नाचघरलाई गर्व गर्न लायक संस्थान बनाइने



सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरका नवनियुक्त महाप्रबन्धक अशोक प्यासी राईले अबको सय दिनभित्र संस्थानमा प्रवेश गर्दा हरेकले गर्व गर्न लायकको संस्थान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

संस्थानको वर्तमान अवस्था, सुधारका योजना, भविष्यका कार्यक्रम र रणनीतिबारे जानकारी गराउन बुधबार नाचघरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राईले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। संस्थानबाट अथाह सम्भावना र अवसर भए तापनि राम्रोसँग व्यवस्थापन तथा स्पष्ट लक्ष्य, पारदर्शी र प्रभावकारी योजना लागू गरिन नसक्दा निकै आरोह अवरोहको सिकार हुनुपरेको राईले बताए।

उनले संस्थानले आयोजन गर्ने कार्यक्रममा मौलिकता, विविधता, व्यवस्थापन र प्रस्तुतिलाई उत्कृष्ट बनाइनुका साथै संस्थानलाई आर्थिकरूपमा पनि समृद्ध बनाउने, डिजिटल शाखा खडा गर्ने, संस्थानसँग सहकार्य गर्ने कलाकारलाई विधिगत मापदण्ड बनाई वेबसाइटमा सूचीकृत गरिने, देशले भ्रमण वर्ष मनाइरहँदा संस्थानबाट पनि नयाँ वर्ष २०७७ लाई लक्षित गरी सांस्कृतिक शो गरिने, संस्थानको प्रेक्षालयमा हुने प्रत्येक कार्यक्रममा टिभीसी प्रसारण गरिने, सातवटै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक महोत्सव आयोजन गरिने र उत्कृष्ट एक समूहलाई समेटेर काठमाडौंमा राष्ट्रिय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने जानकारी गराए।

साथै, संस्थानले प्रशिक्षण दिँदै आएका विधाहरूमा समय सापेक्ष पाठ्यक्रम दिइने, सीटीईभीटीबाट मान्यता प्राप्त गर्न पहल गरिने, विभिन्न मुलुकसँग सांस्कृतिक/लोकसांस्कृतिक आदान प्रदानका लागि कार्यक्रम आयोजन गरिने, वार्षिक कार्य तालिकाअनुसार कार्यक्रम तय गरिने र संस्थानमा रहेको ऋण क्रमशः घटाउनुका साथै जनगुनासोबारे पुनरावलोकन गरिने, महाप्रबन्धक निर्देशन पर्खिने चलन हटाउँदै चेन अफ कमान्डका आधारमा काम गरिने, संस्थानलाई क्रियाशील बनाउन थ्री इन वान (अनुभवी अग्रज प्रशिक्षक, क्रियाशील पुस्ताको परिणाममुखी काम र नयाँ पुस्तालाई प्रशिक्षण गरिने) प्रणाली अपनाउनेलगायतका भावी योजना महाप्रबन्धक राईले सुनाए।

कार्यक्रममा बोल्दै कार्यक्रम शाखा प्रमुख प्रभाकरदेव शर्माले आफूहरूले नियम कानुनमा बसेर काम गर्नुपर्ने, सरकारबाट संस्थानलाई प्राप्त रकम निकै नै कम रहेको तथा पार्किङको पनि व्यवस्था राम्रो नहुँदा संस्थान धेरैको रोजाइमा नपर्ने बताए।

त्यसै गरी, संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विगतका समयमा संस्थानले भोगेको समस्याको समाधानका लागि योजना बनाइएको र कतिपय पूरा भए पनि कतिपय पूरा हुन नसकेको बताए। ‘हामीसँग यति राम्रो भवन छ। सुधार्नुपर्ने पनि धेरै कुरा छन्। लोन पनि असाध्यै ठूलो छ। आगामी दिनमा संस्था लिलाममा नपुगोस्।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्