ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु



विराटनगर, (नेस)।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० जरुवास्थित खोर्साने केराबारी सडक खण्डमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको प्रदेश नं.१–०२–००१ ख ८१०९ नं.को ट्रिपरले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्री सुन्दर हरैचा –१० बस्ने बाबुराम कार्कीलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते कार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। टिपर र टिपर–चालक मोरङ बुढीगंगा गाउँपालिका –१ बस्ने छत्रबहादुर झागरलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित कान्छी चौकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान कान्छी चौकस्थित भित्री सडक–खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १७प ७९४ नं.को मोटर साइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ७५५६९ मधुमल्ला चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका–६ बस्ने २६ वर्षीय डेकेस बि.क, पछाडि सवार उनकी श्रीमती सिर्जना बि.क, छोरा प्रतीक बि.क. र सासूआमा कल्पना ठटाल बि.क.घाइते हुनुभएको थियो।

घाइते चारै जनालाई उपचारको लागि विराटनगर नर्सिङ होम ल्याइएकोमा बिहान ११ बजे प्रतीक बिकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बस चालक झापाको झापा गाउँपालिका–६ घर भई हाल मोरङ उर्लाबारी बस्ने ४१ वर्षीय गंगाराम पौडेल र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्