स्वस्थ शहर धुलिखेल नगर



 

 

सन्दीप केसी

स्वास्थ्य संयोजक
धुलिखेल नगरपालिका

नेपालको संविधान २०७२ को धारा ३५ ले स्वास्थ्य सेवालाई जनताकोे मौलिक हकका रूपमा अंगीकार गरी आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित हुने छैनन् भनी सुनिश्चित गरेको पाइन्छ। त्यसै गरी धारा ३८ मा महिलाको हकका रूपमा उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ भनी उल्लेख गरिएको छ।

स्वच्छ, स्वस्थ धुलिखेल नगर निर्माणको लागि आगामी दिनमा यस नगरपालिकाले हेल्थपोस्टका भवनहरू निर्माण गर्ने, माहामारी नियन्त्रण कोष तथा कार्यक्रम रणनिति तयारी गरी एम्बुलेन्स सेवा विस्तार गर्ने, खोप सामग्री भण्डारण व्यवस्थापन गर्न आवश्यक व्यवस्थापन गर्ने, स्वास्थकर्मी तालिम तथा उत्प्रेरणाका नयाँ कार्यक्रम ल्याउने तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन अझ प्रभावकारी बनाउने नीति लिएको छ।

यसको कार्यान्वयन पक्ष सहजीकरण गर्न राज्यले प्रत्येक स्थानीय निकायमा स्वास्थ्यको छुट्टै संरचना खडा गरी विद्यमान स्वास्थ्य मन्त्रालयको सेवा प्रवाह गर्ने स्थानीय निकायहरू मार्फत प्रभावकारी सेवा दिई जनताको पहुँचमा सेवा पुर्याउने नीति अंगालेको देखिन्छ। यसै नीतिमा रहेर धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ३३ हजारभन्दा बढी जनसंख्यालाई गुणस्तरीय स्वाथ्यसेवा पुर्याउनु आफैमा चुनौतीपूर्ण कार्य रहेको छ।

धुलिखेल नगरपालिका स्वास्थ्य शाखा

धुलिखेल नगरपालिकाका सम्पूर्ण नगरबासीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न र अन्य स्वास्थ्यका विभिन्न गतिविधि सञ्चालन गर्न आवश्यक स्पष्ट कानुनी व्यवस्था गरी कार्य सम्पादन गर्न प्रशासकीय कार्यविधि नियमित गर्ने नियमावलीको नियम ३ ले दिएको अधिकार प्रयोग गरी धुलिखेल नगरसभाले आधारभूत स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन कार्यविधि २०७५ तर्जुमा गरी आधारभूत स्वास्थ्य तथा सरसफाइसम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।

ध्ुालिखेल नगरपालिकालाई स्वच्छ, सफा र प्रदूषणमुक्त पर्यटकीय नगरका रूपमा विकसित गराउने लक्ष्यका साथ यस नगरले २५ वर्षे भिजन पेपर निर्माण गर्दा होस् वा आवधिक योजना निर्माण गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकताको क्षेत्रमा समावेश गर्दै आएको छ।

गुणस्तरीय र विश्वसनीय स्वस्थ्य सेवालाई जनताको पहुँचमा लैजान नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य चौकीहरूमा स्तरोन्नति गर्ने, आधुनिक औजार उपकरण उपलब्ध गराउने कार्यमार्फत सेवा अभिवृद्धि गर्ने तथा गुणस्तर बढाउने कार्य गरिरहेको छ।

यस नगरपालिकामा अवस्थित आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले स्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहयोग गर्ने, स्वास्थ्य मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय तथा धुलिखेल अस्पताल एवं अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी स्वास्थ्यका नियमित क्रियाकलाप सञ्चालन गर्दै आएको छ।

नगरक्षेत्रका स्वास्थ्य संस्थामा नेपाल सरकारले निर्धारण गरेका औषधीहरू आपूर्ति गर्ने, संस्थाहरूमा उपलब्ध सेवा निरन्तरता र गुणस्तरको अनुगमन गर्ने, मासिक तथा निर्धारित समयमा प्रतिवेदन संकलन गर्ने, महामारी नियन्त्रणका लागि आरआरटी÷सीआरआरटी गठन गरी प्रभावकारी कार्यान्वयन गर्दै आएको छ।

