राजधानी सरेसंगै बसाइँ सर्नेको लर्को, सुनसान बन्दै गाउँ



विमल विष्ट, डोटी ।
कुनै समय सुदूरपश्चिमका नौ वटा जिल्लाको प्रशासनिक केन्द्र रहेको र निकै चहल पहल हुने डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी मुलुक संघीयतामा गएपछि भने सुनसान जस्तै भएको छ ।

अधिकार कटौतीसँगै सुदूरपश्चिम प्रदेशको राजधानी समेत कैलालीको धनगढीमा सरेपछि यहाँको दिपायल सिलगढी सुनसान जस्तै बन्दै गएको हो । प्रशासनिक अड्डा सार भएसंगै यहाँबाट बसाइँ सर्ने क्रम पनि अहिले एका एक बढीरहेको छ ।

एक वर्षको अभिलेखलाई हेर्ने हो भने प्रदेशकै पुरानो मध्य एक मात्र दिपायल सिलगढी नगरपालीकाबाट बसाइँ सारेर अन्यत्र जानेको संख्या २२० भन्दा बढी रहेको छ । अन्यत्र क्षेत्रबाट यस नगरपालिकामा बसाइँ सारेर आउनेको संख्या ३ जना मात्रै रहेको दिपायल सिलगढी नगरपालीकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदरमुकाममै घर भएका व्यक्तिहरुको यहाँ बस्ने मनस्थीति नै रहेन जस्ले गर्दा बसाइँ सराइँको दर बढेको छ ।’

स्थानीयतहको गातीविधी गाउँतिर बढेपछि सदरमुकामको चहलपहल पनि निकै घटेको होटल व्यवसायि संघ डोटीका अध्यक्ष राजेन्द्रबिक्रम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमा गतिबिधी बढेपछि स्थानीय आउने छोडे, सदरमुकाममा भएकाहरु बसाइँ सरेर अनेत्र जादैछन् व्यापार व्यवसाय मन्द हुन थालेको छ ।’

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएपछि जिल्ला तथा पुरानो क्षेत्रीय सदरमुकामका ठूला व्यापारी पनि अहिले क्रमिक रुपमा तराईतिर झर्न थालेको उहाँले बताउनुभयो । जिल्ला सदरमुकाममा पुरै नेवारी बस्ती, काठमाण्डौंसँग मेल खाने हावापानी भएकाले सिलगढीलाई कान्छी नेपालपनि भनिने गरिएको स्थानीय शरिफ श्रेष्ठले बताउनुभयो । नेवार समूदायका अधिकांस व्यक्ति पनि बसाइँ सरेर जान थालेपछि बजारकै घरहरु पनि बाँझा रहेका छन् । यहाँको प्रमुख व्यापारी केन्द्र राजपुर, दिपायल र पिपल्ला क्षेत्रका ठूला व्यापारी पनि सम्भावना भएका ठाउँहरु खोजेर हिड्न थालेका छन् ।

पहिलेको समयमा बाईसे चौबिसे राज्य हुँदा डोटी एउटा प्रदेश थियो । त्यसताका डडेल्धुराको अजयमेरुकोटमा राजधानी थियो भने सितकालिन दरवार दिपायलको गानरगौडामा थियो । राणा कालामा उपत्याका बाहिरका ४ वटा गौडा मध्य डोटी कर्णाली वारीको एउटा मात्रै गौडा राज्य थियो । पञ्चायत कालमा दिपायल पाँचौ विकास क्षेत्रको सदरमुकामको रुपमा स्थापना भयो । दिपायल सिलगढी नगरपालीकाका पूर्व नगर प्रमुख घनस्याम पाठकले अनुसार दिपायल सिलगढी सबै व्यवस्थाले प्राथमिकतामा राखेको भएपनि संघीयताले अन्यायमा पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिपायलाइ सबै व्यवस्थाले राम्रै गरेको थियो तर संघीयताले अन्याय गर्यो, यहाँका नागरिकको भवना कसैले बुझेन ।’ सबै प्रशासनिक केन्द्र हुदा समेत दिपायल सिलगढीको विकास हुन नसकेको आरोप समेत लाग्ने गरेको छ । पछिल्लो समय जिल्लाको पूँजी अन्यत्र पलायन हुँदा यहाँको विकास हुन नसकेको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलको गुनासो रहेको छ ।

दिपायल सिलगढी नगरपालिका भएर सेवा सुविधाको दष्टिकोणले गाउँपालीका भन्दा पछाडी रहेकाले बसाई सर्ने क्रम बढेको कतियए स्थानीयको आरोप छ । सुदूरपश्चिा प्रदेशका अन्य क्षेत्रका नगरहरुमा जनसंख्याको चाप बढी रहेका बेला दिपायल सिलगढी नगरपालिकामा भने अन्यत्र बसाइँ सरी जाने क्रम बढ्दा बस्ती वर्षेनी खाली हँुदै जान थालेका छन् ।

जिल्ला सदरमुकाम सिलगढी बजारबाट पनि वर्षेनी बसाई सार्नेहरुको संख्या घेरै रहेको पाइएको छ । नगरपालिको पागरी, रातुली र सिरखोलीसैनमा बस्ती पातलिएका छन् । सिलगढी खलंङ्गामा अधिकांश घर खाली छन् । दिपायल सिलगढी नगरपालीका बिसं २०३९ सालमा स्थापना भएको नगरपालीका हो ।

नगरपालिका सहित समग्र जिल्लाको वसाइँ सराइँ दरलाई घटाउनका लागि नगर तथा गाउँको विकास हुनुपर्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बसाइँ सराइँ दर रोक्न जिल्लामा बिभिन्न किसिमका कलकारखाना तथा उद्योग भन्दाहरु खोल्नु जरुरीछ चाहे त्यो नगरपालिकाको लगानीमा होस या सरकारी अनुदानमा होस ।’

दिपायल सिलगढी नगरपालिका भएर पनि यहाँका सबै वडामा अहिले सम्म बिजुली, खानेपानी, सडक, स्वास्थ्य सेवा पुग्न सकेको छैन । नगरपालिकाकै एक ठाउँबाट अर्को ठाउँमा जान सेती नदीमाथिको फेरि तथा डुङ्गा तरेर जानुपर्ने बाध्यता अझै कायमै रहेको स्थानीयबासीहरु बताउँछन् । नगरपालिका क्षेत्रमा पुरानो डोटी क्याम्पस बाहेक अन्य क्याम्पस पनि छैनन् ।

दिपायलमा स्नातकोत्तर सम्मको पढाई हुने क्याम्पस पनि छैन् । यहाँ दुइ वटा माध्यमिक विद्यालय मात्रै छन् । निर्माण गर्ने भनिएको क्षेत्रीय अस्पताल २६ वर्षदेखि बनेको छ्रैन् । क्षेत्रीय अस्पताल निर्माण गर्नकालागि बागठाँटामा जग्गा खरिद गरिएपनि अहिले सम्म अस्पताल बन्ने सुरसार नभएको स्थानीयबासी दीपकबहादुर भण्डारीले जानकारी दिनुभयो । दिपायल सिलगढी नगरपालिकामा कुल ३२ हजार जनसंख्या रहेको छ । जनसंख्या दर पनि ओरालो लागेको नगरपालिकाको तत्थ्यांकङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्