सडक बत्ती बढाइयोस् !



काठमाडौं उपत्यकाभित्र सडक बत्ती नहुँदा अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापन सीमित स्थानमा मात्र भए पनि सहज बनेको छ । बढ्दो सवारी साधनको चापका कारण उपत्यकाबासी छोटो दूरीमा पनि घन्टौं जाममा बस्न बाँध्य हुँदै आएको अवस्थामा सम्बन्धित निकायको पछिल्लो प्रयास स्वागतयोग्य छ । प्रविधि र जनशक्तिको प्रयोग गर्न सकेको अवस्थामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न सकिने उदाहरण उपत्यकाभित्र देखिएको छ ।
तर, यस प्रकारको सुविधा नभएका स्थानकै बाहुल्य रहेकाले यसको सुखद परिणाम भने उपत्यकाबासीले अनुभूत गर्न अझै पाएका छैनन् ।विश्वमा ट्राफिक लाइटको इतिहास सन् १९१२ मा अमेरिकाको उटाह, साल्ट लेक सिटीबाट शुरू भएको हो ।

त्यहाँका प्रहरी लेस्टर वायरले शुरू गरेको यो पद्धतिलाई १९१४ को अगस्टमा आएर अमेरिकन ट्राफिक सिग्नल कम्पनीले व्यावसायिकरूपमा लियो र प्रहरीसँग मिलेर सडकमा जडान गर्न थाल्यो ।

पछि विस्तारै यसले विश्वव्यापी स्वरूप हासिल गर्यो । सवारी प्रहरीको श्रम बचाउने र लगानीका दृष्टिले पनि सस्तो पर्ने भएकाले सवारी व्यवस्थापनका लागि यो विधि संसारभर लोकप्रिय बन्यो । स्थानीय सरकार र नागरिकको सभ्यताको सूचक मानिएको सडक व्यवस्थापनमा सडक बत्ती अंग बन्नपुग्यो र यससँग सम्बन्धित आचारसंहितासमेत नगरपालिकाहरूले बनाउन थाले ।

सूर्यबाट ताप प्राप्त गरेर बल्ने बत्तीको व्यवस्थापनका कारण ठूलो लगानी पनि नलाग्ने र सवारी आवागमन व्यवस्थित गर्न सहज पनि हुने भएका कारण नेपालले पनि यसको अनुसरण नगर्ने कुरै भएन । पछिल्लो समयमा काठमाडौंका मुख्य–मुख्य चोकहरूमा ट्राफिक प्रहरीको उपस्थिति कम देखिन्छ । मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइटले नै सवारी साधनको व्यवस्थापन गर्दै आएको छ ।
विगतमा पनि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएका थिए । तर त्यसले निरन्तरता पाउन सकेन । वर्षौंपछि अहिले ट्राफिक प्रहरी महाशाखाले पुराना ठाउँमा जडान भएका बत्तीका स्थानमा नयाँ ट्राफिक लाइट जडान गरेको छ भने नयाँ स्थानमा पनि ट्राफिक लाइट थप्ने काम गरेको छ । ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बन्न नसक्दा उपत्यकाबासीको जनजीवन नै प्रभावित बन्ने गरेको छ ।
कार्यालय समयमा त घन्टौं जाम हुनु सामान्य नै छ । खास गरी काठमाडौं भित्रिने कोटेश्वर नाकामा भने ट्राफिक जाम व्यवस्थित हुन नसक्दा यात्रुहरूले सास्ती झेल्दै आएका छन् ।सडकको अवस्था राम्रो बनाउनेतर्फ सरकारले पछिल्लो समय गरेको काम राम्रो छ ।
ट्राफिक लाइट थप्नका लागि सरकारले विशेष प्राथमिकताको साथ कार्यक्रम अघि बढाउनुपर्छ । ट्राफिक लाइट जडानसँग सडकमा हुने ट्राफिक जामसमेत घट्दै गएको छ । थोरै लगानीमा पनि व्यवस्थापन गर्न सकिने काममा सरकारको ध्यान पुग्नुपर्छ ।राजधानीका विभिन्न ठाउँमा अझै पनि जडान भएर सञ्चालन हुन नसकेका ट्राफिक लाइट छन् । ती ट्राफिक लाइटलाई यथाशीघ्र सञ्चालनमा ल्याउन ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागको ध्यान जान जरुरी छ ।

सामान्य कामबाट सुधार गर्दा पनि सकारात्मक सन्देश दिन सकिन्छ भन्ने पाठ सिक्दै ट्राफिक प्रहरीले घटांै सडकमा बसेर पनि गर्न नसकेको काम प्रविधिको प्रयोगमार्फत सहजै सम्पन्न गराउन पछिपर्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस्