पर्यटनको प्रचूर सम्भावना र चुनौती



पुष्पप्रसाद भट्टराई

नेपालमा आउने पहिलो पर्यटक को थिए ? सामान्य ज्ञान पल्टाएर खोज्ने हो भने राजा अशोक सम्राट नेपाल भ्रमणमा आउने पहिलो पर्यटक थिए भन्ने उत्तर भेटिन्छ। जसले अशोक स्तम्भ बनाएर लुम्बिनीलाई परिचित गराएका थिए। उता क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउनुअघि नै नेपालमा कलाको अनुपम नमुना भक्तपुरमा न्यातपोल ठडिएको थियो।

अमेरिकामा काला जाति दास रहँदा हामी कला–संस्कृति र सभ्यता निर्माण गर्नमा व्यस्त थियौं। एसियाका कतिपय देशको जन्म नहुँदै नेपालमा व्यावसायिकरुपमा धार्मिक पर्यटनको शुरुवात भएको थियो। पचासको दशकमा चितवनमा जंगल सफारी भइरहँदा एसियाका धेरै मुलुकमा पर्यटनको अवधारणा जन्मिएकै थिएन। हाम्रो पर्यटन व्यावसाय कति पुरानो रहेछ। यति पुरानो इतिहास सुन्दा पनि आज जो कोहीलाई अचम्म लाग्छ।

तराईको गर्मीमा फलेको आँप खाएर नसकिँदै पहाडमा सुन्तलाका शीतल केस्रा छोडाउन पुगिन्छ। पहाडका सुन्तला छोडाएर खाई नसकिँदै हिमालका पोषिला स्याउ टिप्न पुगिन्छ। साँचिच्कै भन्ने हो भने हिमाल, पहाड र तराईको परिवेशीय विविधताले नेपालको पर्यटनलाई अथाह शक्ति र सामथ्र्य दिएको छ। यस्ता क्षेत्रलाई पदयात्रामा बदल्न सके सुनमा सुगन्ध हुन्छ।

नेपालमा सन् १९५१ प्छि मात्रै विदेशी पर्यटकहरूलाई खुल्ला गरिएको हो। त्यसपछि मात्रै नेपालमा व्यवस्थित रुपमा पर्यटनका गतिविधिहरू शुरु भएका हुन्। शुरुमा त हिमाल चढ्न आउने पर्वतारोही नै नेपालका पर्यटक हुन्। शुरु यसरी भए पनि ६ दशकभन्दा लामो पर्यटकीय यात्रामा थुप्रै परिवर्तन नभएको होइन। विदेशी मुद्रा आर्जन र रोजगारी प्रवद्र्धनका हिसाबले राष्ट्रिय अर्थतन्त्रमा यसको महत्वपूर्ण भूमिका रहेको छ।

सन् १९७२ बाट पर्यटन विकासको गुरुयोजना बनाइयो। लामो समयसम्म उही गुरुयोजनालाई आधार बनाउँदा उचित लाभ भने लिन सकिएन। त्यसैले बदलिँदो परिस्थितिअनुसार नेपालको पर्यटन विकास प्रक्रियालाई मार्गनिर्देशन गर्नका लागि दीर्घकालीन रणनीतिक योजनाको अभाव महसुस गरियो। त्यो पनि बनाइयो। क्रमैसँग पर्यटन व्यवसायसम्बन्धी हान, नाट्टा, नाथम, टान, नाराजस्ता सरकारी एवं गैरसरकारी संघसंस्था स्थापना गरिए।

नेपालमा पर्यटनको राम्रो सम्भावना देखेरै सन् १९५७ मा पर्यटन विकास बोर्डको स्थापना गरियो। यो व्यवसायलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण अंग मानियो। यसो हुँदाहुँदै पनि नेपालको पर्यटनले अपेक्षा गरेअनुरुप विकास गर्न भने नसकेको यथार्थ हो। यसको मुख्य कारण झन्डै ६ दशक लामो राजनीतिक संक्रमण, द्वन्द्व, अस्थिरता, सत्ता बार्गेनिङजस्ता विषयले ठाउँ लिन पुग्दा यो अवस्था सिर्जना भएको हो भन्ने धेरैको ठम्याइ छ।

