बीपी प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको आवेदन



सरोज यादव, विराटनगर।

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन हालेका छन्।प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको नाम आएसँगै उपकुलपति हुनेहरूको दौडधुपसमेत बढेको छ। आवेदन हाल्नेमा अधिकांश प्रतिष्ठानमा कार्यरत चिकित्सकहरू रहेका छन्। प्र

तिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले पनि प्रतिष्ठानमा कार्यरतलाई नै उपकुलपति बनाउनुपर्ने माग गरेका छन्।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा गठन गरेको तीन सदस्य उपकुलपति सिफारिस समिति (सर्च कमिटी) ले माघ ६ गते उपकुलपतिका लागि आवेदन मागेको थियो।

समितिको सूचनाका आधारमा प्रतिष्ठानको उपकुलतिका लागि १६ जनाले निवेदन दिएका छन्। जसमा ८ जना हाल प्रतिष्ठानमै कार्यरत रहेका छन् भने बाँकी प्रतिष्ठान बाहिरका रहेका छन्।

आवेदकमध्ये केही दिनभित्रै पुनः बैठक बसी कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष आवेदन परेका मध्ये तीन जनाको नाम सिफारिस गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले मुख्य प्रतिष्पर्धीका रूपमा प्राडा. गेहनाथ बराल, प्राडा. ज्ञानेन्द्र गिरी र प्राडा. गुरुप्रसाद खनाल रहेका छन्। प्रतिपक्ष दल नेपाली कांग्रेसले भने प्राडा. नारायणविक्रम थापालाई अगाडि सारेको छ।

प्रतिष्ठानको उपकुलपतिका लागि प्राडा. राजेन्द्रप्रसाद साह, प्राडा. विक्रमप्रसाद श्रेष्ठ, प्राडा. प्रल्हाद कार्की, प्राडा. वीएन यादव, प्राडा. पारसकुमार पोखरेल, प्राडा. सन्जीवकुमार शर्मा, प्राडा. सीएस अग्रवाल, प्राडा. गजेन्द्रप्रसाद रौनियार, प्राडा. बद्रीप्रदास बडु, प्राडा. आरपी बिच्छा, प्राडा. अनिल मिश्र डा. हरिशचन्द्र उप्रेतीलगायतले पनि आवेदन भरेका छन्।

देशकै ठूलो प्रतिष्ठानका उपकुलपतिका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छुट्टा–छुट्टै उम्मेदवार रहेका कारण उपकुलपति छान्नका लागि सर्च कमिटीलाई गाह्रो परिरहेको छ।

प्रधानमन्त्री र स्वास्थ्य मन्त्री र दाहालले फरक–फरक व्यक्तिलाई उपकुलपति बनाउने लाइनमा रहेको बेला प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा चिकित्सकहरूले भने प्रतिष्ठानभित्रैबाट उपकुपति बनाउनुपर्ने माग गरेका छन्।

प्रतिष्ठानको सामान्य प्रशासन शाखाका वरिष्ठ कर्मचारी तथा डेलिकेसन समितिका संयोजक महेश्वर राईले प्रतिष्ठानको विकासका लागि प्रतिष्ठानमै लामो समयदेखि सेवा गरेका प्रोफेसरलाई उपकुलपति बनाउनुपर्ने बताउनुभयो।

प्रतिष्ठानमै योग्य र क्षमतावान व्यक्ति हुँदाहुँदै कोही कसैसँग नजिक भएकै कारण निजी अस्पताल सञ्चालक तथा विवादित व्यक्तिलाई उपकुलपति आफूलाई मान्य नहुने उहाँको भनाइ छ।

उहाँले प्रतिष्ठानबाहिरको व्यक्ति उपकुपति हुँदा प्रतिष्ठान झन् धरासायी बन्ने बताउँदै प्रतिष्ठानको बारेमा राम्रो सँग बुझेको यहाँको समस्या समाधान गर्नका लागि पनि प्रतिष्ठानमै लामो समयदेखि काम गरिहेको व्यक्ति हुनैपर्ने तर्क गर्नुभयो।

प्रतिष्ठानका सामान्य सेवा सुविधामा लामो समयदेखि काम गरेका चिकित्सकको लागि राज्यले दिने उच्च सम्मान उपकुलपति पद रहेको भन्दै चिकित्सा तथा दन्त चिकित्सा शिक्षक समाजका अध्यक्ष डा. विष्णु पोखरेलको भनाइ छ।

उहाँले प्रतिष्ठानमा आउने उपकुलपति स्वास्थ्य सेवा, अध्ययन अध्यापनसँगै अनुसन्धानमा समेत दखल राख्ने सक्षम व्यक्ति हुनुपर्ने माग गर्नुभयो। प्रतिष्ठानले शिक्षा सेवासँगै अनुसन्धान पनि नेपालमा अब्बल प्रतिष्ठान भएको कारण पनि बाहिरबाट आउनेले प्रतिष्ठानमा काम गर्न नसक्ने उहाँको तर्क छ । कर्मचारी शिक्षक मात्र नभई स्थानीयहरूले समेत प्रतिष्ठानभित्रबाटै उपकुलपति बनाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्