धुलिखेल नगरपालिका स्वास्थ्य संस्था र क्रियाकलाप

यस नगरपालिकाभित्र मुलुककै गौरव बोकेको धुलिखेल अस्पताल रहेकाले नगरबासीले विशेषज्ञ सेवा लिन अन्यत्र धाउनुपर्ने अवस्था छैन भने सरकारी सेवा प्रदायक निकायका रूपमा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा ६ वटा स्वास्थ्य चौकीहरू र ३ वटा नगर स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रवाह गरिँदै आएको छ।

यस नगरपालिकाअन्तर्गत हाल वडा नं १ मा देवीटार स्वास्थ्य चौकी, वडा नं २ मा रबीओपी स्वास्थ्य चौकी, वडा नं ८ मा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ९ मा काभ्रे स्वास्थ्य चौकी, वडा नं १० मा शारदा बतासे स्वास्थ्य चौकी, वडा नं ११ मा पात्लेखेत स्वास्थ्य चौकी र वडा नं १२ मा शंखु पाटीचौर स्वास्थ्य चौकी रहेका छन्।

जनताको घर दैलोमा नै स्वास्थ्य सेवा उपलब्ध होस् भनी २२ वटा खोप केन्द्र, २६ वटा गाउँघर क्लिनिक तथा ७२ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत समुदायमा स्वास्थ्यका विविध क्रियाकलाप सञ्चालन गरिएका छन्।

त्यसै गरी धुलिखेल नगरपालिकामार्फत वडा नं ५ मा श्रीखण्डपुर नगर स्वास्थ्य केन्द्र, वडा नं ३ मा कुत्ताल नगर स्वास्थ्य केन्द्र र वडा नं ८ मा पकुचा नगर स्वास्थ्य केन्द्र रहेका छन्। नगरपालिकाको केन्द्रबाट टाढा रहेका वडा नं १ देवीटार स्वास्थ्य चौकी र वडा नं १२ शंखु पाटीचौर स्वास्थ्य चौकीमा २४ सै घण्टा सेवा प्रदान गरिने गरी सुरक्षित मातृत्व सेवा प्रदान गर्न बर्थिङ सेन्टरका रूपमा सेवा उपलब्ध गराइएको छ।

यसै नगरपालिकाको वडा नं ८ मा महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई घरदैलोमा नै स्वास्थ्यकर्मीको उपस्थितिमानमुना घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरिएको छ।आयुर्वेद सेवालाई समय सन्दर्भिकरूपमा विस्तार गर्दै लैजान धुलिखेल आयुर्वेद औषधालयलाई सेवा अभिवृद्धि गराउन नगरपालिकाले थप पहल कदमी गर्दै आएको छ।

हाल आयुर्वेद सेवालाई विस्तार गर्ने क्रममा वडा नं २ र वडा नं ११ मा मासिक आयुर्वेद घुम्ती क्लिनिक सेवा प्रदान गरी जेष्ठ नागरिक तथा नसर्ने रोगका बिरामीलाई सेवा प्रदान गरिँदै आएको छ। बस्तीस्तरमा विशेषज्ञ सेवा विस्तार गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी विभिन्न स्वास्थ्य सेवाका शिविर नगरपालिकाको समन्वय र सहयोगमा सञ्चालन गरिएका छन्।

स्वास्थ्य सेवाका क्रियाकलाप प्रभावकारी बनाउन आव २०७४÷०७५ मा नेपाल सरकारको सशर्त अनुदान ३ करोड ६० लाख ७५ हजार र नगरपालिकाबाट १५ लाख गरी ३ करोड १५ लाख ७५ हजार विनियोजन भएकामा नपुग रकमतर्फ ७४ लाख ४८ हजार तथा सुरक्षित मातृत्वतर्फ ३५ लाख थप रकम माग गरी ४ करोड ७३ लाख ८५ हजार खर्च गरिएको छ। त्यसै गरी यस आव २०७५/०७६ मा सबै बालबालिकालाई न्यानो कपडा वितरण, शंखु स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा निरन्तरता, माहामारी नियन्त्रण, औषधी उपकरण खरिद, एकीकृत स्वास्थ्य सूचना केन्द्र्र, नगर स्वास्थ्य केन्द्रमा जनशक्ति परिचालन तथा महिला स्वास्थ्य स्वयंसेविका मासिक बैठक खर्च र बीमाजस्ता कार्यक्रमहरू नगरपालिकाको ३० लाखभन्दा बढी आन्तरिक बजेट परिचालन गरी सञ्चालन भइरहेका छन्।