हुन पनि करिब ६५ वर्षको योजना इतिहासमा १५ वटा समृद्धिका योजना पनि बने। तर योजनाबद्धरुपमा नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना नबन्दा देखिने गरी नेपालीको पर्यटकीय जीवनशैलीमा सुधार भएन। न त पर्यटन क्षेत्रले आशातीत फड्को मार्न नै सक्यो। अझै पनि वर्षभरिमा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिएको छैन। यसलाई ठूलो उपलब्धि भन्ने आधार देखिँदैन।

अनुपम एवं अद्वितीय प्राकृतिक तथा सांस्कृतिक स्रोत नेपालका मुख्य पर्यटकीय सम्पदा हुन्। विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ वटा त नेपालमा नै छन्। हिमालहरू साहसिक पर्यटन गतिविधिका प्रमुख स्रोत पनि हुन्। बर्सेनि लाखौं पर्यटकलाई आकर्षण गर्ने सांस्कृतिक र धार्मिक सम्पदाहरू जीवित संस्कृतिका रुपमा संसारमै सुपरिचित छन्। नेपालका ग्रामीण क्षेत्रको आतिथ्यता र रीतिरिवाजमा पर्यटक लोभ्याउने जादु छ।

होमस्टे, जंगल सफारी, पदयात्राजस्ता पर्यटकीय गतिविधि बढाउन सके पिछडिएका क्षेत्रलाई विकासको मूलधारमा ल्याउने राम्रो अवसर छ। यहाँ मौसममा आधारित भएर सस्तोमा पर्यटन उद्योग सञ्चालन गर्न सकिन्छ। धार्मिक पर्यटनको राम्रो बजार छ। जनकपुर, लुम्बिनी, पशुपतिनाथजस्ता ठाउँ धार्मिक पर्यटनका लागि सदावहार गन्तव्य छन्। यहाँको माटोमा थुप्रै जातीय कला–संस्कृतिको सुगन्ध छ।

यहाँको हावापानी पर्यटकका लागि मात्रै होइन जैविक विविधताका लागि पनि पोषिलो र मलिलो छ। ३५ थरीका वनमा ५ हजार ८ सय प्रजातिका वनस्पतिहरूको हरियाली, १७० जातका पशु, ८७२ जातका चराहरूको गुञ्जन, ६०० प्रजातिका रंगीन पुतलीको सुन्दर बगैंचा र ७०० थरीका औषधिजन्य जडीबुटीका सुन्दर फाँटको अवलोकनले त्यसको आफैं पुष्टि गरेका छन्।

अब नेपालका सबै जिल्लाका आ–आफ्ना विशेषतालाई टिपेर पर्यटकीय गन्तव्य बनाउन जरुरी छ। सबै ठाउँले थुप्रै पर्यटकीय सम्भावना बोकेका छन्। पछिल्लो समय आन्तरिक पर्यटकको विकास भएसँगै नयाँ पर्यटकीय गन्तव्य बनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका थप एक सयवटा स्थान पहिचान गरिएको छ।

लामो अन्तरालपछि पर्यटकीय गन्तव्यहरू पहिचान गरी आर्थिक समृद्धि भित्र्याउन सरकारले पनि महत्वाकांक्षी योजना अगाडि सारेको छ। नयाँ गन्तव्यका रुपमा घोषणा गरिएका ठाउँको पूर्वाधार विकास गर्न सके लक्ष्यभन्दा बढी पर्यटक भित्र्याउन सकिने सम्भावना त्यत्तिकै छ। सबै मौसम र हरेक किसिमका पर्यटकका लागि नेपाल उपयुक्त गन्तव्य भएको सन्देशसहित भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भएको छ। नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित वर्षैभरि सातै प्रदेशमा अभियान सञ्चालन गर्ने तयारी सरकारले गरेको छ।

