमाउनेहरूको संख्या पनि उस्तै चिन्तनीय छ। विश्वमा मृत्युका विविध कारणमध्ये सडक दुर्घटना आठौं कारण हो भने भारत तथा नेपालमा यो पहिलो कारण हो। जसले मानिसलाई आकस्मिक मृत्यु दिन्छ।

परिवार तथा समाजमा त्यसले पारेको दुष्प्रभाव तथा शोकको स्थितिले पनि समाजको विकास अवरुद्ध तुल्याइरहेको अवस्था छ। नागरिकको प्रयासले भन्दा सकृय सरकारी संलग्नताको जरुरी रहेको छ, जसको लागि रोड सेफ्टी काउन्सिल एकमात्र प्रस्थान विन्दु हुन सक्छ।

जहिल्यै पनि जेब्रा क्रसिङ, ट्राफिक लाइट तथा आकाशे पुलको प्रयोग गर्नुपर्दछ। एकैछिन्को अल्छ्याइँले आजीवन पछुताउनुपर्ने स्थिति निम्तिन सक्छ।अविभावकले नानीहरूलाई विद्यालयसम्म पुरर्याए पनि आफू अनि आफ्ना नानीहरू सुरक्षित बाटो काट्नका लागि केही सावधानी अप्नाउनुपर्दछ। बाटोको छेउ लागेर हिँड्नुपर्दछ। नानीहरूको हात आफ्नो बायाँ हातले समाएर हिँडाउनुपर्दछ।

सडकछेउभन्दा अलि पछाडि र परबाट सडकको दुवैतर्फबाट आउँदै गरेका सवारीसाधनलाई देख्न सक्ने गरी उभिनुपर्दछ। सडकमा हिँड्दा एकाधिक कार्य गर्नुहुँदैन। सडक प्रयोग गर्दा जिम्मेवारीपूर्वक, सावधानीसहित, सतर्क भएर यात्रा गरे कतिपय असुरक्षित अवस्थामा पनि सुरक्षित हुन सकिन्छ। सडक दुर्घटनाको पहिलो कारण भनेकै सडकको असचेत प्रयोग भएकाले हामी स्वयम् पनि सचेत रहनुपर्छ।

– पवन विश्वकर्मा, बाबियाचौर, सुर्खेत

प्रतिक्रिया दिनुहोस्