डेंगु, रेबिज, हेपाटाइटिसजस्ता माहामारीहरूको सफलतापूर्वक बिनामानवीय क्षति नियन्त्रण गर्न नगरपालिका स्वास्थ्य शाखा सफल रहेको छ। नियमित संस्थाको अनुगमन तथा मूल्यांकन कार्य गरिएको छ भने नर्सिङ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी सबै स्वास्थ्य संस्थामा महिलाको पाठेघर परीक्षण गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ।

ल्यान्सेट अनुसन्धान केन्द्रकी अध्यक्ष तथा हारवर्ड विश्वविद्यालयकी प्राध्यापक डा. माग्र्रेटक्रिकले गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्ने योजनासहित धुलिखेल नगरपालिका तथा यहाँका स्वास्थ्य संस्थाहरू भ्रमण गर्नुभएको छ। योग शिविर तथा योग शिक्षा कार्यक्रम तथा जडिबुटी परिचयात्मक कार्यक्रम सञ्चालन गरिएको छ।

नगर स्वास्थ्य केन्द्रलगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट ब्लड सुगर तथा गर्भ परीक्षणलगायतका प्रयोगशालाका आधारभूत सेवाहरू विस्तार गरिएका छन्। धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा नगरभरिका स्वास्थ्य सूचनाहरू उपलब्ध हुने गरी हेल्थ लर्निङ सेन्टरका रूपमा विकसित गर्न स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ।

नमुना क्रियाकलापहरू

नेपालभरिकै एकमात्र नमुना नगरपालिकाको रूपमा ईएलएमआईएस रिपोर्टिङ एकाइका रूपमा स्वास्थ्य भण्डार व्यवस्थापन रहेको छ भने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रतिमासिक बैठक खर्च ५ सयबाट बढाएर १ हजार पुर्याइएको छ। जनप्रतिनिधि आउनुअघि उनीहरूले रकम प्राप्त गरेको अवस्था थिएन।

७ लाखको महिला स्वास्थ्य स्वयंसेविका दुर्घटना बीमा गरिएको छ। उत्कृष्ट कार्य गर्ने स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गर्ने परिपाटीको शुरूआत गरिएको छ। प्राइम एफएम १०४ दशमलव ५मा हाम्रो स्वास्थ्य हाम्रै सरोकार कार्यक्रममार्फत जनचेतनामूलक स्वास्थ्य रेडियो कार्यक्रम हरेक सोमबार सवा ८ बजेदेखि आधा घण्टा सञ्चालन गरिएको छ।

स्वच्छ, स्वस्थ धुलिखेल नगर निर्माणका लागि आगामी दिनमा यस नगरपालिकाले हेल्थपोस्टका भवनहरू निर्माण गर्ने, माहामारी नियन्त्रण कोष तथा कार्यक्रम रणनीति तयारी गरी एम्बुलेन्स सेवा विस्तार गर्ने, खोप सामग्री भण्डारण व्यवस्थापन गर्न आवश्यक व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मी तालिम तथा उत्प्रेरणाका नयाँ कार्यक्रम ल्याउने तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन अझ प्रभावकारी बनाउने नीति लिएको छ।

३६ हजार २ सय ९६ जनसंख्या रहेको धुलिखेल नगरपालिकामा एक वर्षमुनिका बालबालिकाहरू ७ सय ७० जना रहेका छन्। धुलिखेल नगरपालिकाले विभिन्न चरणमा सरोकारवालाहरूको बैठक राखी विश्वव्यापीकरण तथा स्थानीयकरणको मिश्रित स्वरूपमा स्थानीय समस्यालाई स्थानीय तवरबाटै समाधान गर्दै विश्वमा आएका नयाँ खोजमा आधारित रहेर स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले रणनीतिका साथ लागेको छ।

धुलिखेल अस्पतालको समन्वय तथा कर्ड नेपाललगायत अन्य विभिन्न सहयोगी संस्थाको सहयोगमा धुलिखेल नगरपालिकाले हेल्दी सिटीको अवधारणामा नगर कार्यपालिकाको २०७६ साउन १२ गतेको निर्णयमार्फत कार्य प्रारम्भ गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्