यो समृद्ध नेपालको खाका कोर्ने सुनौलो अवसर पनि हो। पर्यटकलाई एकपटक मात्रै होइन बारम्बार आइरहने वातावरण बनाउन पनि यो भ्रमण वर्ष कोसेढुङ्गा साबित बन्न सक्छ। समृद्ध नेपाल सुखी नेपालीको चाहना सरकारले अघि सारेको राष्ट्रको चौतर्फी विकाससँग लक्षित नारा हो। यसकै एउटा पाटोका रुपमा नेपाल भ्रमण वर्षलाई लिइएको छ।

नेपाल आमाले आफ्नो मायालु पोल्टामा थुप्रै सम्भावनाहरू पोक्याएर राखेकी छन्। आकांक्षाहरू छर्न पाखापखेरा छन्। जहाँ तराईको गर्मीमा फलेको आँप खाएर नसकिँदै पहाडमा सुन्तलाका शीतल केस्रा छोडाउन पुगिन्छ। पहाडका सुन्तला छोडाएर खाई नसकिँदै हिमालका पोषिला स्याउ टिप्न पुगिन्छ। साँचिच्कै भन्ने हो भने हिमाल, पहाड र तराईको परिवेशीय विविधताले नेपालको पर्यटनलाई अथाह शक्ति र सामथ्र्य दिएको छ।

यस्ता क्षेत्रलाई पदयात्रामा बदल्न सके सुनमा सुगन्ध हुन्छ। संसारमा यस्तो ५ वटै जलवायु भएको हावापानी विरलै पाइन्छ। भ्रमणमा रमाउन आएका पर्यटकका लागि यहाँभन्दा सौभाग्यको अवसर कुनै हुन्छ भने त्यो नेपाल हो। बरु गर्न बाँकी कामचाहिँ प्रचारप्रसार र पुनर्निर्माणकै देखिएको छ। २०७२ सालको भूकम्प र त्यसपछिका लगातार पराकम्पनले पर्यटन क्षेत्रलाई पनि लगातार हल्लाइरहेको छ।

अत्यन्त छोटो समय आएर अत्यन्त लामो समयसम्म असर परेको प्रमाण पर्यटकीय गन्तव्यका भत्किएका संरचनाहरू साक्षी छन्। कतिपयले पुनर्संरचनाको नयाँ जीवन पाएका छन् भने अझै पनि कतिपय पुनर्निर्माणको पर्खाइमा छन्। भूकम्पकै कारण जनधन र व्यवसायमा क्षति पुग्यो। पदयात्राका क्षेत्रहरू नष्ट भए। सञ्चारमाध्यमले पनि अति भयावह र विनाशका समाचार देखाइरहे। यसले असुरक्षित देशको छवि बनाइदियो।

सरकारले नै भ्रमणका मुख्य ठाउँमा घुम्न रोक लगाइदियो। बिमा कम्पनीले नेपाल आउन चाहेका पर्यटकको बिमा गर्न छाडिदिए। हवाई टिकट रद्द गरियो। यसले लामो समयसम्म देश–विदेशमा नेपाल पर्यटकीय गन्तव्यका लागि असुरक्षित छ भन्ने गलत सन्देश प्रवाह गरेको छ। यस्ता सन्देश बेलैमा मेटाउन पहल गरिनुपर्छ। विभिन्न ढङ्गले विभेदमा परेका तथा उपयुक्त अवसर नपाएका व्यक्ति र समुदायलाई प्राथमिकताका साथ पर्यटन क्षेत्रमा प्रवेश गराउनुपर्छ।

पर्यटन पेसा र व्यवसायबाट सामाजिक प्रतिष्ठा उठ्न सक्ने स्थिति सिर्जना गरी यस पेसामा स्थायित्व प्रदान गर्न सके समाजले आर्थिक उन्नतिको जरा हाल्न सक्छ।संसारका सबै मानिसले बराबरी पाउने चिज भनेकै समय हो। अरू देशले समयको पालावली मिलाएर आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउन सक्छन् भने हामी तिनीहरूको व्यवस्थापन गर्न सक्छौं कि सक्दैनौं। हाम्रो व्यवस्थापकीय कमजोरी केमा छ ? सबै पक्षले सोच्ने बेला आएको छ।

