स्वरोजगार बन्दै झापाका महिला



उत्तम नेपाल, भद्रपुर।

सीप र रकम अभावका कारण बेरोजगार भइरहेका झापा मेचीनगर नगरपालिकाका महिलाहरू पछिल्लो समय उत्साहित देखिएका छन्।इच्छाशक्ति भए पनि रकम नभएर परिवार चलाउन धौ–धौ भएका महिलालाई गरिबसँग विश्वेश्वर कार्यक्रमले टेवा पुर्याएको छ। मेचीनगर १३ की गोमा अधिकारी अब यो सीपलाई दीर्घकालीन बनाउने सोच बनाएको बताउनुहुन्छ।

हाल घरमा नै झोला बनाउँदै आएकोमा अब सामूहिक व्यवसाय गर्ने सोचमा रहेको बताउनुहुन्छ।मेचीनगर १४ की सम्भा राजवंशीका पनि आर्थिक अवस्था न्यून भएका कारण तनावमा थिइन् तर, यस कार्यक्रमले गाउँका कुना कन्दरामा रहेका महिलाहरूलाइ तालिम दिएर दक्ष बनाउने प्रयास गरेकोमा हर्षित देखिएको बताउनुहुन्छ। गरिबसँग विश्वेश्वर कार्यक्रममले महिलालाई स्वरोजगार बनाउन प्रयास गरेको उहाँको भनाइ छ।

घरमा यतिकै बसिरहेको अवस्थामा यस कार्यक्रमले तालिम दिएपछि हाल मासिक २० हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएको दीपा लिम्बूले बताउनुभयो।
गरिसँग विश्वेश्वर कार्यक्रम मेचीनगरका ४ वटा वडामा सञ्चालन हँुदै आएको कार्यक्रम परिचालिका इन्दिरादेवी पौडेलले बताउनुभयो। चालु आर्थिक वर्षमा विश्वेश्वरबाट आएको अढाई लाख र मेचीनगर नगरपालिकाबाट २ लाखको बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ।

केही दिन यताबाट १५ दिने झोला बनाउने डिप्लोमा र आउँदो ७७ जेठ १ गतेसम्म आधारभत तालिममा गरी ३७ जनाले सीप सिक्न सुरु गरेको उहाँले जानकारी दिनुभयो।झापामा रहेका १५ स्थानीय तहमध्ये मेचीनगर, शिवसताक्षी, बिर्तामोड र गौरादह नगरपालिका र कचनकवल, बुद्धशान्ति हल्दीबारी र बाह्रदर्शी गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको गरिवसँग विश्वेश्वर कार्यक्रमकी झापा समन्वयकर्ता सम्झना लोहनीले बताउनुभयो।

चालु आर्थिक वर्षमा अढाई लाख रुपियाँका दरले बजेट आएको उहाँले बताउनुभयो। कार्यक्रम सञ्चालन भइरहेका ८ वटा पालिकामा ११ जना परिचालिकामार्फत गरिब तथा विपन्न समुदायमा समूह बनाएर महिला स्वरोजगार बनाउने यसको मुख्य लक्ष रहेको उहाँको भनाइ छ।
महिला खोजी गरेर उनीहरूले इच्छाएको काम गर्न सीप दिलाएर रोजगारीमा प्रोत्साहन गर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्