बेलायतको डबल डेकर बसमा गुर्खा वारियर



ब्रिटिस गोर्खा सैनिकको अदम्य साहसिक कार्यलाई अब फिल्ममार्फत् विश्वसामु पुर्याइने भएको छ। विश्वभर ख्याति कमाएको ब्रिटिस गोर्खा सैनिकको साहसिक कार्यलाई निर्माता निर्देशक मिलन चाम्सले फिल्ममार्फत् संसारभर पुर्याउन लागेका हुन्।

भारतमा नेपाली गोर्खाली सैनिकको भिन्दै पल्टन गोर्खा राइफल्स नै छ। बेलायत, भारत, सिंगापुर, ब्रुनाईलगायत थुप्रै देशमा समेत वीर गोर्खालीका रूपमा साहसिक कार्यबाट ख्याति कमाएर सेवारत गोर्खा सैनिकको साहसिक कार्य विश्वका धेरै देशमा प्रख्यात छ।

सन् २०२१ मा विश्वव्यापी रिलिज गर्ने लक्ष्यसहित निर्देशक चाम्सले आफ्नो ड्रिम प्रोजेक्टस्वरूप गुर्खा वारियर निर्माण र निर्देशन गर्न लागेका हुन्। यो फिल्मबाट रितेस चाम्सले नायकका रूपमा डेब्यु गर्दै छन् भने दयाहाङ राई, वर्षा सिवाकोटी, इन्डियन आइडल प्रसान्त तामाङ, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रूपा पुन, कविता आलेलगायतलाई मिलनले यो फिल्मको प्रमुख कलाकारका रूपमा चयन गरेका छन्।

फिल्मको निर्माण शुरू गर्नुअघि नै बेलायतमा यसको पृथक् शैलीबाट प्रचार शुरू गरिएको छ। बेलायतका डबल डेकर बसहरूमा गोर्खा वारियरको पोस्टरसहित प्रचार शुरू गरिएको हो।

लन्डनमा विश्व प्रिमियर गर्ने क्रममा १० हजार दर्शक भेला पार्ने उद्देश्यले अहिलेदेखि त्यहाँको डबल डेकर बसमार्फत शुक्रबारबाट प्रचार शुरू गरिएको निर्देशक चाम्सले जानकारी गराए। फिल्म लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्नेछ।

विश्वका चर्चित युद्धमा संसार हल्लाउने वीर गोर्खाली नेपालीको साहसिक कार्यसँगै युद्धमा उनीहरूको साहसिक सफलताका कथामा फिल्म निर्माण हुने निर्देशक मिलन चाम्सले जानकारी गराए। फिल्मको आलेख प्रदीप भारद्वाजले तयार पारेका छन् भने कलाकारसँगै प्राविधिकहरू चयन भइरहेको जानकारी पनि उनले गराएका छन्।

प्रतिक्रिया दिनुहोस्