तपाईंले कहिल्यै पनि पहिलो राम्रो प्रभाव पार्न दोस्रो पटक अवसर पाउनुहुने छैन। हाम्रो घरमा आएका पाहुनालाई कति दिन राख्ने भन्ने कुरा हाम्रो व्यवहारमा भर पर्छ। हामीले दिन सक्ने सुविधामा निर्भर रहन्छ। हाम्रो आतिथ्यतामा कमजोरी भयो र त्यसको नकारात्मक प्रभाव पर्यटकमा पर्यो भने हामीप्रति वितृष्णा र घृणा पैदा हुन गई सधैँका लागि पाहुना सत्कारको बाटो बन्द हुन सक्छ।

विदेशीलाई नेपाल राम्रो छ, घुम्न आऊ भनेर मात्रै हुँदैन। यसका लागि घुम्न आएका पर्यटकलाई कति सुविधा र सन्तुष्टि दिन सकिन्छ, त्यसमा भर पर्छ। काठमाडौं, पोखरा, चितवन, सगरमाथा, लुम्बिनी, इलामबाहेक अन्य ठाउँको पहिचान गरी ती ठाउँलाई पर्यटकीय हब बनाउन जरुरी छ। किनभने नेपालमा पर्यटन विकास र आर्थिक समृद्धिको अपार सम्भावना छ। भनिन्छ, पर्यटन सपनाको खेती पनि हो। सपनाको खेती गर्दा पर्यटनको पूर्वाधार बलियो हुनुपर्छ।

आवास, खानपिन, यातायात, आतिथ्य सत्कार र सञ्चार सुविधाको उपलब्धताले उनीहरूको बसाइ र खर्चको निर्धारण गर्दछ। पर्यटनसम्बन्धी विश्वव्यापी मान्यता के हो भने, पर्यटक रमाइलो र सन्तुष्टिकै लागि आएका हुन्छन्। हाम्रो ध्यान त्यतातिर जानै पर्छ।

सन् २०२० भित्रै २० लाख पर्यटक भित्र्याउन भने निकै चुनौतीपूर्ण देखिन्छ। स्थानीय निकायहरू सक्रिय नभएसम्म, निजी क्षेत्रलाई थप जिम्मेवारी नदिएसम्म, आन्तरिक तथा बाह्य पर्यटनको विकासले गति लिन कठिन छ।

भौतिक संरचनाको अभाव, प्रचारप्रसारमा ढिलासुस्ती, कमजोर एवं असुरक्षित सडक यात्रा, त्रिभुवन विमानस्थलको झन्झटिलो आवागमन अवस्था, आन्तरिक हवाई यातायातको कमी, मनोमानी पर्यटन शुल्क आदिले पर्यटन क्षेत्रको विकासमा प्रभाव पारिरहेको छ।

यसै गरी द्वन्द्व र भूकम्पको नकारात्मक प्रचार, फितलो अनुगमन, सम्पदाहरूको पुनर्निर्माणमा ढिलासुस्ती, पर्यटकीय अभिलेखको व्यवस्थापनमा उदासीनता, अस्पष्ट ट्रेकिङ रुटको निर्धारण, रात्रिकालीन पर्यटकका लागि शान्ति सुरक्षाको व्यवस्थापन र गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरको ब्रान्डिङजस्ता कारणले पर्यटन क्षेत्रको विकासमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। यसलाई सम्बन्धित निकायले बेलैमा ध्यान दिन सके २०२० पर्यटन वर्षको आधार वर्ष बन्न सक्छ। पर्यटक हाम्रा पाहुना हुन्, हृदयदेखि नै स्वागत गरौं।

 

प्रतिक्रिया दिनुहोस्